scheduleआइतवार आश्विन ११ गते, २०७७

बर्मनको अगाडि कमरेडको त्यो हुलिया !

रुद्रप्रसाद भट्ट

२०६३ सालमा खैरो सर्ट र उस्तै पाईन्टमा सार्वजनिक हुँदा कमरेड प्रचण्डको शान, मान घमाशान थियो । १० बर्षको भूमिगत जीवनपछि २ असार २०६३ मा कास्कीको पर्यटकीय क्षेत्र सिक्लेसमा सार्वजनिक भएका कमरेड प्रचण्डलाई लिन तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला हेलिकोप्टर लिएर सिक्लेस पुगेका थिए ।

जनयुद्धको सर्वोच्च कमाण्डर सार्वजनिक भएकै बखत लगाउने ड्रेसबाट नै आफु अरुभन्दा फरक देखिन खोजेकै हुन् कमरेड प्रचण्ड । त्यो समयमा उनकै चाहनामा खैरो रंगको सर्ट–पाईन्ट पोखराका शम्भु खाती परियारलाई तयार गर्न लगाईएको थियो । त्यतिबेलै उनी आफुलाई अरुभन्दा अब्बल, गन्यमान्य, सर्वोच्च, खाईलाग्दो र ठ्याक्कै सामन्त जस्तो ठान्थे । त्यतिबेला पार्टी क्रान्तिकारी लाईनमै भएकोले सिद्धान्तमा त्यस्तो देखिन नखोजेपनि कमरेडको व्यवहारमा चाहिँ त्यै झल्किरहन्थ्यो ।

जनता, कार्यकर्ता, जनमिलिसिया, वाईसिएल, अनुसन्धान, जनपद र सशस्त्र प्रहरी समेत ७ तहको सुरक्षा घेराभित्र रहन रुचाउने कमरेडले त्यसपछि कुनै कार्यकर्ता, जनयुद्धका घाईते, अपाङ्ग, शहीद परिवार, बेपत्ता परिवारसँग सिधै भेट गरेनन् । आजसम्म पनि युद्धमा एकै लाईनमा उभिएर खाना खाने, एउटै घरमा सुत्ने कमरेडसँग उनी सिधा भेट गर्दैनन् ।

खैरो सर्ट–पाईन्टपछि उनि घान्द्रुकमा गुरुङ जातिको पहिरनमा श्रीमती सीता दाहालसँग देखिए । त्यसपछि उनको कपडाको रंगसँगै राजनीतिक रंग, बोली र व्यवहार फेरिँदै गयो । आज विवादित ठेकेदारको भव्य महल भाडामा लिएर बसेका प्रचण्डको एउटा सांसदको तलब बाहेक आम्दानीको स्रोत केहि देखिँदैन । उनैले पहिलो पटक प्रधानमन्त्री हुँदा सार्वजनिक गरेको सम्पति विवरणमा पनि उनको चितवनमा २ कठ्ठा जग्गा मात्रै भएको उल्लेख छ । चितवनमा दुई कठ्ठा जग्गाको मालिक काठमाडौंमा सामन्तशैलीमा बस्न सक्छ जस्तो लाग्दैन ।

उनै प्रचण्ड पछिल्लो पटक पूर्व सांसद बर्मन बुढालाई श्रद्धाञ्जली दिन जाँदा कोटपाईन्टमा देखिए । सबाल उनको कोटपाईन्टको वा उनको पहिरनको होईन । प्रधानमन्त्री भैसकेका र बहालवाला सांसदले कोट लगाउनु आलोचनायोग्य कुरा होईन । सबाल यो हो की जसको पार्थिव शरीर अगाडी उनी उभिए उनको जीवनशैली र प्रचण्डको जीवनशैली बीचको हो ।

९० वर्षसम्म एउटै खाले सादा जीवन जीउन सक्ने बर्मन बुढाको पार्थिव शरीर अगाडी उभिएर हरेक ९० मिनेटमै आफुले भनेजस्तो नभए तरंगित भैहाल्ने प्रचण्डले सादा जीवनको कुरा गर्नु वा आफु बर्मन बुढाको सादा जीवनबाट प्रभावित छु भन्नु कतिसम्म झुठ र कति बेईमानी हो ?

जीवनभर जनताको लागि मात्रै लाग्ने बर्मन बुढा र आफ्नो लागि मात्रै माग्ने अनि पद, पैसा र पावरको खेलमा जहिले विवादमा आईरहने कमरेड प्रचण्डबीच समानता कसरी हुन्छ ?

बर्मनले जनताको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, बाटो र रोजगारी मात्रै मागे । उनी कहिल्यै यी आधारभूत कुरा पुरा गराउने नीति निर्माणको तहमा पुगेनन् । तर, प्रचण्डले प्रधानमन्त्री भएर यी सबैकुरा पुरा गराउन सक्ने ठाउँ सिंहदरबारमा पुगेर पनि कहिल्यै सोचेनन् । भनेजस्तो पद पाईन भनेर रोइलो मात्रै गरिरहे । आज पनि नेकपा भित्र विवाद गरेर पद लिन उनी हरेक दिन नयाँ नयाँ फण्डा झिकिरहेका छन् ।

अर्को कुरा बर्मनले प्रधानपञ्च हुँदा होस् वा सांसद हुँदा कुनै पनि निर्णयमा जनता नै निर्णायक हुन्छन् म होईन भनेर हिँडे । तर, कमरेड प्रचण्डले आफु समानका नेता, कार्यकर्ताको समेत ठेक्का आफैंले लिएर हिँडे । कुनै छलफल वा निर्णय प्रक्रियामा अरुलाई सोध्नेसम्म गरेनन् सिधै ‘जंगेले बोलेपछि बोल्यो’ भन्दै हिँडे ।

बर्मनले राजा, पञ्चायत र बहुदलवादीसँग घुँडा टेकेनन्, आफ्नो गाउँ र ठाउँलाई एक ढिक्का राखे । तर प्रचण्डले गाउँ, ठाउँ मात्रै होईन आफ्नो फाईदाको लागि पार्टी नै छिन्नभिन्न बनाएर हिँडे । राजासँग मिल्न बर्मनकै ज्वाईंलाई प्रयोग गरे, काँग्रेससँग मिलेर छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयर बनाए । एमालेसँग मिलेर आफैं सांसद बने । अहिले आफू अध्यक्ष वा प्रधानमन्त्री हुने एकल फाईदाको लागि पार्टी नै एमालेमा बुझाए ।

जीवनभर ईमान्दार कम्युनिष्ट बनेका बर्मनलाई मरेपछि कम्युनिष्ट चरित्र नै नभएको एमालेको बहुदलीय जनवादको झण्डा ओढाउन कमरेड प्रचण्ड नै पुगे । रुपमा कम्युनिष्टको झण्डा भनिएपनि सारमा त्यो गैरकम्युनिष्ट चरित्रको व्यवहार हो । बर्मन बुढाले जीवनभर जे बोले त्यो गरे, जे गरे त्यो मात्रै बोले तर प्रचण्डले कुनै बोलेको कुरा पुरा गरेनन् । प्रचण्ड जे बोल्छन् त्यसको उल्टो गर्छन् भन्ने कुरा उनी सार्वजनिक हुँदा बोलेको र अहिले गरेको व्यवहार हेर्‍यो भने स्पष्ट हुन्छ ।

विचार, सिद्धान्त र आदर्श मात्रै होईन बर्मनले आफ्नो पहिचान पनि कहिल्यै छाडेनन् । मगर समुदायको पहिचान कछाड र खुर्पेटो उनले रोल्पादेखि सांसद भवनसम्म कहिल्यै छोडेनन् । २०४८ सालमा रोल्पाबाट निर्वाचन जितेर संसद भवन आउँदा पनि उनि चप्पल र कछाडमै थिए र तर, आज उनीबाट आदर्श सिकेको छु भनेर पार्थीव शरीरमा भण्डा ओढाउने कमरेड प्रचण्डले कति विचार र आदर्श समाते कति छाडे ? उनले पहिचानको आन्दोलन कहाँ पुर्‍याए र प्रदेशको नाम राख्दा कति ठाउँमा कति बोली फेरे ?

आफ्नो सिद्धान्तबाट प्रचण्ड कति विचलित भए ? बर्मन कति अडिग रहे ? यो सबै कुराको जवाफ दिनसक्ने हिम्मत एमालेको बहुदलीय जनवादका नवउत्तराधिकारी कमरेड प्रचण्डमा छ की छैन ? १० वर्षको जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि पनि कमरेड प्रचण्डले कति पहिरन र कति बोली फेरे त्यो हजार जिब्रो भएको भनिएका शेषनागले पनि वर्णन गर्न सक्तैनन् ।

हिजो जातीय पहिचानसहितको राज्य संरचना हुन्छ भनेर कुम हल्लाई हल्लाई बर्मनकै लालकिल्ला रोल्पाको थवाङमा कुर्लने कमरेडलाई सायद बर्मनको पार्थिव शरीरमा झण्डा ओढाउँदै गर्दा बुढाको मृतआत्माले सोधे होलान् मगरको पहिचान हुनेगरी कुन प्रदेशको नाम राख्नुभयो कमरेड ? २०४८ मा पनि कृष्णबहादुर महरालाई जिताउने बर्मनलाई हराउने भनेरै बर्मनको निर्वाचन क्षेत्रमा महरालाई उम्मेद्वार बनाएका प्रचण्डले संविधानसभाको निर्वाचनमा आफैं बर्मनको क्षेत्र कब्जा गरेर मगराँत बनाउँछु भनेर चुनाव जिते । चुनाव जितेपछि एकपटक पनि निर्वाचन क्षेत्र नगएर छट्टु स्याल जसरी भागेका उनलाई दोस्रो पटक रोल्पा जान बन्द भएपछि मधेसी पहिचान कायम गर्छु, मधेस प्रदेश बनाउँछु भनेर सिराहा पुगेको याद होला ?

न मधेसीको पहिचान, न मगरको पहिचान, न तामाङको पहिचान, न गुरुङ, न राई लिम्बु कसैको पनि पहिचानको लागि प्रचण्डले कहिल्यै सोचेनन् । फाईदाका लागि आफ्नो पहिचान मात्रै होईन सहिद, बेपत्ता, घाईते र अपाङ्ग समेतको सपनालाई बहुदलीय जनवादमा मिसाईदिएका कमरेडलाई सोध्न मन छ की बरमनको अगाडी त्यो हुलियामा उभिन लाज लागेन कमरेड ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय