scheduleआइतवार आश्विन ११ गते, २०७७

नेपालमा मार्क्स र ‘कम्युनिष्ट’ ब्राण्डनाम

डा. बाबुराम भट्टराई

ऐतिहासिक रुपमा एउटा सुखद आश्चर्य मान्नुपर्दछ कि सन् १८५७ मा भारतमा भएको अङ्ग्रेजविरुद्धको विद्रोहलाई दमन गर्न जंगबहादुर राणाको नेतृत्वमा नेपाली फौज गएपछि त्यसबारे न्यूयोर्क डेली ट्रिव्युनमा लेख्दै मार्क्सले जंगबहादुरलाई ‘अङ्ग्रेजको कुकुर’ भनेका थिए । तर, मार्क्सका विचारको जनस्तरमा आधिकारिक प्रवेश र विस्तार १९४९ मा कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद र त्यही साल नेपाल कम्युनिस्ट पार्टीको विधिवत गठनपछि मात्रै भयो । त्यसयता विभिन्न आरोह अवरोह हुँदै अहिले ने.क.पा. नेतृत्वमा दुई-तिहाई बहुमतको निर्वाचित सरकार हुनु मार्क्स जीवितै रहेको भए सम्भवतः उनलाई पनि निकै रोमाञ्चक र आश्चर्यको विषय हुन सक्दथ्यो ।

वास्तवमा नेपालमा मार्क्सका विचार र पद्धतिको राम्ररी प्रवेश र विजारोपण भएकै छैन भन्दा हुन्छ । किनकि, जतिबेला दोस्रो विश्वयुद्धको लगत्तै पछि ने.क.पा. को गठन भयो त्यतिबेला कम्युनिस्ट दुनियाँमा स्टालिनको उचाइले आकाश छोएको बेला र माओको नेतृत्वमा चीनियाँ क्रान्ति सम्पन्न हुँदै गरेको समय थियो । त्यसैले भन्न सकिन्छ यहाँ मार्क्स सिधै प्रवेश नगरेर स्टालिन र माओको ढोकाबाट प्रवेश गरेका थिए ।

रुस र चीनका सत्ताधारी पार्टीहरूले छानेर वितरण गरेका मार्क्सका सरलीकृत रचनाहरू र स्टालिन र माओका सूत्रबद्ध लेखहरू पढेर नै नेपालमा धेरैजसो ‘कम्युनिस्ट’ भएका थिए । हालै मात्र मार्क्सको पुँजी नेपाली भाषामा अनुवाद भएबाट मार्क्सका कति लेखरचनाहरू पार्टी कार्यकर्ता र जनस्तरमा पुगे होलान् र मार्क्सीय विचार तथा पद्धति यहाँको माटोमा कति गहिराइसम्म भिजे होलान् सहजै अनुमान गर्न सकिन्छ ।

मार्क्सीय विचार र पद्धतिको सारतत्व भनेको विद्यमान सामाजिक सम्बन्धका गतिका नियम र अन्तरविरोधलाई भौतिकवादी द्वन्द्ववादी तरिकाले केलाएर त्यसैको गर्भबाट नयाँ प्रगतिशील सामाजिक सम्बन्धको उत्खनन् र प्रवर्द्धन गर्नु हो । यही विधिअन्तर्गत मार्क्सले आफ्नो जीवनको मुख्य समय पुँजीवादको उत्खनन् र त्यहाँ भित्रबाट उत्तर-पुँजीवादी (पोष्ट क्यापिटलिस्ट) सामाजिक सम्बन्धको खोजीमा लगाए ।

परन्तु प्राक-पुँजीवादी (प्रि-क्यापिटलिस्ट) चरणमा रहेका नेपाललगायत तेस्रो विश्वका प्रायः सबै देशमा चाहिँ त्यहाँ तत्काल आन्तरिक रूपमा निरङ्कुशता र अल्पविकास र बाह्य रूपमा उपनिवेशवादी/साम्राज्यवादी उत्पीडन र हस्तक्षेपका विरुद्ध सङ्घर्ष गर्नुपर्ने भएकोले त्यहाँका क्रान्तिकारी चिन्तक र राजनीतिकर्मीहरूले प्राक्-पुँजीवादवाट पुँजीवादमा सङ्क्रमणको मुद्दामा नै आफूलाई बढी केन्द्रित गर्नुपर्‍यो ।

त्यसैले उनीहरूले मार्क्सीय विचार र पद्धतिलाई त्यही गहिराइबाट आत्मसात र प्रयोग गर्न नसक्नु वा नपाउनु स्वभाविक हुन्थ्यो । नेपालको सन्दर्भमा पनि थोरैले मात्र मार्क्सीय विचार र पद्धतिको अबलम्वन र प्रयोग गरे । सर्वप्रथम, पृष्पलालले त्यतिबेलाको परिवेशमा उपलब्ध तथ्यहरूको परिधिभित्र रहेर नेपाली समाजको विश्लेषण गर्ने प्रयत्न गरे । त्यसले नेपाली समाज रूपान्तरणको आन्दोलनलाई सन १९९० को आंशिक संसदीय पूँजीवादी रूपान्तरणसम्म पुर्‍याउने वैचारिक राजनीतिक आधार तयार गयो ।

अर्को, यो लेखकको १९८६ को विद्यावारिधी शोधग्रन्थ र त्यसका आधारमा गरिएका नेपाली समाजमा अर्थ-राजनीतिक विश्लेषणले दश वर्षे जनयुद्ध (१९९६-२००६) को आधार निर्माण र त्यसको दिशाबोध गर्‍यो; जुन जनयुद्धकै जगमा नेपाली समाज अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र र किनारा पुँजीवादको संस्थागत रूपान्तरणसम्म आइपुग्यो । अरूहरूले पनि विभिन्न ढङ्गले योगदान गरे तर ती मूलतः उपरी संरचनाका अङ्गहरूमा नै केन्द्रित रहे ।

तैपनि नेपालमा ‘कम्युनिस्ट’ ब्राण्डनाम कसरी यति धेरै लोकप्रिय बन्यो र त्यसैका नाउँमा अहिले सत्ताधारी पार्टीले शासन चलाइरहेछ भन्ने प्रश्नचाहिँ निकै रोचक र केही हदसम्म बिडम्वनापूर्ण छ । शायद यहाँ मार्क्सले बारम्बार उल्लेख गर्ने गरेको आवश्यकता र आकस्मिकतासम्बन्धी हेगेलियन द्वन्द्ववादको नियमले काम गरेको छ । नेपालको अति विच्छृंखलित भौगोलिक र सामाजिक संरचना, ऐतिहासिक रूपले कठ्यांग्रिएको र अति अल्पविकसित आर्थिक संरचना, निकै जटील भू-राजनीति आदि कारणले नेपालमा औद्योगिक पुँजीवादको जगमा उभिएको प्रगतिशील पुँजीवादी लोकतान्त्रिक शक्तिको विकास नहुनु (नेपाली कांग्रेस विभिन्न विचार र प्रवृत्तिको सारसङ्ग्रहवादी झुण्ड मात्र रहनु !) – ले त्यसको ऐतिहासिक अपुताली ‘कम्युनिस्ट’ ब्राण्डनामको पार्टीलाई पर्न गएको सहज अनुमान गर्न सकिन्छ ।

शुरूको ‘कम्युनिस्ट’, बीचको ‘माले एमाले’ र पछिल्लो ‘माओवादी’ अवतारमा यो आन्दोलनले प्रचारात्मक रूपमा ‘समाजवाद साम्यवाद’को कुरा गरे पनि त्यसको नीतिकार्यक्रमको मूलचुरो पुँजीवादी लोकतान्त्रिक नै रहेको कुरा सबभन्दा ‘उग्र’ ठानिएको माओवादी जनयुद्धको औपचारिक घोषणापत्र भन्न सकिने चर्चित ४० सुत्रीय मागबाट प्रस्ट हुन्छ । अर्थात् राष्ट्रियता, जनतन्त्र (वा लोकतन्त्र) र जनजीविकाका मुद्दा, जुन ऐतिहासिक रूपमा पुँजीवादी क्रान्तिका मुद्दा हुन्, तिनलाई पूँजीपतिवर्गको भनिने नेपाली कांग्रेसले भन्दा, सर्वहारावर्गको भनिने कम्युनिस्ट पार्टीले बढी संगति र दृढताका साथ उठाएकाले यो ऐतिहासिक चरणमा कम्युनिस्ट ब्राण्डनाम बढी लोकप्रिय भएको सहजै बुझ्न सकिन्छ ।

माओवादी जनयुद्धकालमा यो लेखकले शुरूमा ‘लोकतान्त्रिक गणतन्त्र’को नारा उठाउँदा खानुपरेको हण्डर र अन्ततः विभिन्न घुम्तीहरू पार गर्दै त्यो देशको राष्ट्रिय एजेण्डा बनेको र अन्ततः निर्वाचित संविधानसभाबाट संस्थागत भएको प्रसङ्ग यहाँ स्मरणीय हुनसक्छ ।

यो निश्चय नै रोचक विषय हो कि उत्तर-पुँजीवादको मुद्दामा केन्द्रित मार्क्सको विचार र पद्धति नेपालमा प्राक्-पुँजीवादी चरणमा नै प्रवेश गरेर औपचारिक रूपले सत्ताको कुर्सीमा बस्न पुगेको छ । परन्तु यो आगामी दिनमा कसरी अगाडि बढ्ला र के कस्ता चुनौती सामना गर्नुपर्ला पर्खेर हेर्नुपर्ने विषय छ । के साँच्चै प्राक्-पुँजीवादी चरणमा पुँजीवादी राजनीतिक क्रान्ति गर्न धेरै हदसम्म सफल मार्क्सको विचार र पद्धति आगामी दिनमा नेपालमा पुँजीवादी उत्पादक शक्तिको विकास गर्न र त्यसलाई उत्तर-पुंजीवादी रूपान्तरण गर्दै पूर्ण मानव’ सहितको नयाँ मानव सभ्यता निर्माण गर्न सफल होला ? बीसौं शताब्दीमा मार्क्सका अनुयायी दाबी गर्नेहरूले रुस, पूर्वी युरोपलगायतका देशमा भोग्नुपरेको दुःखद नियतिबाट नेपालका समकक्षीहरू बच्न सफल होलान् ? खाशगरी एक्काइसौं शताब्दीमा विश्व र नेपालको भू-राजनीतिक प्रक्रियामा निकै उथलपुथल आउन सक्ने र विश्व पुँजीवादको विकासको गति पूर्वानुमान गर्ने नसकिने प्रकारले उतार-चढावको ढङ्गले अघि बढ्न सक्ने स्थितिमा मार्क्सका समेत कतिपय पुराना भइसकेका विचार र मुख्यतः उनका अनुयायीहरूले अघि सारेका र अनुपयुक्त सावित भइसकेका विचार, पद्धति, प्रणाली बोकेर नेपालमा कम्युनिस्ट’ ब्राण्डनाम कतिबेर टिक्न सक्ला ?

अग्रदस्ता र जनवादी केन्द्रीयताको ढाँचामा बनेको पार्टी सङ्गठनले अहिले विश्वमा विकसित हुँदै गइरहेको समावेशी र सहभागितामूलक लोकतन्त्रको आधारणालाई कसरी आत्मसात र कार्यान्वयन गर्ला ? सर्वहारा अधिनायकत्वको अवधारणाअन्तर्गत पार्टी र सत्तालाई एउटै ठान्ने संस्कार बोकेर पार्टी र सत्ताको माथिदेखि तलसम्म पलाउन सक्ने परजीवी आसेपासे पुँजीवाद, जुन अहिल्यै वनमारा झारझै झाँगिइसकेको छ, त्यसलाई कसरी रोक्न सकिएला ? ब्राण्डनाम ‘कम्युनिस्ट’ तर काम आसेपासे पुँजीवाद ! यही असमाधेय अन्तरविरोधको हल बेलैमा नखोजेमा नेपालमा मार्क्सको नाम बदनाम हुने र देश सङ्कटमा फस्ने गम्भीर खतरा रहनेछ ।

कार्ल मार्क्स समाज विज्ञानको क्षेत्रमा अहिलेसम्मकै सबभन्दा महान् चिन्तक हुन् । यसमा कसैले शङ्का र पूर्वाग्रह राख्नुपर्दैन । तर, मार्क्स ‘ईश्वर’ हैनन् र उनको विचार कुनै ‘धर्म’ होइन । चैतन्यवादी युगका चिन्तक बुद्ध, कन्फुसियस, क्राइस्ट, मोहम्मद, नानकलगायतलाई उनका अल्छी र असिर्जनशील चेलाहरूले ‘ईश्वर’ बनाइदिए र उनका तत्कालीन सन्दर्भ सापेक्ष विचारहरूलाई अपरिवर्तनीय ‘धर्म’ बनाइदिए । अहिलेको वैज्ञानिक युगका मानिसहरूले मार्क्सलाई अर्को ‘ईश्वर’ र उनको विचारलाई अपरिवर्तनीय ‘वाद’ बनाउनु हुँदैन । विज्ञान प्रयोग र क्रान्तिको क्रममा निरन्तर विकास हुँदै जाने भएकाले त्यसमा कुनै बन्द प्रणाली र ‘वाद’ हुँदैन । झन् समाजविज्ञान त मानिसको चेतनाले समेत प्रभाव पार्ने हुनाले त्यस्ता ‘वाद’ हुनै सक्दैनन् । त्यसैले निरन्तर गतिशील समाजलाई ‘बदल्ने’ दर्शन र विचार भएकाले मार्क्सका विचारलाई ‘मार्क्सवाद’को फलामे पिंजडामा कैद नगरी अहिलेको युगका अग्रगामी अभियन्ताहरूले ‘मार्क्सका विचार र पद्धतिको रूपमा ग्रहण गर्दै तिनलाई समाज बदल्ने क्रममा निरन्तर विकास र परिमार्जन गर्दै जानुपर्दछ ।

उन्नाइसौँ शताब्दीसम्मको ज्ञानविज्ञान, प्रविधि, समाज र राज्यव्यवस्था, अर्थतन्त्र, संस्कृतिमा आधारित रहेर मार्क्सले संश्लेषण गरेका दर्शन, राजनीतिक अर्थशास्त्र र राजनीति तथा समाजशास्त्रका नियम र विचारहरूलाई हामीले एक्काइसौं शताब्दीका पछिल्ला ज्ञानविज्ञान, अनुभव र परिवेशका आधारमा प्रयोग गर्ने र तिनमा आवश्यक नवीनीकरण, परिमार्जन र विकास गर्ने साहस गर्नैपर्छ । त्यो नै मार्क्सको चिन्तन पद्धति भौतिकवादी द्वन्द्ववादको सारतत्व हो; जसले कुनै पनि विचार र पद्धतिलाई समेत अन्तिम मान्दैन ।

हामीले निरन्तर गतिशील मानव समाजको उन्नयनको मूल दिशा तय गर्ने र वर्तमानलाई त्यो दिशामा बदल्ने कार्य गर्ने हो; मार्क्सले यहाँ भनेझै, ‘सधैंका निम्ति सबै समस्याको समाधान दिने’ ढोँग गर्ने हैन : ‘नयाँ अभियानको ठूलो महत्व यो हो कि हामीले जडसुत्रीय प्रकारले नयाँ विश्वको अपेक्षा गर्ने प्रयत्न गर्दैनौं, परन्तु त्यसलाई पुरानोको आलोचना भित्र खोज्दछौं । हाम्रो काम अग्रिम रुपमा भविष्यको निर्माण गर्ने र सधैंका निम्ति सबै समस्याको समाधान दिने हैन; हाम्रो काम अहिले अस्तित्वमा रहेको सबैको निर्मम आलोचना गर्ने हो, निर्मम यस अर्थमा कि त्यो आलोचना आफ्नै निष्कर्षबाट अथवा सत्ताधारीहरुसँगको सङ्घर्षबाट पछि हट्ने छैन ।’

(पुष्पलाल श्रेष्ठको स्मृति दिवसको उपलक्ष्यमा डा. भट्टराईद्वारा रातो झिल्कोमा वैशाख-असोज २०७६ मा प्रकाशित ‘एक्काईसौँ शताब्दीमा कार्ल मार्क्स’ शीर्षकको आलेखको अंश पुनर्प्रकाशन गरिएको हो- सं.)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय