scheduleबिहिवार आश्विन १५ गते, २०७७

सोफियाको ‘गीति विद्रोह’लाई बाबुराम, गगन र मिश्रको साथ

काठमाडौं, ९ साउन । यो साता गायिका सोफिया थापाको तीज गीत चर्चामा रह्यो । आइतबार सार्वजनिक भएको गायिका थापाको तीजमाथि लेखिएको गीत ‘अबको तीज नो व्रत प्लिज’ तीन दिनपछि अर्थात् बुधबार नै युट्युबबाट हटाइयो ।

गीतले सनातन हिन्दू धर्म परम्परामाथि र तीजको मौलिकतामाथि आक्रमण भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा विरोध गरे । विरोधको स्वर बढ्दै गएपछि हाइलाइट्स नेपालले युट्युबबाट उक्त गीत नै हटायो ।

हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले तीजको महत्वमाथि संकट आउने गीत संविधानको धर्मसम्बन्धि कसूर दफा १५६ र १५७ बमोजिम कानुन विरुद्ध भएको, धर्म, सँस्कृतिप्रति आँच पुर्‍याउने तथा सामाजिक सद्भाव बिगार्ने भएकोले सम्बन्धित च्यानललाई भिडियो हटाइदिन आग्रह सहितको पत्र पठायो । हाइलाइट्स नेपालले चौतर्फी दबाव सहन नसकेको बताउँदै गीत हटाएको हो ।

हाइलाइट्सले उनको गीत हटाउनुअघि सोफियालाई एकपटक सोध्न पनि आवश्यक ठानेन । सामाजिक सञ्जालमा यो गीत चर्चामा रहेको बेला चर्चित नेताहरुले पनि यसबारे मुख खोलेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विहीबार उक्त गीत सुन्न प्रोत्साहित गर्दै नयाँ युट्युब लिंक नै राखे । उनले भने, ‘सामाजिक चेतना जगाउने यो गीत कुनै धर्म/संस्कृति विरूद्ध छैन । सबैले सुनौं र सुनाऔं । विभिन्न भेषका अरिंगाल सेनाहरूको प्रतिवाद गरौं ।’

उनलाई सामाजिक सञ्जालमा गाली गर्नेदेखि समर्थन गर्नेसम्म देखिएका छन् ।

पूर्वमन्त्री तथा कांग्रेसका युवा नेता गगन थापाले सोफियाको गीतलाई आक्रमण गर्ने प्रवृत्तिलाई सामाजिक रोगको संज्ञा दिएका छन् । शुक्रबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महिलाको गीतबाट धर्म मासिने डर !‪ महिलाको पहिरनबाट सामाजिक मर्यादा भत्कने डर !‬ ‪महिलाले सिन्दूर पोते नलगाउँदा पुरुष झुक्किने डर !,’

उनले अगाडि लेखेका छन्, ‘‪यो ‘डर’ सामाजिक रोग हाे ।‬ ‪समस्या गीत वा पहिरनमा हैन, डराउनेमा छ त्यसैले उपचार पनि ‘डराउने’ हरूकै गर्नुपर्छ र यस्ता विभेदकारी मानक भत्काउनुपर्छ ।’

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले यसपटक ‘क्रान्तिकारी’ ढंगले प्रस्तुत भएका छन् । साझा पार्टीकै कतिपय नेताहरु गीतको विरुद्धमा उभिएको बेला मिश्रले सोफियाको गीतलाई ‘गिती विद्रोह’ भनेका छन् ।

‘महिलाले भद्र ‘गिती विद्रोह’ गर्दा संस्कारमा चोट पुग्ने ? ढाड देखिने लुगा लाउँदा अमर्यादित हुने ?,’ उनले प्रश्न गरेका छन्, ‘विवाहित भएको जनाउ दिन श्रृंगार गर्नुपर्ने ? यस्तो संकुचित मानसिकता नत्यागेसम्म न समाज समान, सहनशील र सुसंस्कृत बन्छ, न लोकतन्त्र फस्टाउँछ । नबिर्सिउँ, हाम्रा दिदीबहिनी, आमा सबै महिला हुन् ।’

मिश्रको स्टाटसमाथि उनका सम्वर्द्धनवादी दृष्टिकोण राख्ने समर्थकहरुले आलोचना गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय