scheduleआइतवार आश्विन ११ गते, २०७७

अगष्ट ५ मा राम मन्दिर शिलान्यास गर्दै मोदी, कहिले उत्खनन् होला ओलीको अयोध्यापुरी ?

काठमाडौं, ९ साउन । नेपालमा राम जन्मभूमि विवाद चर्चाको शिखरमा रहेकै बेला भारतको अयोध्यामा भने अगस्ट ५ मा राम मन्दिर शिलान्यास हुने भएको छ । राम जन्मभूमि ट्रष्टले शिलान्यास कार्यक्रमको प्रमुख अतिथी प्रधानमन्त्री नरेन्द्र मोदीलाई बनाउने निर्णय र निमन्त्रणा गरेको छ ।

अगष्ट ५ गते मोदी उत्तरप्रदेश फैजापुर जिल्लाको अयोध्यानगर जाने कार्यक्रम तय भएको छ । मोदी शिलान्यास कार्यक्रमको प्रमुख अतिथि आफैं हुन इच्छुक थिए । अयोध्या राम जन्मभूमि विवाद भाजपाको महत्वपूर्ण राजनीतिक मुद्दा रहँदै आएको थियो । भाजपाले बाबरी मस्जिद भएको स्थानलाई रामायणकालमा राम जन्मिएको राजा दशरथको दरबारको अंश भएको मान्दै आएको थियो ।

भारतीय राजनीतिमा भाजपाका मुख्य ४ हिन्दूवादी एजेण्डा थिए-
एक– कश्मिरलाई दिइएको विशेष स्वायत्तता प्रदेशको मान्यता खारेज गर्ने ।
दुई– समान नागरिकसंहिता लागू गर्ने ।
तीन– अयोध्या बाबरी मस्जिद भएको ठाउँमा राममन्दिर बनाउने ।
चार– भारतलाई हिन्दू राज्य बनाउने ।

अगष्ट ५ मा राममन्दिर शिलान्यास भएसँगै भाजपाका ४ मध्ये ३ एजेण्डा पूरा हुने छन् । कश्मिरलाई विशेष स्वायत्त प्रदेशको मान्यता दिने संविधानको धारा ३७० खारेज भइसकेको छ । लदाखलाई जम्मुकश्मिरबाट अलग गरी केन्द्र शासित प्रदेश बनाइएको छ ।

तीन तलाक खारेज गर्ने कानूनलागू भएसँगै मुस्लिम समुदायको प्रचलित सामुदायिक तथा धार्मिक कानून संकुचित हुन थालेको छ । यो मुद्दा अझ विस्तारित हुँदै जाने बताइन्छ । अगष्ट ५ मा अयोध्यामा राममन्दिर शिलान्यास भएसँगै तेस्रो मुद्दा पनि पुरा हुनेछ । मोदी सन् २०२४ को आमनिर्वाचन अगाडि नै राम मन्दिर बनिसकेको भन्ने चाहन्छन् ।


अब भाजपाको चौथो मुद्दा– हिन्दू राज्यको मुद्दा बाँकी रहनेछ । त्यसका लागि भाजपालाई दुईतिहाईको बहुमत चाहिने छ ।

राम जन्मभूमि, बाबरी मस्जिद तथा राममन्दिर विवाद पुरानो मुद्दा हो । हिन्दूविश्वास अनुसार बाबरका जर्नेल मिर बाँकीले सन् १५२८ मा अयोध्याको राममन्दिर भत्काउन लगाएर आफ्ना राजा बाबरको नाममा बाबरी मस्जिद बनाएका थिए, बाबरी मस्जिद भएको ठाउँ नै राम जन्मभूमि हो । त्यतखेरै स्थानीय हिन्दू समाजको एउटा सानो हिस्साले बाबरी मस्जिद भत्काएर राममन्दिर बनाउनुपर्ने माग गर्दै आएको थियो ।

सन् १९४९ देखि भाजपाको पूर्ववर्ती पार्टी भारतीय जनसंघले यो मुद्दा हरेक चुनावमा उठाउने गरेको थियो । सन् १९९० को लालकृष्ण अड्वानीको ‘अयोध्या रथ यात्रा’ अभियानपछि भने यो मुद्दा निक्कै चर्केको थियो ।

सन् २०१९ को नोबेम्बर ९ को सर्वोच्च अदालतका ५ न्यायधीशको संयुक्त इजलासको फैसलापछि यो मुद्दा किनारा लागेको हो । फैसलाले विवादित भूमिमा राममन्दिर बनाउनु पर्ने र बाबरी मस्जिद बनाउन भिन्नै ५ एकड जमिन राज्यले व्यवस्था गर्दिनुपर्ने उल्लेख छ । यही फैसला मुताबिक अगष्ट ५ मा त्यहाँ राम मन्दिरको शिलान्यास हुँदैछ ।

मोदीले फैजापुरको अयोध्यामा राम जन्मभूमि दाबी गर्दै राममन्दिर शिलान्यास गर्दै गर्दा नेपालका प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया देलान् वा नदेलान् ? धेरैले चासोपूर्वक पर्खिरहेका छन् । ओली फैजापुरको अयोध्यालाई नक्कली अयोध्या ठान्दछन् । उनको विचारमा वास्तविक प्राचीन अयोध्या नेपालको माडी क्षेत्रमा छ ।

अयोध्यामा राममन्दिर निर्माण सम्पन्न भएसँगै भारतमा राम जन्मभूमि विवादको शताब्दियौं लामो किचलो अन्त्य हुनेछ । तर, नेपालको अयोध्यापुरीको स्थिति भने के हुन्छ ? कसैले भन्न सकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय