scheduleआइतवार आश्विन ११ गते, २०७७

कृषिमा मौरीको महिमा

वेदप्रसाद खतिवडा र शोभा वस्ती

मौरी ठूलो महत्व भएको सानो कीरा हो । सरसर्ती हेर्दा मह उत्पादन गर्नुमा मौरीको महत्व देखिन्छ तर गहिरिएर हेर्दा यसले खेती गरिएका बालीनाली, वनजंगलका रुखबिरुवा, कृषि तथा गैरकृषि क्षेत्रका विभिन्न बोटविरुवाको बीउ उत्पादन, फल उत्पादन तथा वंशानुगत विविधिकरण आदिमा परागसेचनका माध्यमबाट महत्वपूर्ण काम गरिरहेको हुन्छ । परागसेचनको कामलाई माहुरीको मह उत्पादन गर्ने कामभन्दा १४३ गुणा बढी महत्वपूर्ण काम मानिन्छ ।

एक फूलको परागकण अर्को फूलमा पुर्‍याएर परागसेचनको प्रक्रिया पुरा हुन्छ । त्यसपछि शुरु हुने गर्भाधारणको प्रक्रिया पूरा भएपछि भने बीउ तथा फल उत्पादन हुन्छ । तर, परागसेचन नै परसेचित बालीनालीका लागि अत्यावश्यक प्रक्रिया हो । यसका अलावा पराग, प्रोप्रोलिस, रोयल जेली आदि उत्पादन पनि महको अपरम्पार महिमाको एक पक्ष हो ।

मौरी अति प्रभावकारी परागसेचक (परागसेचन गराउने कर्ता) कीरा हो जसको शरीरमा भएको ससाना रौंहरु परागकण टाँसिनका लागि अति उपयोगी हुन्छन् । पुष्परसको खोजीमा एक फूलबाट अर्को फूलमा विचरण गरिरहने मौरीहरुले सोही क्रममा एकबाट अर्को फूलमा परागकण ओसारपसार गर्दछन् । यहीक्रममा माहुरीले परागसेचन जस्तो महत्वपूर्ण काम गर्दछन् ।

अनुसन्धानको नतिजाअनुसार मानवजातिलाई चाहिने खाद्यपदार्थको एक तिहाई कीराहरुबाट परागसेचन हुने बालीनाली तथा बोटबिरुवाहरूबाट प्राप्त हुन्छ, जसमा ८०% परागसेचन मौरीबाट भएको हुन्छ ।

त्यस्तै अर्को अनुसन्धानका अनुसार राम्रोसँग परागसेचनको व्यवस्था गरिएमा बाली उत्पादन ३५ देखि ५० प्रतिशतसम्म वृद्धि हुन सक्छ । प्रभावकारी परागसेचनका कारणले बीउ तथा फलको दाना ठूलो हुनाको साथै पूर्ण आकारको पनि हुन्छ कारणले गर्दा बालीनालीको उत्पादकत्व पनि वृद्धि हुन्छ । प्रभावकारी परागसेचनबाट उत्पादित बालीनालीमा बीउको उम्रने क्षमता, अंकुरण दर एवं रोगकीरा सहन सक्ने क्षमता पनि बढी हुन्छ ।

मौरी किन प्रभावकारी परागसेचक ?
अनुसन्धानकर्ताहरुका अनुसार किराहरुमध्येमा मौरीहरूलाई सबैभन्दा प्रभावकारी र सक्षम परागसेचक मानिन्छ । मौरीको शरीरभरि रौंहरू हुनाले हरेक फूलको परागकणहरू धेरै संख्यामा शरीरमा टाँसिई अर्को फूलमा विचरण गर्ने क्रममा राम्रोसँग परागसेचन हुन्छ । पुष्परसको अलावा पराग र मौरीखोटो (प्रोपोलिस) संकलन गर्नका लागि कर्मी मौरीको शरीरका विभिन्न अङ्गको बनावट उपयुक्त प्रकारले परिवर्तन भएको हुन्छ ।

छरितो शरीरको वनावटका कारण छिटो गतिमा काम गरी थोरै समयमा धेरै फूलहरूमा पुग्नका लागि मौरी अग्रस्थानमा पर्ने गर्दछ । त्यस्तै बालीनालीमा फूल फुलेको समयमा मौरीले आफ्नो संख्या धेरै वृद्धि गरी धेरै फूलहरूमा विचरण गर्दछ । यसरी विचरण गरेको बालीको स्थान र अवस्थितिको सम्झना मौरीहरुलाई ४–५ दिनसम्म हुने भएकोले सोही बालीमा फूल फुलुञ्जेलसम्म मौरी चर्न गइरहन्छ । धेरै पछि-पछिसम्म फुल्ने फूलहरूमा यसका कारणले पूर्ण र प्रभावकारी परागसेचन हुन्छ ।

मौरीको एकापसको सञ्चार प्रणाली अद्भूत र अचम्मको हुन्छ । गोलाको सबै मौरीहरूबीच एकआपसमा फूलहरूको अवस्था, दुरी, दिशा, अवस्थिति आदिको प्रभावकारी जानकारी गर्ने हुँदा फूलहरूमा धेरै मौरीहरू ठीक समयमा विचरण गरी सही ढंगले परागसेचन गराउँछन् । यसका अलावा एक पटकको विचरण कार्यमा एकै जातिका बालीमा विचरण गरी परागसेचन गरी दिन्छन् ।

यस क्रममा एकै जातको फूलको परागकणहरु सोही जातको अन्य फूलहरूमा पुर्‍याउने गर्दछ । नयाँ युरोपियन जातको मौरीहरु घारमा राखी पाल्न सकिने हुँदा आवश्यकता अनुसार मौरीको गोला बढाएर आवश्यक स्थानमा ढुवानी गरी परागसेचन गर्न तयारी बालीको क्षेत्रमा लगेर राख्न सकिन्छ । मौरी सामान्यतया विभिन्न किसिमको हावापानी (गर्मी, जाडो) र स्थान (तराईदेखि लेकसम्म) मा राम्रोसँग काम गर्न सक्दछ तर पानी परेको बर्खाको समय र अति जाडो हुने मौसममा भने मौरी बाहिर चर्न जान सक्दैन । यस्तो अवस्थामा चिनीको चास्नी बनाएर खुवाउन आवश्यक हुन्छ ।

मौरीहरू धेरै टाढाटाढासम्म विचरणमा जाने हुनाले पनि प्रभावकारी परागसेचन अपेक्षा गर्न सकिएको हो । यति भनिरहँदा प्रभावकारी परागसेचनका लागि भने बालीनालीमा मौरीगोलाको संख्या, परागसेचनका लागि लक्षित बाली र मौरीगोलाको बीचको दूरी निर्णायक हुन्छ । यसमा हावापानीको अवस्था, मौरीको चरन अभिरुचि, मौरीगोलामा फुल पार्ने रानीको गुणस्तर आदिले पनि असर पारिरहेको हुन्छ ।

पछिल्लो समयमा आएर मौरीको प्रमुख शत्रु आधुनिक खेतीपातीमा प्रयोग गरिने रासायनिक विषादि बनेको छ । यसले असंख्य परिमाणमा मौरीको नाश गराइरहेको हुन्छ ।

यसकारण मौरीबाट आउने उत्पादनमा कमी मात्र हैन, बालीनालीमा पूर्ण र प्रभावकारी परागसेचनको अभाव हुन जान्छ । परिमाणतः उत्पादनमा पनि उल्लेख्य कमि आउँछ । यसका लागि बालीनालीमा फूल फूलेको केहि साता रासायनिक विषादिको प्रयोग नगर्ने तथा गर्नै परेमा मौरीपालक किसानलाई जानकारी दिएर मात्र गरेमा मौरीलाई घारभित्र बन्द गरी चिनीको चास्नीको खाना दिइन्छ र रासायनिक विषादिको प्रभाव सकिएपछि मात्र बालीनालीमा पठाउन सकिन्छ ।

कुन बालीनालीमा मौरी आवश्यक छ ?
बालीनालीहरु स्वसेचित वा परसेचित गरी दुई प्रकारका हुन्छन् । स्वसेचित बालीनालीहरुमा एउटै फूलको परागकणले सेचित हुन्छ भने परसेचित बालीनालीमा अर्को फूलबाट परागकण आएर परागसेचन प्रक्रिया पूरा हुन्छ ।

किबीफल, लहरेआँप, तरबुजा, फर्सी, लौका आदि बालीनालीमा मौरी परागसेचनका लागि अत्यावश्यक हुन्छ । यस्ता बालीनालीको परागकण ओजनदार वा गह्रुँगो हुने भएर हावाले उडाएर एक फूलबाट अर्को फूलमा पुग्न नसक्ने सम्भावना हुन्छ । तसर्थ यस्ता बालीनालीको व्यवसायीक खेती गरिएको क्षेत्रमा एक बिगाहा जमिनमा ८ देखि १० घार मौरी राख्नु आवश्यक हुन्छ ।

यस्तै आरु, आँप, लिची, स्याउ, नासपाती, काँक्रो आदिमा मौरीको परागसेचन हुन सकेमा अत्यन्त राम्रो हुन्छ ।

स्वयंसेचित बालीनालीमा पनि मौरी जस्ता कीराहरुको आगमनले परागसेचन प्रक्रिया थप प्रभावकारी हुन्छ र उत्पादन बढ्न जान्छ ।

कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा विभिन्न समयमा विभिन्न अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानले एउटा अनौठो नतिजा देखाएको छ । उक्त अनुसन्धानका अनुसार मौरीले ब्रोकाउली, तोरी र फापरमा मौरी बीनाको बीउको उत्पादन १३, ६८ र ५० किलो प्रतिहेक्टर रहेको थियो भने एपिस सेराना जातको मौरीले परागसेचन गराएको अवस्थामा भने उत्पादन बढेर क्रमशः ४१७, १०८१ र ५८३ किलो प्रतिहेक्टर भएको थियो ।

त्यसैले वैज्ञानिक आधार र खोज एवं अनुसन्धानकर्ताहरुको नतिजाहरुलाई विचार गर्दै मौरी तथा अन्य यस्तै परागसेचक कीराहरुको महत्वलाई आत्मसात गर्दै सम्बद्ध सबै पक्षबाट सम्भव भएसम्म रासायनिक विषादिरहित खेती प्रणालीलाई जोड दिनुपर्छ । विषादिलाई पूर्णरुपमा निषेध गर्न नसके पनि बालीनालीको फूल फूलेको समयमा भने रासायनिक विषादीको प्रयोगलाई निषेध गरी दीगो कृषि र पर्यावरणीय कृषिको बढावा दिनु आवश्यक देखिन्छ ।

यो लेखमा प्रयोग भएका तथ्य र तथ्याङ्कहरु निम्न प्रकाशनहरुबाट साभार गरिएको हो-

  • आधारभूत मौरीपालन तालिम प्रशिक्षक श्रोत पुस्तिका, २०१२, इसिमोड नेपाल
  • Thapa, R. (2006). Honeybees and other Insect Pollinators of Cultivated Plants: A Review. Journal of the Institute of Agriculture and Animal Science, 27, 1-23.

‘कृषि र जीवन’ स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरुः

नेपाली कृषिको अबको बाटो: रणनीतिक लगानी र सुनिश्चित बजार

साना किसानका लागि सस्तो पोष्टहार्भेष्ट प्रविधिः शून्य शक्ति शित भण्डार र गमला फ्रिज

नेपालका हेपिएका बालीहरु र यसको बहुआयामिक महत्व

जंगली च्याउ: पहिचान, सचेतना र अनुसन्धानको आवश्यकता

जंगली उपजको संकलन र उपभोगः संरक्षणको प्रश्न र मानव स्वास्थ्यको जोखिम

कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

एकीकृत कृषि फार्म: एक युवा अनुभव

‘अर्थतन्त्र थप धरासायी हुनबाट रोकौं, खाद्य प्रणालीको स्थानीयकरण गरौं’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय