scheduleमगलवार आश्विन ६ गते, २०७७

पोखराका ती संक्रमित जो स्वाब रिपोर्ट नआउँदै व्यापार गर्न हिँडे

प्रतिक भट्ट

पोखरामा शनिबार २३ वर्षीय युवामा कोरोना संक्रमण पुष्‍टि भयो । सर्लाही घर भएका उनी पोखरामा डेरा गरी बस्दै आएका थिए । साइकलमा महानगर र वरीपरी डुलेर कपडाको व्यापार गर्ने उनी व्यापारका लागि दिनभरजसो डुल्थे । लकडाउन सुरु हुनु अगावै गाउँ गएका उनी लकडाउन अवधिभर उतै थिए । लकडाउन खुकुलो भएको स्थिति देखेर उनी करिब दुइसाताअघि व्यापारकै लागि पोखरा आएका थिए ।

कोरोना मात्रै होईन कुनैपनि रोगको लक्षण नदेखिएका उनी पोखरा फर्किएपछि आफ्नै डेरामा सेल्फ क्‍वारेन्टिनमा बसेका थिए । त्यसको एक सातापछि अर्थात् गत साउन ५ गते उनको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा पठाइयो । तर अप्रत्याशित नतिजा देखियो । शनिबार साउन १० गते उनलाई कोरोना संक्रमण भएको पुष्‍टि भयो । यद्यपि उनमा त्यसअघि कुनै लक्षण देखिएको थिएन ।

अचम्मको कुरा त के छ भने स्वाब दिएपछि पनि उनी आफ्नै व्यापारमा  केन्द्रीत भए । यो बीचमा उनको भेट र व्यापारिक लेनदेन धेरैसँग भयो । स्वाब दिएपछि क्‍वारेन्टिनमा बस्‍न नपर्ने बुझाइ थियो वा लक्षण नभएका कारण उनले दैनिक जीविकोपार्जनमा समेत ध्यान दिनुपर्ने भएकोले पुनः व्यापार थालेको हुन सक्ने कुरा अहिले गम्भीर बनेको छ ।

लक्षण नदेखिएको र स्वाब संकलन पश्‍चात् पनि ब्यापारमा हिँडेकाले उनले आफ्नो सहित अन्यको पनि ज्यान जोखिममा पारेको हुनसक्ने अनुमान सजिलै गर्न सकिन्छ ।

चासोको बिषय त यो भयो की स्वाब संकलन भइसकेपछि उनी साइकल लिएर बजार डुल्दा केही मानिसहरुसँग त पक्कै सम्पर्कमा आए होलान् । उनीसँगै डेरामा अन्य दुइजना पनि संगै बस्दै आएमा थिए । सबैजनाले सल्लाह गरेर छुट्टाछुट्टै ठाउँमा व्यापार गर्न जान्थे । ती दुइजनालाइ पनि अहिले प्रि-आइसोलेसनमा राखिसकिएको छ । संक्रमित व्यक्तिसँग सम्पर्कमा आएकाको ‘कन्ट्‍याक्ट ट्रेसिङ’ पनि सुरु गरिसकिएको छ ।

यदि उनीसँगै बस्‍ने दुइजनामा समेत कोरोना पुष्‍टि भएमा पोखराका विभिन्‍न स्थानमा उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिमा पनि कोरोना भेटिने सम्भावना उतिकै छ । यसरी समुदायस्तरमा फैलिने खतरा बढ्दै गएको अवस्थामा सप्तरीको राजविराजमा ‘लहरो तान्दा पहरो गर्जेिए’ झैं कोरोना फैलिएको जस्तो परिद‍ृश्य पोखरामा पनि नदेखिएला भन्‍न सकिन्‍न ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय