scheduleबुधवार मंसिर १७ गते, २०७७

‘नो खुट्टाको पानी’ मा त्यस्तो खराब के छ ?

प्रतिभा पराजुली

गायिका सोफिया थापाको गीत ‘यसपालीको तीज नो व्रत प्लिज, नो खुट्टाको पानी’ लाई केही रुढीवादी धार्मिक संस्था र व्यक्तिहरुले अनावश्यक विवादमा तान्ने प्रयत्न गरेका छन् । उनीहरुले गायिकालाई सामाजिक सञ्जाल तथा फोनमार्फत् धम्की दिएको थापाले बताउने गरेकी छन् । गायिका थापाले सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएको समाचारमा उल्लेख छ ।

यो घटनाले समाजको आमचिन्तन, मनोविज्ञान र धारणा प्रगितमनतिर गइरहेको संकेत गर्दछ । आधुनिक लोकतान्त्रिक समाजमा गीत गाएकै कारण यसरी कुनै सृजकको पछाडि समाजका संस्थाहरु खनिनु सर्वथा अनुचित हो । गतिशील समाजमा व्यक्तिलाई सृजनशील सक्रियताको अधिकार हुन्छ । लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिन्छ । कुनै गीत सबैलाई मन पर्नुपर्छ भन्ने छैन । तर, मन परेन भन्दैमा सृजकलाई धम्की र मानसिक यातना दिन पाइन्न ।

गीत/संगीत कलाको क्षेत्र हो । कलाका अनेक विधाहरु छन् । गीत, संगित, साहित्य, सिनेमा, चित्रकलाआदि कलाका लोकप्रिय विधाहरु हुन् । यी ‘सृजनशील अराजकता’ का क्षेत्रहरु हुन् । कलाको काम कुनै सामाजिक मर्यादा वा धार्मिक कानूनको पालना गर्नु हैन । कलाको उद्देश्य मानवीय संवेदनाको अभिव्यक्ति गर्नु हो । त्यसक्रममा कलाले कयौं स्थापित मूल्य, मान्यता, दृष्टिकोण र संस्कृतिप्रति प्रश्न उठाउँने अधिकार राख्दछ ।

कला क्षेत्रसँग त्यस्तो अधिकार हुने मात्र हैन, कलाको औचित्यकोे आधार नैै त्यही हो । कलालाई कुनै नियम, मर्यादा, धार्मिक आस्था, विश्वास, राज्यको कानून वा व्यक्तिगत आग्रहले बाध्न थालियो भने कला कला नै रहँदैन । कला/सहित्य मार्फत् तिनै कुराहरु भनिन्छन्, जो आमरुपमा परिवारमा, समाजमा, व्यक्तिगत वार्ताहरु भन्न गाह्रो हुन्छ । कला सृजनाको मात्र हैन, विद्रोहको माध्यम पनि हो । मानिसको अवचेतन वा अचेतनमा गढेर बसेका भावनाहरुलाई मुखरित गर्नु कलाको धर्म र कर्तव्य हो ।

बीपी कोइराला आधुनिक लोकतान्त्रिक चेतनाका मानक व्यक्तित्व हुन् । उनले भनेका थिए, ‘म साहित्यमा अराजकतावादी हुुँ ।’

प्रतिभा पराजुली

बीपीले समाजिक मर्यादा, राजनीतिक सिद्धान्तको औचित्य, राज्यका कानून वा धार्मिक विश्वासहरुको महत्व नबुझेर यसो भनेका हैनन् । उनले कला/साहित्यको सार्वभौमिकतालाई व्यक्त गर्न यसो भनेका हुन् । कलामा मानवीय भावनाका ती पक्षहरु पनि अभिव्यक्त हुुन पाउँछ, जुन सामाजिक मर्यादाका दृष्टिकोण बर्जित हुन्छ ।

समाजमा, परिवारमा, सार्वजनिक भेटघाटमा आमरुपमा यौनको कुरा गरिँदैन । तर, कला, साहित्य र सिनेमामा त्यो सामान्य हो । त्यो आधुनिकताले ल्याएको अश्लिलता हैन, मानवीय प्रवृतिको सार्वभौम चरित्र हो । शताब्दिऔं पुराना मन्दिर, देवल र दरबारहरुमा टुँडालहरु खोपिएका पाइन्छन् । यहाँसम्म कि स्वयं धार्मिक ग्रन्थहरुमा नै कयौं त्यस्ता प्रसंगहरु छन्, जो आजको आम सामाजिक मर्यादाका दृष्टिकोणले अपाच्य र बर्जित लाग्दछन् ।

महाभारतमा कुन्ती कुमारी आमा बनेको कथा छ । सूर्यको वीर्यधारण गरेर कुन्ती पाण्डुसँग बिहे गर्नु अगाडि नै कर्णलाई जन्म दिन्छिन् । द्रौपदी ५ पाण्डवलाई साझा पति मान्छिन् । यी प्रसंग आज पनि बहसको बिषय हुन सक्दछन् । तर यही कारणले कुन्ती वा द्रौपदी अपवित्र र अमर्यादित मानिएका छैनन् । हिन्दू समाजमा उनीहरुको स्थान र गरिमा आज पनि उच्च छ ।

बीपी कोइरालाका सुम्निमा, नरेन्द्र दाई वा मोदी आइनका कयौं प्रसंगहरु आज पनि अमर्यादित लाग्न सक्दछन् । तर, तिनीहरुलाई हटाइदिने हो भने ती कृतिहरु अर्थहीन हुन्छन् ।

कलाको आफ्नै नियम र मर्यादा हुन्छ । त्यो नियम स्वयंं सृजकले बुझेका हुन्छन् । सोफिया थापाको गीतमा कसैलाई आपत्ति हुनुपर्ने त्यस्तो कुनै प्रसंग देखिन्न । हो, दृष्टिकोणको भिन्नता हुने ठाउँ त्यहाँ छ । ‘व्रत’ बस्नु राम्रो कि न राम्रो, व्रतले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव पनि हुन्छन् भन्ने बहस गर्न सकिने ठाउँ नभएको हैन । तर, गीतको सन्दर्भबाट त्यसलाई हेर्नु पर्दछ ।

उनले तीजको कठोर व्रतको सन्दर्भ र त्यसमाथि जोडिएका अन्धविश्वासलाई प्रहार गरेकी छन् त्यो सर्वथा जायज छ । सबै कुरीति र अन्धविश्वासलाई धार्मिक आस्थामा गणना गर्न सकिन्नँ । त्यसो हो भने त बालविवाह, बहुविवाह, सति प्रथा, दाइजो, बोक्सी, छाउपडीजस्ता सबै अमानवीय अन्धविश्वास र कुरीतिहरु धार्मिक आस्था बन्न पुग्दछन् ।

तर्कका लागि तर्क गर्ने हो भने पार्वतीले बच्चैदेखि महादेव पति पाउँ भनेर आराधना गर्छिन्, त्यसैले बालविवाह धार्मिक आस्था हो पनि भन्न सकिएला । आधुनिक युगमा यस्ता तर्कहरु मान्य हुन सक्दैनन् ।

कलामा सत्यको अतिरन्जना हुन्छ । स्वैरकल्पना हुन्छन् । बर्जित आकांक्षाहरुको चित्रण हुन्छ । सबै अवचेतन वा अचेतन आकांक्षाहरु चेतन समाजमा मानिसले भोग्न पाउँदैन । सोफियाले ‘नो व्रत प्लिज’ भन्ने बित्तिकै सबैले व्रत लिन छोड्ने हैनन् । तर तीजको जस्तो कठोर व्रत महिलाले भोग्न नपरे हुन्थ्यो भन्ने कल्पना गर्ने अधिकार सोफियालाई छ ।

कलाले मान्छेका कुुण्ठालाई स्वैरकल्पनामार्फत् तुष्टिकरण गर्दछ । तसर्थ कला-साहित्यलाई मनका घाउहरुको औषधि पनि भनिन्छ । मन सधैँ तथाकथित मर्यादाको साङ्लोले बाँधिएर बस्न सक्दैन । मनले त्यस्तो लाखौं कल्पनाहरु गर्दछ, जो वास्तविक जीवनमा, सामाजिक, आर्थिक धरातलमा उपलब्ध हुँदैनन् । जे चीज जीवनमा बिरलै हेर्न, भोग्न, भन्न पाइन्छ, त्यही चीज हेर्न, भोग्न र भनेको सुन्न कला-साहित्यको सहारा लिने हो ।

मान्छेहरु सिनेमा हलमा भीड लाग्नुको कारण त्यही हो । सिनेमा सबै दृष्यहरु सामाजिक, राजनीतिक, तथा धार्मिक नियमका सीमाभित्र हुन्छन् भन्न सकिन्न । कथा वा उपन्यासका सबै घटना वा संवाद समाजको मर्यादाभित्र नहुन सक्दछन् । चित्रकलामा लुगा नलगाएको मान्छे बनाउनु कुनै पाप हैन । चित्रकार चित्रमा लुगा नलगाएको मान्छे बनाउँछ तर हिंड्दा लुगा लगाएर नै हिंड्छ । यो भेद सभ्य लोकतान्त्रिक समाजले बुझ्न सक्नु पर्दछ ।

पछिल्लो समय नेपालमा गीतसंगीत क्षेत्रमाथि अनावश्यक दवाब बढेको अनुभूति हुन्छ । पशुपति शर्माको ‘लुट कान्छा लुट’ गीत संशोधन गर्न बाध्य बनाएर सत्ताले सृजनशील कलाप्रतिको चरम असहिष्णुता प्रदर्शन गरेको थियो । यस्ता अरु घटनाहरु बीचबीचमा भइरहेका थिए ।

सोफिया थापामाथिको मानसिक दवाब त्यही श्रृंखलाको एक कडी हो । कुनै अमुक धार्मिक संस्थाले संस्कृति मन्त्रीलाई ज्ञापनपत्र बुझाएर कलाकारलाई सिंहदरबारकै कम्पाउण्डभित्रबाट भौतिक कार्बाही गर्ने धम्की दिनु कानूनी राज्यको उपहास हो । यो घटनाले अभिव्यक्ति स्वतन्त्रता र सृजनशीलताविरुद्ध राज्य र रुढीवादी तप्काबीच अघोषित साँठगाँठ छ भन्ने पुष्टि हुन्छ ।

सोफियाको गीत मन नपर्नेहरुले नसुन्न सक्दछन् । मिडियामार्फत् कला–समीक्षा लेखेर आलोचना गर्न सक्दछन् । सुधारको अपेक्षा वा माग गर्न सक्दछन् । त्यसो गर्ने अधिकार भने उनीहरुसँग छ । तर, धम्की दिने, मानसिक यातना दिने, भौतिक कार्बाहीको चेतावनी दिने अधिकार उनीहरुलाई छैन । यस्ता कार्य गर्नेहरुलाई राज्यले पक्राउ गरी कार्बाही गर्नु पर्दछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay