scheduleमगलवार श्रावण २० गते, २०७७

बुहारीको व्यवहार र ससुराको बोलीबाट भट्ट भड्किए

काठमाडौं, १२ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ । यतिबेला नेताहरु आफ्नो पक्षमा बहुमत जुटाउन कम्मर कसेर लागिरहेका छन् ।

तर यति नै बेला नेकपाका एक अध्यक्ष प्रचण्डलाई आफ्ना जनयुद्धको समयदेखिका सहपाठीले साथ छाड्न थालेका छन् । अहिले खुलेरै ओली समूहमा लागिरहेका छन् मन्त्री तथा नेकपा स्थायी समितिका नेता लेखराज भट्ट ।

भट्ट स्थायी समितिको सूचिमा रहेका एकजना नेतामा मात्र सीमित छैनन्, उनी प्रचण्डका लागि सुदूरपश्चिमका खम्बा हुन्, जसले पार्टीभित्र हरेक अन्तरसंघर्षमा प्रचण्डलाई साथ दिँदै आए ।

पछिल्लो समय उनले प्रचण्डकै सिफारिसमा मन्त्री बनेर पनि प्रचण्डलाई साथ दिन सकिरहेका छैनन् । यसका पछाडि दुई घटना/सन्दर्भले भूमिका खेलेको अनुभूति उनले आफ्ना निकटस्थ हरुलाई सुनाउन थालेका छन् ।

यता प्रचण्डले ‘लेखराजले धोका दिए’ भन्दै सुदूरपश्चिमका बचेखुचेका आफ्ना नेताहरुलाई भेटघाट बाक्लो बनाइरहेका बेला भट्टले पनि सुदूरपश्चिमका नेता कार्यकर्तालाई ओली समूहमा तान्न अभ्यास गरिरहेका छन् ।

त्यसक्रममा उनले प्रचण्डलाई आफूले होइन, आफूलाई प्रचण्डले धोका दिएको भन्दै अनुभूतिहरु सुनाउन थालेका छन् ।

यसबीचमा प्रचण्डले लेखराज भट्टलाई भेट्न नखोजेका होइनन् । धेरैपटक फोन गरे, धेरै व्यक्तिहरु परिचालन गरे । तर लेखराजको मन फिरेन । किन ?

भट्टले निकटस्थहरुलाई सुनाउने गरेका छन्, ‘जतिबेला बुहारी बिनालाई मन्त्री बनाउन मेरो नाम सूचिबाट हटाइयो, मैले चित्त नुखाइन । अध्यक्षका बाध्यता होलान् भनेर मन बुझाएँ । तर मन्त्री बनेपछि सुदूरपश्चिममा बिनाको गतिविधिले मलाई मात्र होइन, मेरो इतिहास, तपाईं हामी सबैको विरासतमाथि प्रश्न उठाइरहेको थियो ।’

बिनाले आफूलाई समेत बाइपास गरेर सुदूरपश्चिमका पार्टी निर्णयहरु प्रभावित बनाउन थालेको उनको बुझाई छ ।

खास कुरा, पछिल्लो समय मन्त्री मगरको गतिविधि सुदूरपश्चिममा बढेको र प्रचण्डले आफूलाई किनारामा पार्न बुहारीलाई अगाडि ल्याउन खोजेको उनको बुझाई बलियो बन्दै गएको देखिन्छ ।

अझ, प्रचण्डले धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा सुदूरपश्चिमको नेता भीम रावल भएको मन्तव्य आफ्नै शैलीमा दिइरहेको बेला भट्टको प्रचण्डसँग जोड्ने त्यान्द्रो थप कमजोर भएको थियो ।

अहिले अन्तरसंघर्षको बेला भट्टले विकल्प भेट्टाए । कमजोर र चित्त नदुखाउने विकल्पले उनलाई त्यति आकर्षित नगरेको बुझिन्छ ।

जनयुद्ध सुरु हुँदा प्रचण्डलाई पेस्टोल उपहार दिएर सम्बन्ध बनाएका, युद्धकालभरी प्रचण्डको मियो बनेर बसेका भट्टका लागि प्रचण्डको पछिल्ला व्यवहारहरुले टाढा बनाउँदै लगेको बुझ्न सकिन्छ ।

अर्कोकुरा एजेन्डाका दृष्टिले पनि भट्ट र ओलीको बीचमा केही समानता भेटिन्छ । संघीयताको नारा लगाउने तर जिल्ला टुक्र्याउनु हुन्न अथवा संघीयता नाम मात्रको हुनुपर्छ भन्ने कुरामा दुवै नेताहरुको सोच मिलेको देखिन्छ ।

तर, नेपालमा एकठाउँमा हुन सोच भन्दा स्वार्थ मिल्नुपर्ने अवस्था निर्णायक हुने गरेको अवस्था छ । उता, प्रचण्ड भने नयाँ सन्दर्भमा सुदूरपश्चिममा आफू बलियो देखिन भीम रावलको मात्रै भर पर्ने भन्दा पूर्वमाओवादीभित्रैबाट पहिला बाबुराम भट्टराईको विचार समूहका खगराज भट्टलाई बढी समय दिने गरेका छन् ।

विकल्पका रुपमा उनले बुहारी बिना र मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि तयार रहन भन्न थालेको बताइन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय