scheduleमगलवार आश्विन ६ गते, २०७७

नेकपा विवादमा माधव–केपीबीचको प्रेमघृणाको नालीबेली

साझापोस्ट टिप्पणी

काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्री माधव नेपालको सम्बन्धको चिसिएको वर्षौ भयो । अहिले उनीहरु सत्तारुढ नेकपाका अध्यक्ष र वरिष्ठ नेता छन् । तर, नेपालले आफूलाई अधिकांशतः मन भित्रभित्रै गुम्स्याएर राखे ।

यो हप्ता भने उनी विष्फोट भए । नेपालले ओलीलाई लक्षित गर्दै भने, ‘म नै राज्य हुँ भन्ने सोचले चल्ने व्यक्तिको अवश्य पतन हुन्छ ।’

राजनीतिमा यो निक्कै कठोर वाक्य–वाण हो । नेपाल–ओली दशकौं लामो सहकार्य गरेका सहकर्मी हुन् । कम्युनिष्ट आन्दोलनका थुप्रै वैचारिक उतरचढाव र एमाले पार्टी जीवनमा उनीहरु एउटै पाटोमा थिए । समयक्रमले धकेल्दैधकेल्दै धेरै टाढा पुर्‍याएको छ ।

एमाले छैठौं महाधिवेशनताका नेपाल–ओलीको सहकार्य खुबै जमेको थियो । यही एकताको बलमा उनीहरु सीपी मैनाली, वामदेव गौतम, आरके मैनाली, साहना प्रधानजस्ता स्थापित नेतृत्व समूहको फरकमत सामना गरेका थिए ।

एमाले छैठौं महाधिवेशनको रणमैदानमा वामदेव गौतम पक्षसंग ‘महाकाली सन्धि’ जस्तो गतिलो हतियार थियो । साँच्चै भन्ने हो भने पार्टीमा भीष्मपितामहजस्तो भूमिकामा पुगेका मनमोहन अधिकारीको समेत अल्पमत पक्षधरप्रति सहानुभूति थियो । तर, नेपाल–ओलीले मिलेर त्यो स्थितिको सामना गरे ।

वामदेव गौतमलगायत १४ भाइले नेपालगञ्जको महाधिवेशन हल बहिष्कार गरी चिसापानीतिर लागे । काठमाण्डौं फर्किएर त्यो विवाद मिलाउने अधिकतम् प्रयत्न गरियो । मनमोहन अधिकारी वामदेव पक्षलाई कार्वाही गर्न इच्छुक थिएनन् । मनमोहनले माधव नेपाललाई कार्बाहीको तहसम्म नजाऊँ भनेर सम्झाउने गरेका थिए ।

त्योबेला माधव भन्थे, ‘मेरो पनि त्यही सोच हो, तर केपी मान्दैनन् । अहिले उनलाई म छोड्न सक्दिनँ ।’ यथार्थमा वामदेव, सीपी, आरके, सहाना, अशोक राईजस्ता १४ वरिष्ठ नेताहरुलाई कारबाही मनमोहन र माधवको भन्दा बढी केपीको भित्री इच्छा थियो । काबाहीमा परेका नेताहरुले भिन्नै नेकपा (माले) गठन गरे ।

मालेले देशभरि भित्ताभित्तामा नारा लेख्यो– ‘कोशी बेचे मात्रिकाले, गण्डकी बेचे बीपी, महाकाली बेचीछाडे माधव–केपीले ।’ यो निक्कै कठोर नारा थियो ।

यस्ता नारा देशभरि पुर्‍याउन दिनरात मेहनत गर्ने केपीका अहिलेका मन्त्रीहरु घनश्याम भुसाल, योगेश भट्टराई र स्वर्गीय मन्त्री रवीन्द्र अधिकारी पनि थिए । घनश्याम भुसाल, नारायण ढकाल, हरि रोक्का, योगेश भट्टराई लगायतमा युवा विद्वानहरुले सम्पादन गरी ‘एमालेका १०१ अपराधहरु’ पुस्तिका नै प्रकाशित गरे ।

माधव–केपीमाथिको राजनीतिक प्रहार यतिमा मात्र सीमित थिएन । छैठौं महाधिवेशनकै हलमा गोपाल चिन्तन शिवाकोटीहरुले ‘दासढुंगा काण्ड’ माधव–केपीको सहयोगमा भारतीय गुप्तचर संस्था ‘रअ’ ले गराएको भन्दै पुस्तिका नै बाँडिएको थियो । त्यो बिषमा माओवादी निकट एक साप्ताहिकमा टि.एन. प्रधान र रमेश प्रधानको छद्यम नाममा धारावाहिक लेखहरु नै प्रकाशित हुन्थे ।

ती लेखहरु वामदेका तत्कालीन सहयोगी केशवलाल श्रेष्ठले लेखेको हुन सक्ने बताइन्छ । पछि रहस्य खुल्यो– टि.एन. प्रधान भनेर प्रयोग गरिएको फोटो भारतीय पत्रकार कुलदीप नायरको थियो । रमेश प्रधानको भनिएको फोटो कसको थियो, अझै कसैले बताएको छैन । यो स्तरको अन्तर्पार्टी संघर्षमा पनि माधव–केपीसँगै थिए ।

करिब १४ वर्ष जेल बसेर छुटेका केपीको काठमाडौं कोही थिएन । जेलबाट छुटेपछि उनी साथीहरुको डेरामा दुई दिन चार दिन गर्दै घुमीघुमी रात काट्थे । त्यो बेला पनि माधवले केपीलाई काठमाडौंमा टिक्न र राजनीतिमा सक्रिय रहन सक्ने वातावरण बनाउन ठूलो सहयोग गरेको बताइन्छ ।

माधव नेपालले राधिका शाक्यसँग केपीको बिहे गराउन लमीको भूमिका समेत गरेका थिए । राधिका त्यो बेला माले ललितपुर जिल्ला कमिटीको सदस्य थिइन । लामो समय जेल बसेका बिमार र ख्याउटे केपीसँग बिहे गर्न राजी गर्न राधिकालाई माधवले लामो समय सम्झाउनु परेको उनले एक अन्तर्वार्तामा बताएका थिए ।

२०४६ सालपछि मालेको केन्द्रीय कमिटी सार्वजनिक हुँदा केपी केन्द्रीय समिति मात्र थिए, माधव पोलिटब्यूरोमा । त्यो बेला पोलिटब्यूरो कम्युनिष्ट प्रचलनमा निक्कै शक्तिशाली अंग मानिन्थ्यो । मदन भण्डारी, जीवराज आश्रित, माधव नेपाल, झलनाथ खनाल र सीपी मैनाली ५ सदस्यीय पोलिटब्यूरो थियो । सार्वजनिक जीवनमा आएसँगै केपीलाई भर्खर युवा संघको अध्यक्ष बनाइएको थियो । तथापि लामो समय जेल बसेर छुटेका राजबन्दीका रुपमा ओलीको आफ्नै प्रकारको छवि थियो ।

केपी मैनाली दाजुभाइप्रति सकारात्मक थिएनन् भन्ने कुरा त्यसपछिका घटनाक्रमले पुष्टि हुन्छन् । मदन आश्रितको मृत्युपछि केपी झनझन माधवको नजिक भए भने मैनाली दाजुभाइमा पार्टीप्रतिको गुनासो बढ्दै गयो । त्यसको चरमोत्कर्ष २०५१ सालको ९ महिने पहिलो एमाले सरकारमा देखियो ।

९ महिने सरकारमा माधव र केपी बढो शक्तिशाली मन्त्री भएर देखिए । माधवले उपप्रधानमन्त्री, परराष्ट्र रक्षा र राजदरबारमन्त्री लिए । राजदरबार, रक्षा मन्त्रालय प्रधानमन्त्रीले लिने प्रचलन थियो । उपप्रधानमन्त्रीको प्रचलन थिएन । माधव २०४६ पछिको पहिलो उपप्रधानमन्त्री बने । ओली गृहमन्त्री बने । मैनाली दाजुभाइ तुलनात्मकरुपमा कमजोर मन्त्रालयमा परे । सीपी केही महिनाभित्रै हटाइए । माधव र केपीको शक्ति असीमितरुपमा बढेको देखियो ।

मनमोहनलाई यी सबै घटनाक्रम भित्र हृदयदेखि नै मन परेको थिएन । तर, माधव–केपीको अगाडि उनको केही लाग्ने अवस्था पनि थिएन । माधव–केपी भर्सेस् वामदेव–सीपी–आरके ध्रुवीरणले एमालेले २०५६ को आम निर्वाचनमा बहुमत ल्याउने अवसर गुमायो ।

यी घटनाक्रममा माधव–केपीको ठीकमुनि अर्को उत्तिकै प्रभावशाली जोडी थियो– प्रदीप नेपाल र ईश्वर पोख्रेलको । त्यतिखेरै फरक मतवालाहरु भन्थे– ‘कुनै दिन माधव र केपी, ईश्वर र प्रदीपबीच यस्तै हुनेछ । आज हामीलाई पेल्या छन्, कुनै दिन आआफूलाई पेल्ने छन् । आज हामीलाई सिध्याएदै छन्, कुनै दिन एक अर्कालाई सिध्याउने छन् ।’

नभन्दै त्यस्तै भयो । आठौं महाधिवेशनमा ईश्वर पोख्रेलसँग महासचिवमा पराजित प्रदीप नेपाल राजनीतिबाट विलाएजस्तै भए । त्यतिखेरको उनको शक्ति र चुरीफुरी सम्झनेहरुले आज प्रदीप नेपालका बिमार र बुढ्यौली गुनासोप्रति सहानुभूतिसम्म राखेको देखिन्नँ । उनी परिदृष्यबाट पुरै गायब भएका छन् ।

माधव नेपालप्रति ओलीको असन्तुष्टि त्यतिखेर देखि बढ्न थालेको थियो जब सातौं महाधिवेशनमा नेपालले ओलीप्रति केही संदिग्ध व्यवहार गरे । छैठौं महाधिवेशनमा सहयोग गरेबापत् सातौं महाधिवेशनदेखि नेतृत्व आफूमा सार्न नेपालले सहयोग गरुन् भन्ने केपीको अपेक्षा थियो । तर सातौं त के आठौं महाधिवेशनमा पनि नेपालले ओलीलाई सहयोग गरेनन् ।

नेपालले ओलीलाई मूल नेतृत्वको लागि कहिल्यै उपयुक्त पात्र ठानेनन् । तर, ओली कुनै हालतमा एकपटक मूल नेतृत्व हत्याउने महत्वाकांक्षामा दृढसंकल्पित थिए । आठौं महाधिवेशनमा उनी पार्टी अध्यक्षको प्रतिस्पर्धी बने । माधव नेपाल समूहले झलनाथ खनाललाई सहयोग गर्‍यो । थोरै भोटले ओली पराजित भए ।

आफूले बारम्बार सहयोग गर्दा पनि माधवले आफूलाई कहिल्यै सहयोग नगरेको इगो केपीमा गढेर बस्यो ।

नवौं महाधिवेशनमा ओलीले नेपालसँग त्यसैको बदला लिए । उनले राष्ट्रपति बनाउँने भन्दै झलनाथ खनाल पक्षलाई गोप्य रुपमा आफूतिर मिलाए । आफू प्रधानमन्त्री भएपछि पार्टी अध्यक्ष छोडी दिने भन्दै वामदेवलाई मिलाए । गुट समीकरण र गणितीय हिसाबकिताबमा ओली निक्कै चतुर भइसकेका थिए । आफू शक्तिशाली हुन उनले एकपछि अर्को गर्दै ढाँट्न थाले ।

ओलीले झलनाथलाई राष्ट्रपतिका लागि ढिम्कन पनि दिएनन् । वामदेवलाई फुल्याउनु ओलीका लागि सामान्य कुरा भयो । २०५१ सालको गृहमन्त्री र महाकाली सन्धिपछि ओलीलाई शक्तिकेन्द्रहरुको सम्पर्क र स्रोत व्यवस्थापन गर्न गाह्रो नपर्ने भइसकेको थियो । मदन भण्डारी स्मृति प्रतिष्ठान र मदन भण्डारी फाउन्डेशनलाई उनले समानान्तर सञ्जालका रुपमा उपयोग गर्दै भए ।

नवौं महाधिवेशनमा माधव नेपाल झलनाथ खनाल समूहको गोप्य अन्तर्घातका कारण ५४ भोटले ओलीसँग हारे । अब ओलीले ढाँट्ने पालो प्रचण्डको आयो ।

माओवादी आन्दोलन र प्रचण्डप्रति ओलीको मनमा कुनै सहानुभूति थिएन । तर, त्रिकोणात्मक चुनावी गणितमा नेपाली कांग्रेससँग माओवादी मिले एमाले सरकारमा पुग्न नसक्ने यथार्थ उनले स्थानीय निर्वाचनको परिणामबाटै बुझिसकेका थिए । तसर्थ प्रचण्डसँग उनले आधाआधा समयको आलोपालो प्रधानमन्त्री हुने गोप्य सम्झौता गरे । तर, गौतम र झलनाथसँग गरेका गोप्य सम्झौताजस्तै यो सम्झौता पनि ओलीले पालना गरेनन् ।

ओलीका लागि राजनीतिक स्वार्थले प्रेमघृणाको भिन्नै कोर्ष बनायो । उनलाई लाग्यो– कम्युनिष्ट आन्दोलनका सबै हस्ती उनलाई एकपटक मूल नेतृत्वमा पुग्न नदिने मनस्थितिमा छन् भने यिनीहरु कै बीचमा खेलेर, यिनीहरुलाई झुुक्याएर, ढाँटेर पछार्नु के नराम्रो हो ? उनीहरुले मायाले सल्लाहले नेतृत्व दिएको भए हुन्थ्यो, दिँदैनन भने यिनीहरुलाई झुक्याएर भएरे पनि पछार्छु ।

नभन्दै ओलीले सबैलाई पछार्दै गए । आलोपालो सम्झौता, पार्टी एकता, निर्वाचनमा दुईतिहाई नजिकको बहुमत, एक नम्बर पार्टी अध्यक्ष, प्रधानमन्त्री र आलोपालो उल्लंघनमार्फत् उनले सबैलाई पछारे ।

बाहिरबाट हेर्दा मान्छेलाई लाग्छ– माधव र केपी त्यति मिल्ने साथी, किन यसरी एकअर्काको विरुद्ध मरिहत्ते गरेर लागेका होलान् ? तर, यो राजनीतिकोे अपरिहार्य बाध्यता वा नियति हो भन्ने कमैले बुझेका छन् ।

एकपछि अर्को चालबाजीले ओलीको महत्वाकांक्षा र आत्मविश्वासलाई त बढायो, तर अहिले त्यसको पनि अर्को पराकाष्ठा आइपुगेको छ ।

ओलीले ढाँटेकाहरु सबै एक ठाउँ भएर उनलाई छेकारो मारिरहेका छन् । त्यसमा निर्णायक भूमिका माधव नेपालको हुने देखिँदैछ । माधव साथमा नहुने हो भने प्रचण्ड, झलनाथ र वामदेवले चाहेर पनि केपीविरुद्ध केही गर्न सक्ने थिएनन् ।

केपीलाई कताकती लाग्दै होला– एक साथ सबैलाई ढाँट्नु र चिढ्याउनु पनि राजनीतिमा सही रणनीति हैन रहेछ । कम्तीमा कुनै बेलाका साथी माधव नेपाललाई आफ्नो नजिक राख्न सकेको भए ओली आजको जस्तो अप्ठ्यारोमा हुने थिएनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय