scheduleआइतवार आश्विन ११ गते, २०७७

सुनिल थापाको बर्हिगमनः राप्रपा अझै खिइने संकेत

साझापोस्ट टिप्पणी

काठमाडौं, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापाले राप्रपा परित्याग गर्ने निर्णय गरेका छन् । अहिले उनी नेपाली कांग्रेस प्रवेशको तयारीमा रहेको बताइन्छ । उनी केही महिना अघि भएको तीन राप्रपा समूहको एकतामा सामेल थिएनन् ।

राष्ट्रिय राजनीतिका थापाको आफ्नै मौलिक व्यक्तित्व र पहिचान स्थापित नभए पनि उनी प्रभावशाली राजनीतिक परिवारका उत्तराधिकारी हुन् । उनका पिता सूर्यबहादुर थापा पञ्चायतकाल र बहुदलीय कालमा गरी पटकपटक प्रधानमन्त्री भएका थिए । पूर्वी पहाडको धनकुटा जिल्लाको चुनावी राजनीतिमा थापा परिवारको अझै उल्लेखनीय प्रभाव छ ।

सूर्यबहादुर थापा पञ्चायती राजनीतिमा फरक प्रकृतिका व्यक्तित्व थिए । उनी कतिपय सवालमा दरबारको विरोध गर्थे । तर, दरबारकै कृपा र आर्शिवादले बारम्बार प्रधानमन्त्री पनि हुन्थे । २०३६ सालमा निर्दलीय पक्षलाई जिताउन सूर्यबहादुर थापालाई दरबारले प्रयोग गरेको विश्वास गरिन्थ्यो ।

सूर्यबहादुर थापाका छोरा सुनिल भने राजनीतिमा थिएनन् । उनी विदेशी संस्थामा जागिरे थिए । जीवनको उत्तरार्द्ध बुबाको इच्छा पूरा गर्न उनी राजनीतिमा आए । धनकुटाकोे राजनीतिमा थापा परिवारको निरन्तर संलग्नता र क्रियाशीलता रहोस् भन्ने सूर्यबहादुरको इच्छा थियो । त्यही कारण उनले छोरा सुनिललाई राजनीतिमा तानेका थिए । थापा परिवारको भारतीय संस्थापन पक्षसँगको सम्बन्ध सधै राम्रो रहेको ठानिन्छ ।

दोस्रो संविधानसभा निर्वाचनमा थापा कांग्रेसकोे सहयोगमा धनकुटाबाट विजय भएका थिए । उनलाई कांग्रेसले निशर्त सहयोग गरेको थियो । भारतीय इसारामा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालाले सुनिलका लागि कांग्रेसको उम्मेद्वार नदिएको भनेर कोइरालाको कांग्रेसभित्रै आलोचना भएको थियो ।

२०७४ को आमनिर्वाचनमा भने सुनिल कांग्रेसको सहयोगको बाबजुद पराजित भए । एमाले र माओवादी दुई वामपन्थी पार्टीको एकताको लहरले जिल्लामा थापा परिवारको बर्चश्वलाई कमजोर बनाइदियो । उनी एमालेका राजेन्द्र राईसँग पराजित भएका थिए ।

राप्रपालाई पूर्व पञ्च परिवारहरुको पार्टी मानिन्छ । यसको इतिहास र पार्टी संगठनको संरचना हेर्दा पनि त्यस्तै देखिन्छ । यो पार्टीका अधिकांश नेता कार्यकर्ता पञ्चायत र राजतन्त्रसंग जोडिएका व्यक्ति वा सन्तान छन् । २०४६ को जनान्दोलनले ३० वर्षे निर्दलीय निरंकुश पञ्चातयी व्यवस्थाको अन्त्य गरेपछि राप्रपाको जन्म भएको थियो ।

त्यसको केही महिनापछि सूर्यबहादुुर थापा र लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा एकै दिन राप्रपाका दुई धार जन्मिएका थिए । २०५१ को मध्यावधि निर्वाचन दुवै धारले मिलेर लडे । १९ प्रत्यक्ष सिटसहित बलियो तेस्रो पार्टीका रुपमा राप्रपा उदायो ।

तर, त्यो एकता दीगो भएन । राप्रपा दर्जनौ पटक फुट्ने र जुट्ने गर्‍यो । पछिल्लोपटक कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन समूह मिलेपछि राप्रपा पुनश्चः एक भएको थियो । तर सुनिलबहादुर थापा यो एकतामा सामेल भएका थिएनन् ।

पार्टी संस्थापक अध्यक्षकै छोराले परित्याग गर्नु निश्चय नै राप्रपाका लागि सुखद बिषय हैन । यसले राप्रपा झनझन खिइँदै गएको र पूर्वपञ्च परिवारहरुले नै यसप्रतिको विश्वास गुमाउन थालेको सन्देश जाने देखिन्छ ।

संघीय संसदमा राप्रपाको अहिले १ सिट छ । झापा १ बाट राजेन्द्र लिङदेनले त्यो पार्टीको प्रतिनिधित्व गर्दछन् । गत निर्वाचनमा फरकफरक चुनाव लडेका राप्रपाको तीनवटै समूहले समानुपातिक तर्फकोे थ्रेसहोल्ड काट्न सकेका थिएनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय