scheduleबुधवार मंसिर १७ गते, २०७७

कांग्रेसमा ९ जना सभापतिको उम्मेद्वार बन्ने मनस्थितिमा

काठमाडौं, १३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी फाल्गुुनमा हुने सम्भावनासँगै आन्तरिक सरगर्मी बढ्न थालेको छ । नेताहरुले आगामी महाविधेशनमा आफ्नो स्थान के हुने हो ? आफूलाई तौलिन र उपयुक्त पदको खोजी गर्न थालेका छन् ।

अनौपचारिक भेटघाट र छलफलमा व्यक्त भएका विचार अनुसार ९ जनाले वातावरण मिले सभापतिको उम्मेद्वार हुने मनसाय बनाएको बुझिएको छ ।

कांग्रेसलाई लोकतान्त्रिक पार्टीको रुपमा चिनाउन चाहने कांग्रेसीहरुभित्र पछिल्ला दशकहरुमा आन्तरिक लोकतन्त्र खुम्चँदै गएको छ । सभापतिमा उम्मेदवारको आकांक्षीहरुको सूचिमा झण्डै दर्जन नेताहरुले उभ्याउन सक्नु सुखद खबर हो । ‘टावर पर्सनालिटी’हरुको सेपमा सभापति बन्ने सपना खुम्च्याएर हुर्किएका नेताहरुले पछिल्लो समय पार्टी सभापतिको चाहना महाधिवेशनको मैदानमा प्रस्तुत गर्ने आकांक्षा देखाएका छन् ।

यसरी मनसाय बनाउने कांगेस नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, विमलेन्द्र निधी, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गगनकुमार थापा र डा.रामशरण महत रहेको बुझिएको छ ।

वर्तमान सभापति शेरबहादुर देउवा पुनश्चः एकपटक दोहोरिने मनस्थितिमा छन् । कांग्रेसको विधानले २ कार्यकालका लागि सभापति हुने अनुमति दिन्छ । १२औं महाधिवेनमा सुशील कोइरालासँग पराजित देउवा १३औं महाधिवेनमा पहिलो पटक विजयी भएका हुन् ।

तर, उनलाई उनकै खेमाबाट विमलेन्द्र निधीको दवाब रहेको बुझिन्छ । देउवा निधीको दवाबको बाबजुद आफैं उठ्ने मनस्थितिमा छन् । निधी उठे विरोधी खेमाले जित्ने देउवाको विश्लेषण छ । तर, निधी भने सधै देउवालाई निःर्शत सहयोग गर्ने मनस्थितिमा नरहेको बुझिन्छ ।

रामचन्द्र पौडेल देउवा विरोधी खेमाको एक्लो उम्मेद्वार हुने दाउमा छन् । तर, यसपटक कोइराला खेमाको समर्थन पाउने सम्भावना नरहेको बताइन्छ । कोइराला खेमामा शशांक र शेखर दुवै सभापतिको उम्मेद्वार हुने मनस्थितिमा छन् । उनीहरुले एक अर्कालाई कस्लाई समर्थन र सहयोग गर्छन्, प्रष्ट नभए पनि दुवैले रामचन्द्र पौडेललाई समर्थन गर्ने सम्भावना भने कम हुँदै गएको बताइन्छ ।

१३ महाधिवेशनमा तेस्रो खेमाको नेतृत्व गरेर उल्लेखनीय मत पाएका कृष्णप्रसाद सिटौला पनि दौड छोड्ने मनस्थितिमा छैनन् । तर, अघिल्लो महाधिवेशनमा उनलाई साथ दिएका नेताहरु नै उनीसँग रहने हुन कि हैनन्, टुंगो छैन ।

गगन थापाले हार जित जे भए पनि युवा हस्तक्षेपका लागि आफैं सभापतिमा उम्मेदवार हुने मनस्थिति बनाउँदै गएका छन् । तर, उनी अन्तिम टुंगोमा भने पुगिसेका छैनन् । देउवा इतर खेमाले शेखर कोइरालाको नाममा एकमत हुने निर्णय गरे शेखरको महामन्त्री उठ्ने सम्भावना गगनका लागि बाँकी नै छ । उनी यसपटक सिटौला खेमाको महामन्त्रीको उम्मेद्वार भने नहुने गगन निकटहरु बताउँछन् ।

गणेशमान सिंहको छोरा, देशकै राजधानीको मुटु काठमाण्डौंमा राजनीति गरिहेका भद्र स्वभावका प्रकाशमान सिंहको चर्चा भने कांग्रेसमा कमै हुने गर्दछ । उनले एक प्रकारको अगलावको अनुभूति गरिरहेको, त्यसको परिपूर्तिका लागि पनि जे पर्ला एकपटक सभापतिमा उठ्ने मनस्थितिमा रहेको बताइन्छ ।

बारम्बार अर्थमन्त्री भइसकेका नुवाकोटे नेता डा. रामशरण महत पनि यसपटक चर्चामा छन् । आफ्नै प्रकारको राष्ट्रिय व्यक्तित्व र छवि भएका महतको पार्टीको आन्तरिक राजनीतिमा भने खासै चर्चा र भूमिका नहुनुले उनी भित्रभित्रै चिडिएको र सभापतिकोे उम्मेद्वार हुन सक्ने बताइन्छ । हारजित जे भए पनि पार्टीमा भूमिका बढाउनु पर्ने दबाबमा महत रहेको बुझिन्छ ।

यति धेरै नेताहरु सभापति पदको आकांक्षी भएको कांग्रेसको इतिहासमा पाइँदैन । यसपटक पनि अन्तिमसम्म पुग्दा यी सबै उम्मेद्वार होलान् भन्ने छैन । तर, कांग्रेसभित्रको आन्तरिक समिकरण र गणित भने यसपटक रोचक र पेचिलो बन्ने देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay