scheduleसोमवार श्रावण १९ गते, २०७७

राम मन्दिर राजनीतिको गर्मागर्मी

आशुतोष

राम मन्दिर राजनीतिको मुद्दाले फेरि एकपटक गर्मागर्मी शुरु गरेको छ । राम मन्दिर एउटा यस्तो मुद्दा जसले भारतीय राजनीतिलाई पूरै बद्लिदियो । यो मुद्दाले सन् १९८२ मा २ सिट पाएको भाजपालाई सन् २०१४ मा २८२ सिट दिलायो ।

यही मुद्दाले अटलविहारी बाजपेयीलाई प्रधानमन्त्री बनायो । यही मुद्दाले अहिले नरेन्द्र्र मोदी दोस्रोपटक प्रधानमन्त्री छन् । आज भाजपासँग बहुमत छ । हामी उनीहरुको विचारधारासँग सहमत वा असहमत हुन सक्दछौं, त्यो भिन्नै कुरा । तर, यो सत्य सबैले स्वीकार गर्नुपर्छ । यदि यो राम मन्दिरको मुद्दा हुँदैनथ्यो भने आज भाजपा जहाँ छ, त्यहाँ हुन कुनै हालतमा सम्भव थिएन ।

अगष्ट ५ मा अयोध्यामा त्यही राम मन्दिरको शिलान्यास हुँदैछ । यो क्षण केवल भाजपाको लागि मात्र हैन, सिंगो देशकै लागि एक ऐतिहासिक क्षण हुनेछ । यो क्षणलाई हरेक भारतीय आफ्नो आँखाले हेर्न चाहन्छन् । यही करणले यसको राष्ट्रिय प्रसारण दूरदर्शनबाट गरिने भएको छ ।

यसबारे धेरैको आपत्ति पनि छ । तर, आजको मेरो बिषय त्यस्तो आपत्ति हैन । यहाँ राम मन्दिर र यसको निहुँमा भएको राजनीतिबारे चर्चा गरिने छ ।

राम मन्दिरको मुद्दाले भाजपालाई शक्तिमा ल्याएको मात्र छैन, देशकै ठूलो पुरानो तथा ऐतिहासिक पार्टी कांग्रेसलाई खस्ताहालमा पुर्याएको छ । आज कांग्रेसको संसदमा ५० सीट पनि छैन । यसको एउटा ठूलो कारण राम मन्दिर नै हो । कांग्रेस कहिल्यै यो मुद्दामा प्रष्ट हुन सकेन । कांग्रेसले राम मन्दिरको मुद्दामा आफ्नो भनाई नै प्रष्ट पार्न सकेन ।

कांग्रेसले अयोध्यामा राम मन्दिर बन्नुपर्छ कि पर्दैन, भन्न सकेन । त्यसले उसको भोटको ठूलो हिस्सा काग्रेसबाट विमुुख हुुँदै गयो । देशको करिब ८० प्रतिशत हिस्सा कांग्रेसबाट टाढिन थाल्यो । हिन्दू जनमतबारे मौन बसेर आज कांग्रेसलाई आफ्नो राजनीतिक भबिष्य खोज्न निक्कै गाह्रो भइरहेको छ ।

आज कांग्रेस देशको हिन्दु जनमतलाई नयाँ ढंगले आफूतिर आकर्षित गर्न चाहन्छ । तर त्यसको ठीक बुझाई वा रणनीति के हुन्छ भन्ने बारेमा भ्रमहरु छन् । कांग्रेस यो ठान्दछ कि राम मन्दिर आन्दोलन र प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुनै सिधा सम्बन्ध छैन । मोदी राम मन्दिर आन्दोलनको फ्रन्टलाइनमा थिएनन् । उनी प्रधानमन्त्री भएको ६ वर्षमा एकपटक पनि अयोध्या पूजा गर्न गएनन् ।

जतिखेर राम मन्दिर आन्दोलनको लहर उत्कर्षमा थियो– त्यतिखेर लालकृष्ण अडवानीलाई ‘हिन्दू हृदयका सम्राट’ भनिन्थ्यो । अड्वानी आन्दोलनका अग्रणी नेता थिए । त्यसबाहेक मुरली मनोहर जोशी, उमा भारती, साध्वी रितम्बरा, विनय कटियार, अशोक सिंगल, मोरुपद पिंगले आदि त्यो आन्दोलनको नेता मानिन्थ्ये ।

यो सूची अझै लामो बनाउन सकिन्छ । तर जति नै लामो बनाए पनि त्यहाँ नरेन्द्र मोदीको नाम भेटिदैन । तर ध्यान दिनुपर्ने कुरा के छ भने जब लालकृष्ण आडवानीले गुजरातबाट रथयात्रा शुरुवात गरेका थिए, त्यसको मुख्य व्यवस्थापक तथा प्रबन्धकर्ता भने नरेन्द्र मोदी थिए । रथयात्राको कल्पना, रणनीति र योजना आरएसएसले बनाएको थियो । त्यसलाई भाजपामार्फत् लागू गरिएको थियो ।

कांग्रेसकोे यो सोच ठीकै हो कि मोदी फ्रन्टलाइनमा थिएनन् । साथै यो पनि उत्तिकै सहीको कि मोदीले राम मन्दिरबारे कुनै विवादास्पद अभिव्यक्ति दिएनन् । अर्को यथार्थ के हो भने जब भाजपामा मोदीको उदय भयो, उनले राम मन्दिर आन्दोलनका नेताहरुलाई एकपछि अर्को गर्दै किराना गरे ।

अड्वानी र जोशीलाई मार्गदर्शक मण्डलमा सीमित गरियो । उमा भारती राम मन्दिर आन्दोलनकी अर्की चर्चित नेतृ थिइन्, केही समय उनी मोदी सरकारको मन्त्री रहिन्, आज कहाँ छिन् कसैलाई थाहा छैन । विनय कटियार पूरै गायव छन् ।

ती सबै व्यक्ति जो राम मन्दिर आन्दोलनका अग्रमोर्चाका नेता थिए, आज भाजपा राजनीतिबाट गायब जस्तै छन् । मोदी प्रधानमन्त्री भएसँगै उनीहरु किनारामा धकेलिएका छन् । यसको रहस्य पनि कांग्रेसले ठीक ढंगले ठम्याउन सकिरहेको छैन ।

अर्को कुरा– जब सन् २०१९ मा संसदकोे चुनाव हुनेवाला थियो, त्यसअघि केही प्रदेशहरुको विधानसभा निर्वाचन थियो । त्यो समय आरएसएस र भाजपाबाटै राम मन्दिरबारे संसदमा विशेष विल पास गर्न मोदीमाथि दबाब थियो । त्यतिखेर उनले जबसम्म सर्वोच्च अदालतको फैसला आउँदैन, यसबारे बोल्नु हुँदैन भनेर सबैैलाई विश्वासमा लिएका थिए ।

कांग्रेसमा यसबारेको चिन्ता आजको हैन । लामो समयदेखि कांग्रेसमा यो धारणा थियो कि जब बाबरी मस्जिद ढल्यो, तब हिन्दू मात्र हैन, मुस्लिम भोट पनि कांग्रेसबाट टाढा थियो । त्यतिखेर कांग्रेसको सरकार थियो । पीवी नरसिम्ह राव प्रधानमन्त्री थिए । प्रधानमन्त्री रावको सरकारले त्यो घटना रोक्न राम्रो पहल नगरेको कांग्रेसको बुझाई रह्योे । त्यही कारण थियो पदबाट हटेपछि रावलाई काँग्रेसले राम्ररी सम्झिएन ।

रावमाथि आरोप थियो कि जब बाबरी मस्जिद ढल्दै थियो राव आफ्नो कोठामा मस्त सुतेका थिए । रावलाई कांग्रेससँग जोडेर गरिने स्मरणले कांग्रेसको छवि झनै बिग्रने कांगेसीहरुको डर थियो । कांग्रेसले अझै पनि रावलाई राम्ररी सम्झिदैन । त्यति इज्जत दिँदैन, जति इज्जतको हकदार उनी हुन । रावले आफ्नो किताबमा आफूबारे कांग्रेसको सोचलाई आफै चित्रण गरेका छन । उनले भनेका छन्, ‘बाबरी मस्जिद काण्ड र त्यसबारे मेरो सरकारको भूमिकाले कांग्रेसलाई फाइदा भयो वा बेफाइदा भयो त्योे इतिहासले नै मूल्यांकन गर्ला ।’

आज राव छैनन् । तर कांग्रेसले उनको स्मरण शुरुवात गरेको छ । तर रावले शुरुवात गरेको आर्थिक उदारीकरण कार्यक्रमको २९ औं वर्षगाँठमा तेलङगानामा भएको एक कार्यक्रमका लागि सोनिया गान्धीले रावको प्रसंशा गर्दै प्रदेश अध्यक्ष उत्तम कुमार रेड्डीलाई पत्र लेखिन् । यसले कांग्रेसमा आएको परिवर्तनको संकेत गर्दछ । राव मर्दा कांग्रेस उनको दाहसंस्कार समेत दिल्लीमा नभएर हैदरावादमा होस् भन्ने चाहन्थ्यो ।

कांग्रेसले लामो समयसम्म यो दाबी गर्दै आयो कि राम मन्दिरको इतिहासमा कांग्रेसको भूमिका कम छैन । वरिष्ठ हेमन्त शर्माको एक किताब छ– युद्धमा अयोध्या । राम मन्दिरको इतिहास र संघर्ष बुझ्न यो निक्कै राम्रो किताब छ । यसको पेज १८ मा हेमन्त शर्माले त्यही लेखेका छन्, जो आज कांग्रेसी नेताहरु सोच्दछन् । शर्मा लेख्छन्, ‘यो धारणा गलत हो कि राम मन्दिर निर्माणका लागि भजपा वा जनसंघले मात्र यो लडाईं लड्यो । यो पूरै विवाद र आन्दोलनको पछाडि कांग्रेस बलिया गरी उभिएको छ ।’

आशुतोष

शर्मा अगाडि लेख्छन्, ‘राम मन्दिर विवादको पछिल्लो श्रृंखला सन् १९४९ डिसेम्बर २३ को रातबाट शुरुवात भयो । त्यो रात विवादित स्थलमा मूर्ति प्रकट भयो वा गराइयो । सँगसँगै धार्मिक तथा साम्प्रदायिक लहरको वेग बग्न थाल्यो । मानिसले त्यहाँ पुजा गर्न थाले । त्यतिखेरै कांग्रेसका मुख्यमन्त्री गोविन्दबल्लभ पन्तले त्यो वेग सामु घुँडा टेके । सन् १९८६ मा प्रधानमन्त्री राजिव गान्धीको इच्छाले नै मन्दिरको ताला खोलिएको थियो । सन् १९८९ मा राजीव गान्धी सरकारका गृहमन्त्री बुटा सिंह र मुख्यमन्त्री नारायणदत्त त्रिपाठीले नै मन्दिरको शिलान्यास गरेका थिए ।’

यो वर्षको चुनावी अभियानको शुरुवात राजिब गान्धीले अयोध्याबाट नै गरेका थिए । यसले प्रष्ट पार्दछ कि कांग्रेस मन्दिरकै पक्षमा थियो । स्वतन्त्रताकै समयदेखि कांग्रेस मन्दिर पक्षधर पार्टीको रुपमा थियो । त्योे समय जनसंघ वा भाजपा खासै दृष्यमा थिएन । र त्यसपछि यस्ता क्षणहरु आए यो मुद्दा भाजपाले कांग्रेसबाट खोस्यो । सन् १९९२ मा जब बाबरी मस्दिज ढल्यो, त्यतिखेर कांंग्रेस कै सरकार थियो । कांग्रेस सरकारले मस्जिद नढलोस् भनेर कुनै कडा सुरक्षा कार्बाही गरेन ।

आज कांग्रेसकै एउटा समूहले यी तथ्यहरु उजागर गरिरहेको छ । उनीहरु भन्दैछन् कि मन्दिरको जस किन भाजपलालाई मात्र दिने ? अझ कतिपयको यो भनाई छ कि राहुल गान्धी र उद्धव ठाकरेले अयोध्याको एक संयुक्त यात्रा गरी राम मन्दिर स्थलको दर्शन र पुजा गर्नु राम्रो हुन्छ ।

गत गुजरात विधानसभा निर्वाचन ताका राहुलले आफूलाई हिन्दू देखाउन नयाँरुपमा प्रकट भए । उनी जनै देखाउँदै मन्दिर मन्दिर पुजा गर्न गए । उनले आफूलाई हिन्दू ब्राह्मण सावित गर्न खोजे । हिन्दुत्वप्रति मेरो आस्था छ केवल राजनीतिकरुपले मात्र आफू सेक्युलर भएको दाबी गरे । राहुलको यो कदमले गुजरातमा मोदीलाई फेरि भाजपा सरकार सत्तामा ल्याउन हम्मेहम्मे पर्‍यो ।

फेरि कर्नाटका र मध्यप्रदेशमा पनि भाजपाले सरकार बनाउन सकेन । राजस्थान र छतिसगढमा पनि कांग्रेसले जित्यो । कांग्रेसको छवि हिन्दू विरोधी मुस्लिम परस्तजस्तो बनेको थियो, त्यसमा सुधार आयो । त्यो भिन्नै कुरा हो कि त्यसपछिको लोकसभा निर्वाचनमा कांग्रेसको नतिजा राम्रो आएन । तर, हरियाण, झारखण्डलगायत धेरै प्रदेशमा स्थिति सुधार भयो ।

तसर्थ, अगष्ट ५ को भूमिपुजन तथा राम मन्दिर शिलान्यास कार्यक्रम जस एक्लै भाजपा र नरेन्द्र मोदीलाई दिनु सायद उचित छैन । कांग्रेसको एउटा तप्का जो भन्दैछ कि त्यस अघि नै राहुल गान्धी र उद्धव ठाकरे अयोध्या जानु र पुजा गर्नु उचित हुन्छ, सायद त्यो कांग्रेसको हितमा नै हुन्छ ।

तर, राजनीति कुनै श्वेत श्याम खेल भने हैन । भन्न सकिन्न के हुन्छ ? तर राम मन्दिर मुद्दालाई भाजपाको एकलौटी मुद्दा बन्न दिनु कांग्रेसका हितमा भने नहुने प्रष्ट छ ।

(सत्यहिन्दी डटकम भावानुवाद गरिएको)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय