scheduleमगलवार आश्विन ६ गते, २०७७

सिरी ए फुटबल : इन्टर मिलान र एट्लान्टाको जीत

काठमाडौं, १४ साउन । सिरी ए फुटबलअन्तर्गत मंगलबार राति सम्पन्‍न खेलमा इन्टर मिलान र एट्लान्टाले आ आफ्नो खेलमा जीत हात पारेका छन् । इन्टरले नेपोलीलाइ तथा एट्लान्टाले पार्मालाइ हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा इन्टरले नेपोलीविरुद्ध २-० को जीत दर्ता गर्ने क्रममा डेनिलो डि एम्ब्रोसियो र लाउतारो मार्टिनेजले एकएक गोल गरेका थिए । खेलको ११औं मिनेटमा डि एम्ब्रोसियोले गोल गर्दै खेलमा इन्टरलाइ अग्रता दिलाएका थिए । दोस्रो हाफको ७४औं मिनेटमा लाउतारोले गोल थपेपछि इन्टरको अग्रता दोब्बर बनेको थियो ।

जीतसँगै इन्टरको ३७ खेलबाट ७९ अंक भएको छ र अंकतालिकाको दोस्रो स्थानमा यथावत् छ । उपाधि भने युभेन्ट्सले जित्‍ने पक्का भइसकेको छ । एक खेल कम खेलेको युभेन्ट्सको ८३ अंक छ । इन्टरसँग पराजित भएको नेपोलीको ३७ खेलबाट ५९ अंक छ र तालिकाको सातौं स्थानमा यथावत् छ ।

एट्लान्टा पनि दोस्रो स्थान हासिल गर्न प्रयासरत

सिरी ए कै अर्को खेलमा एट्लान्टाले पार्मा माथि २-१ को जीत दर्ता गरेको छ । पार्माकै मैदानमा १ ० ले पछि परेको अवस्था उल्टाउँदै एट्लान्टाले खेल जित्‍न सफल भएको हो ।

खेलको ४३औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै पार्मालाइ अग्रता दिलाएका थिए । पहिलो हाफमा १ ० ले पछि परेको एट्लान्टाका लागि ७०औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले बराबरी गोल फर्काए । ८४औं मिनेटमा डारियो गोमेजले अर्को गोल थपेपछि एट्लान्टाले अग्रता लिएको थियो र त्यसपछि कुनै गोल नहुँदा खेल एट्लान्टाको पक्षमा पर्‍यो ।

जीतसँगै एट्लान्टाको ७८ अंक भएको छ र तालिकाको तेस्रो स्थानमा यथावत् छ । एट्लान्टा दोस्रो स्थानको इन्टरभन्दा एक अंकले पछाडि छ । पराजित पार्माको ४६ अंक छ तालिकाको एघारौं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय