scheduleशुक्रवार आश्विन १ गते, २०७८

युवा नेताको प्रश्न- तपाईंलाई लाज लाग्दैन, वामदेवको स्पष्टीकरणः ओली होइन, पार्टी बोकेको हुँ

काठमाडौं, १४ साउन । गुट फेरेको फेरै गरेपछि वामदेव गौतमको छवि अस्थिर र अडान नभएको भन्ने छ । पछिल्लो समय नेकपा विवाद लम्बिनुमा गौतमजस्ता नेताहरुको भूमिका पनि छ ।

कुनैबेला नेकपा एमालेले संसदमा मतदान नगर्दा रामचन्द्र पौडेल दर्जनौं प्रयासका बावजुद पनि प्रधानमन्त्री बन्न सकेनन् । अहिले गौतमलगायत केही नेताहरुको भूमिकाका कारण नेकपा न फुट्ने, न जुट्ने अवस्थामा अड्किएको छ ।

यस्तै बुझाईका साथ बुधबार बिहान नेकपाका युवा नेताहरुको एउटा समूह आक्रोश बोकेर गौतम निवास भैंसेपाटी पुगे । रामकुमारी झाँक्री, ठाकुर गैरे, डा.दीपप्रकाश भट्ट, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धर लगायतका नेताहरु भैंसेपाटी पुगेका हुन् ।

उनीहरुले वामदेवलाई अगाडि राखेर ‘जीवनभर धोका दिने पात्रलाई अझै बोकेर हिंड्ने, तपाईंलाई त लाज लाग्नुपर्ने हो’ भन्दै आक्रोश पोखे ।

नेताहरु जति जंगिए पनि, झर्किए पनि वामदेव टस न मस भए । चर्काचर्की यो स्तरसम्म पुग्यो कि ‘भो–भो, तपाईंहरुलाई जे लाग्छ, त्यहीअनुसार चल्नुस् । मलाई यही लाग्यो, मैले यही गरेँ’ भन्दै वामदेव झर्किनु नै पर्‍यो ।

गौतमको जवाफ थियो, ‘मैले तपाईंहरुले जस्तो नेता बोकेको होइन, पार्टी बोकेको हुँ । तपाईंहरु पनि आन्दोलन जोगाउने हो भने गुटको नेता होइन, मैले जस्तै पार्टी बोक्नुस् ।’

वामदेवको तर्कले युवा नेतानेतृहरुको चित्त बुझेन । उनीहरुले पछिल्लो कदमबाट फिर्ता हुन आग्रह गरिरहे । वामदेव टस न मस भइरहे ।

वामदेव झर्किए पनि ती युवाहरु उनलाई जंगिएर प्रश्न सोध्ने अवस्थामा थिए किनकी ०५४ मा गौतमले माले बनाउँदा सहयात्री बनेका युवाहरु पनि उक्त समूहमा थिए ।

ठाकुर गैरेले वामदेवलाई राजनीतिक धार स्पष्ट गर्न र एउटै धारमा हिंड्न आग्रह नै गरे । उनले भने, ‘तपाईं एउटै धारमा हिंड्नुस् । तपाईंलाई म जीवनभर साथ दिन्छु ।’

कतिपय नेताले वामदेवलाई सक्कली राष्ट्रवादी भन्दै अहिलेका ‘नक्कली राष्ट्रवादी’सँग नमिसिन आग्रह गरे ।

तर, वामदेवले भने अन्तिमसम्म आफ्नो ६ बुँदे प्रस्तावको पक्षमा तर्क गरिरहे । उनले छमध्ये एक प्रस्ताव मात्रै ओलीको पक्षमा भए पनि अरु सबै प्रचण्ड-नेपाल समूहकै पक्षमा रहेको स्पष्टीकरण दिए । उनको आग्रह थियो, ‘युवा साथीहरु पनि नेताहरुको व्यवस्थापनभन्दा बढी पार्टी र आन्दोलनको व्यवस्थापनमा लाग्नुहोस् । गुटबन्दी गरेर हिंड्न छाड्नुहोस् ।’

उनले यसअघि ओलीलाई बोकेर भयंकर ठूलो गल्ती गरेको स्वीकारे तर अहिलेको ‘गल्ती’चाहिँ ओली भन्दा पार्टी बचाउन गरेको भन्दै आफ्नो कदमको बचाउमा लागे ।

युवाहरुले बाहिर अर्कै सन्देश गएको भन्दै वामदेवको कदमविरुद्ध आगो ओकलिरहे । उनीहरुको ठहर थियो, ‘तपाईंले पुनः ओलीको लात खानुहुन्छ । हाम्रो कुरा सुन्नुस् ।’

तर, वामदेव यति दृढ देखिए कि लात र बात खाएर पनि पार्टी जोगाउँछु भन्न छाडेनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय