scheduleबुधवार मंसिर १७ गते, २०७७

ओली-दाहाललाई यी कुराको हेक्का छ ?

साझापोस्ट टिप्पणी

काठमाडौं, १५ साउन । सबैलाई थाहा थियो– सत्तारुढ नेकपाको आन्तरिक पार्टी जीवन सहज थिएन । फरक पृष्ठभूमि, मनोविज्ञान, विचार र एजेण्डा भएका दुई ठूला कम्युनिष्ट पार्टी ‘कम्युनिष्ट’ नाम मिलेबापत् चुनावको मुखमा एक भएका थिए ।

तर, यो एकताको अन्तर्य भने सत्ता थियो । चुनाव जित्ने र सत्तामा जाने आकांक्षाको दहमा चुर्लुम्म डुबेका दुई अध्यक्षहरुले धेरैलाई थाहा पनि नदिइकन सत्ता आधाआधा समय आलोपालो गर्ने लिखित सम्झौता गरेका थिए । गोप्य भनिएको त्यो तमसुक धेरै दिन गोप्य रहन सकेन । सत्ताको आकांक्षाले धैर्यताको सीमा गुमाउँदै गएका दहालले त्यसलाई समय अगावै सार्वजनिक गरिदिए ।

ओली सरकारको नैतिक तथा राजनीतिक संकट त्यहीनेरबाट शुरुवात भइसकेको थियो । ओली–दाहाल गुट संघर्षमा आ-आफ्नै भनाई र दाबी होलान् । ओली र दाहालको आलोपालो ‘खाने’ खेल जनताका लागि बेमतलबको कुरा थियो । ओलीले खाए पनि दाहालले खाए पनि जनताले यही रमिता हेर्नु बाहेक अरु केही थिएन ।

तर, ओलीले आफैंले हस्ताक्षर गरेको आलोपालोको सम्झौता लागू नगर्ने मनसाय व्यक्त गरे । त्यसले अर्का अध्यक्ष दाहाललाई हदैैसम्म अक्रोशित बनाउँदै लग्यो । झुठो सम्झौता गर्नु, ढाँट्नु, अलमल्याउनु, घुमाउनु र आफू सफल भएको आत्मरति गर्नु नेपाली राजनीतिको गज्जब परम्परा हो ।

ओलीले दाहालसँग त्यस्तो सम्झौता गर्नु उचित थियो कि थिएन, त्यो भिन्नै मूल्यांकनको बिषय हो । यथार्थमा त्यो कुनै वाञ्छित सम्झौता थिएन । विचार, एजेण्डा र कार्र्यक्रमको प्रश्नलाई बिल्कुल बेवास्ता गर्दै फरक धाारका पार्टी आधा कार्यकाल प्रधानमन्त्री हुनकै लागि एकता गर्नु जिम्मेवार राजनीति र नैतिक मानकमा सही हुनै सक्दैनथ्यो । तर सम्झौता गरि नै सकेपछि पालना गर्नु सायद ओलीको पनि नैतिक कर्तव्य हुन्थ्यो ।

माओवादी पार्टी र आन्दोलनभित्र किरण, बाबुराम, गजुरेल, विप्लव आदि सबैलाई झुक्याउन र घुमाउन सक्ने छवि बनाएका दाहालको मनमा ओलीलाई पनि घुमाउन सक्छु भन्ने आत्मविश्वास थियो होला । तर यसपाली दाहाल ‘चोरमाथि चण्डाल’ को फेला परे । त्यतिखरै धेरैले ओली–दाहाल सम्बन्धलाई ‘घ्यु बेचुवा र तलवार बेचुवा’ को कारोबारजस्तो भन्न भ्याइसकेका थिए । आखिर त्यही भयो । ओलीले दाहाललाई ढाँटे । दाहाललाई फनफनी घुमाई दिए ।

नेकपाको पार्टी जीवन सहज हुँदैन भन्ने अनुमान त्यतिखेरै सबैलाई भइसकेको थियो, जब आलोेपालो सम्झौता खारेज भएको घोषणा गर्न दाहाललाई बाध्य पारिएको थियो । त्यसबापत ओलीले ‘कार्यकारी अध्यक्ष’ को ललीपप दाहाललाई दिए । ललीपपमा केहीबेर बच्चा भुलेजस्तो केही दिन दाहाल भूले । तर यो वचन पनि ओलीले पुरा गरेनन् । उनले एक नम्बर अध्यक्षको भूमिकामा कमी ल्याउने कुनै संकेत दिएनन् ।

दाहाल मात्र हैन, ओलीले ढाँट्न बाँकी मूल नेकपा नेता कोही बाँकी थिएन । झलनाथ खनाललाई उनले नवौं महाधिवेशनमा ‘राष्ट्रपति’ बनाउँछु भनेर ढाँटी सकेका थिए । वामदेव कहिले बिशेष प्राधिकारको अध्यक्ष, कहिले उपनिर्वाचनबाट सांसद हुँदै प्रधानमन्त्री र कहिले आगामी महाधिवेशनको अध्यक्ष भन्दै ढाँटिए ।

सधैं अरुलाई ढाँट्दै आएकाहरु स्वयम् ओलीबाट ढाँटिनु सजिलै सहन सक्ने कुरा थिएन । ढाँटिएकाहरुको गठबन्धनले जब माधव नेपालको साथ पायो, ओली विरोधी मोर्चा निक्कै बलियो भयो । दुई तिहाईको दम्भले शासन गरिरहेका ओलीको अनुहारको कान्ति त्यतिखेर मुर्झाउँन थाल्यो, जब उनले देखेका कि पार्टीमा सबै निकायमा उनी अल्पमतमा छन । स्थायी समिति, केन्द्रिय समिति र संसदीय दल तीनवटै महत्वपूर्ण निकायमा ओली अल्पमतमा पर्ने प्रष्ट देखियो ।

नेकपा अन्तर्संघर्ष गत वैशाख ८ बाट नयाँ उत्कर्षमा पुगेको थियो । ओलीले हठात् दल विभाजन सहज बनाउने अध्यादेश ल्याएसँगै सबै रन्थनाए । निक्कै ठूलो दवाबपछि ओलीले अध्यादेश फिर्ता त गरे तर कुनै आत्मआलोचना वा पश्चाताप भने गरेनन् । ओलीको जब्बर स्वभाव त्यतिखेरै झनै धेरै प्रकट भइसकेको थियो । उनी जस्तै निम्नकोटीका घटनापछि पनि केही नभएजस्तो नाटक गर्न र आफूलाई सहिसलामत देखाउन आदती भइसकका थिए ।

पार्टी विधान, सिद्धान्त, विधि र प्रक्रियाप्रतिको विश्वास ओलीले गुमाइसकेका थिए । स्थायी समितिको २० जना सदस्यले बैठक बोलाउन आग्रह गर्दा पनि उनले दुई महिना बढी समय बैठक नै नबोलाई टारी दिए । गत असार १८ बाट बैठक शुरु भयो भनियो । ८ औं पटक बैठक स्थगन भयो । ओली आफैं आफैंले बोलाएको बैठकमा अनुपस्थित हुन थाले । अरुले ओली विनाको बैठक गरेर कुनै निर्णय गर्ने र ओलीलाई निर्देशन दिने आँट गरेनन् ।

नेकपाको संस्थागत प्रक्रिया सम्पूर्णतः मृतप्रायः बन्यो । नैतिक प्रश्नहरु अनुत्तरित रहे । विपक्षी वा आम नागरिकलाई भन्नु पर्ने, सुनाउनु पर्ने कुनै कुुरा बाँकी रहेन । यहाँसम्म कि आफ्नै पार्टीका कार्यकर्ताको एउटा ठूलो पंक्तिले नेतृत्वको निरन्तर आलोचना गरिरह्यो । अहिले एक चौथाई केन्द्रीय समिति सदस्यले बैठक बोलाउन आग्रह गरेका छन् । सायद केन्द्रीय समिति बैठक पनि ओलीले सजिलै बोलाउने छैनन् ।

यही स्थितिमा ४ महिना बित्यो, तर सवाल जहिँको त्यही छ । सत्तारुढ दलको अनिर्णय र अनिश्चितताले शासनप्रशासनमा ठूलो असर परेको छ । देश कोरोना र आर्थिक संकटको चरम निराशाजनक अवस्थाबाट गुज्रिरहेको छ । कुटनीतिक सम्बन्धहरु झनझन जटिल हुँदै गइरहेका छन् । जे प्राथमिकताका बिषय हुन्, त्यतातिर कसैको ध्यान र चासो छैन । सत्तारुढ दल र सरकारलाई देश र जनताको केही मतलब नभएजस्तो छ । जताबाट नापे पनि, जताबाट आँके पनि राष्ट्रिय जीवन निराशाजनक र गतिहिन भएको छ ।

लोकततान्त्रिक राजनीतिमा नेतृत्वको होड, गुटबन्दी वा सत्तास्वार्थ कुनै नयाँ कुरा हैन । यस्तो नेपालको नेकपामा मात्र देखिएको पनि हैन । संसारका सबै देशमा, सबै कालखण्डमा, सबै पार्टीमा यस्ता केही घटना हुन्छन् । तर, त्यसलाई हल गर्ने विधि र प्रक्रिया पनि हुन्छ । विधि, पद्धति र प्रक्रियाका सबै ढोकाहरु बन्द गरेर अन्यहीन गतिरोधको शिकार हुनु निर्लज्जताको पराकाष्ठा हो ।

यो निर्लज्जता ओलीको निर्जज्जता मात्र हैन, दलीय प्रणाली र लोकतन्त्रकै लागि निर्लज्जता हो । नेकपा र यसका मूल नेताहरुको हर्कतले आज सिंगो देश, जनता र नेपाललाई नियालिरहेको विश्व समुदायले मुख छोप्नुपर्ने अवस्था आएको छ । आखिर नेकपा नेताहरु किन यो स्तरको निर्लज्जतामा ओर्लिए ? यसको उत्तर अहिले कसैले दिन नसके पनि समयले अवश्य माग्ने छ ।

उपल्ला राजनेता वा राजनीतिज्ञहरुको वास्तविक मूल्यांकन उसको मृत्युपछि इतिहासले गर्दछ । उसका आसेपासे, नोकरचाकरको चन्डाल चौकडीले जतिसुकै जयकार गरे पनि हुने केही हैन । आज बीपी, पुष्पलाल, गणेशमान, किशुनजी र मनमोहनजीको स्थान कहाँ छ र अरु कतिपय नेताहरुप्रति जनताको भित्री हृदयको भावना कस्तो छ, सबैलाई थाहा छ ।

अनेक ताल, तिकडम र षडयन्त्र गरेर प्रधानमन्त्री हुन् र दुईचार दिन कार्यकाल लम्ब्याउनु राजनीतिक सफलता हैन । सूर्यबहादुर थापा कतिपटक प्रधानमन्त्री भए, हिसाब गर्न गाह्रो छ । एक पटक मात्र प्रधानमन्त्री भएका बीपीसँग उनको कुनै तुलना हुन सक्दैन । ठीक त्यसै गरी चारपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा र जीवनमा एकपटक पनि प्रधानमन्त्री नभएका गणेशमान सिंहबीच कुनै तुुलना हुन सक्दैन ।

जतिपटक र जतिधेरै समय प्रधानमन्त्री भए पनि अहिलेका नेकपा नेताहरु पुष्पलाल, मनमोहन र मदन भण्डारीसँग तुलनायोग्य हुने छैनन् । ओलीसँग त त्यो सम्भावना कहिल्यै थिएन तर प्रचण्डसँग थियो । दाहालले एक कष्टसाध्य र अकल्पनीय सशस्त्र संघर्षबाट नेपाली समाजको रुढतालाई चौतर्फीरुपमा हल्लाएर देशलाई गणतन्त्रसम्म पुर्‍याएकै हुन् । दाहालको यो योगदान इतिहासले पक्कै बिर्सिने छैन । ओलीले त त्यही गणतन्त्रलाई पनि ‘बयलगाढाको अमेरिका यात्रा’ भन्ने भन्ने सबैलाई स्मरण छ ।

तर, दाहालमा पनि अब त्यो ओज, कान्ति, आकर्षण र गुरुत्व रहेन ।

उनी हेर्दाहेर्दै एक बबुरोजस्तो, सिंहबाट रातारात स्याल बन्न पुगेको मजाकको पात्रजस्तो प्रतित हुन थालेका छन् । पहिलो संविधानसभाको निर्वाचनसम्म दाहालको वाणीले जुन बिम्बहरु सिर्जना गर्थे, आज उनका लुरे नियोराहरुले तिनै बिम्बहरुलाई खण्डित गर्दैछन् ।

दोस्रो संविधानसभा निर्वाचनमा दाहालको भन्दा ओलीको पार्टी ठूलो हुनुका अनेक कारण थिए । त्यसका वस्तुगत कारण पनि थिए र आत्मगत पनि । ठीक त्यस्तै हार पहिलो संविधानसभा निर्वाचनमा ओलीको पार्टीले बेहोरेको थियो । तर, ओली त्यसपछि झनझन आक्रमक भए । तर एउटा निर्वाचनको पराजयले नै दाहालको क्रान्तिकारिता भदौरे घामको रापमा परेको कर्कलाको पातजस्तो फत्याक फुतुक्क गल्यो ।

त्यही निराशाको पिँधबाट दाहालले ओलीजस्तो विपरित पात्र, चरित्र र एजेण्डासँग पार्टी एकीकरण गरे । दाहालभित्रकोे प्रचण्ड त्यही समाप्त भइसकेको थियो । त्यतिखेरै यो पार्टी एकता हैन, एमालेमा माओवादी धारको विलय हो, ओलीमा प्रचण्डको आत्मसमर्पण धेरैले भनेकै थिए । आज त्यही पुष्टि भयो ।

हेप्नु त हेप्नु ओलीले प्रचण्डलाई यतिसम्म हेपे कि आलोपालोको तमसुक चुक्ता नगरी च्याती दिए । अब आफूसँग भएको बहुमत पनि बैठक राखेर प्रयोग गर्न नपाउने अवस्थामा प्रचण्ड पुगे । ओलीले आफ्नो सहजता अध्यादेश ल्याएर पार्टी फुटाउने डेमोकल्सको तरबार दाहालको घाँटीमाथि झुन्ड्याइ दिएका छन् । त्यसैले बाँकी सबैलाई निरह बनाए दिएको । आफ्नै कमरेडहरुको निरिहता र विवशताको दृष्य हेरेर ओली मन भित्रभित्रै मुसुमुसु हाँसिरहेका छन् ।

प्रचण्डको यो विवशताले प्रष्ट गर्दछ कि राजनीतिमा जति नै कमजोर भए पनि विजातीय तत्व, चिन्तन, पात्र र प्रवृति सामु आत्मसमर्पण गर्नु हुँदैन ।

तर, ओलीको पक्षबाट हेर्दा पनि यी घटनाक्रम कुनै बहादुरी, पराक्रम वा नैतिक हैनन् । ढाँट, छल र झुठको राजनीति कतिन्जेल चल्ला ? यो स्तरको नैतिक स्खलनबाट ओलीले के उपलब्धि हासिल गर्लान् वा उनको आत्माले कस्तो सन्तुष्टि प्राप्त गर्ला र ? ओेलीका लागि दुईचार महिना प्रधाममन्त्रीको कुर्सीमा बस्ने अवधि लम्ब्याउनु नै सबैथोक हो त ? भोलि इतिहासले के भन्ला ?

उनलाई हेक्का हुनु नहुने भिन्नै कुरा तर उनको व्यक्तित्व दिनप्रतिदन स्खलित हुँदै गएको छ । हिजो निर्वाचन ताका उनलाई हेर्ने दृष्टि र आज उनीप्रतिको सर्वसाधारणको धारणामा आकाश जमिनको भिन्नता आइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay