एकदिवसीय श्रृंखलामा इंग्ल्यान्डको सुखद सुरुवात
काठमाडौं, १६ साउन । आयरल्यान्डसँगको एकदिवसीय श्रृंखलामा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । साउथह्याम्पटनमा सम्पन्न पहिलो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको हो ।
आइसिसी क्रिकेट सुपर लिगको समेत सुरुवाती मानिएको उक्त खेलमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले खराब सुरुवात गरेर पनि केही सम्मानजनक योगफल खडा गरेको थियो । २९ रन बनाउँदा नै आधा टिम गुमाइसकेको आयरल्यान्डका लागि केभिन ओ ब्राइन, कर्टिस क्याम्फर र एन्डि माकबिर्नले इनिङ सम्हाल्दै अगाडि बढेपछि आयरल्यान्डले ४४.३ ओभरमा नै अलआउट हुँदै १७२ रन बनायो । उसका कर्टिस क्याम्फरले अविजित ५९ रन बनाए भने माकबिर्नले ४० रनको योगदान दिए । इंग्ल्यान्डका लागि डेभिड विलीले पाँच विकेट लिए ।
१७३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले २७.४ ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाउँदै खेल जित्न सफल रह्यो । उसका लागि साम बिलिङ्सले अविजित ६७ तथा कप्तान इयान मोर्गानले अविजित ३६ रनको योगदान दिए । आयरल्यान्डका क्रेग योङले २ तथा एन्डि माकबिर्न र कर्टिस क्याम्फरले एकएक विकेट लिए ।
जीतसँगै तीन खेलको श्रृंखलामा इंग्ल्यान्डले १-० को अग्रता बनाएको छ ।