scheduleमगलवार श्रावण २० गते, २०७७

तानाशाहको बाटोमा कमरेड

रुद्रप्रसाद भट्ट

जनतालाई तानाशाह शब्द त्यति प्रिय लाग्दैन । त्यसो त तानाशाहलाई पनि जनताको शक्ति त्यति मन पर्दैन । शासकहरु जब तानाशाहको रुपमा बदलिन्छन्, उनीहरुको व्यवहार नै क्रुर, हिंस्रक र जनविरोधी देखिन थाल्छ । उनीहरु जनताको कुरा सुन्न चाहँदैनन् ।

तानाशाहहरु विभिन्न अवतारमा जन्मिन्छन् । क्रान्तिकारी, प्रगतीशील, जनवादी, समाजवादी शब्द जोडरे उनीहरु आफ्नो फासीवादी चरित्र छोप्न चाहन्छन् । हामीले संसारभरीका तानाशाहीहरुको चरित्र पढ्यौं भने उनीहरुको जन्म कसरी सामान्यरुपमा भइरहेको हुन्छ र जनता र देशले भयंकर क्षति व्यहोर्नुपर्ने हुन्छ भन्ने प्रष्ट हुन्छ ।

सन् २०१६ पछाडि विश्वका धेरै देशमा तानाशाहको उदय भएको र धेरै प्रगतीशील भन्नेहरु पनि सत्तामा आएको देखियो । खासगरी पश्चिम र मध्यपूर्वी देशमा बेला बेला तानाशाह र प्रगतीशील वा क्रान्तिकारी भन्ने शासकको उदय भयो । ती कोही कम्युनिष्टका नाममा उदय, कोहि धर्म, जात र व्यक्तिगत महत्वाकांक्षाले शासन सत्तामा पुगे ।

रुद्रप्रसाद भट्ट

हिट्लर, स्टालिन वा सद्दाम हुसेन र मोहम्मद गद्दाफीको उदय शुरुमै तानाशाहको रुपमा भएको होईन ।

आफुलाई जनताको प्रिय शक्तिशाली र जनपक्षीय नेता वा शासक भनेर नै उदाएका उनीहरु समयक्रमसँगै तानाशाह बनेका हुन् । व्यक्तिगत महत्वकांक्षा बढ्दै गएपछि सत्ताको चरम दुरुपयोग गर्दै जनता केहि होईनन् र म नै सबैथोक हुँ भन्ने भ्रमले उनीहरु संसारका क्रुर तानाशाह बनेर गए । उनीहरुको उदय जति अस्वभाविक थियो, मृत्यु पनि स्वभाविक भएन ।

फासीवादी चरित्रका तानाशाहले बाँचुन्जेल संसार मेरै मुठ्ठीमा छ, सबैले मेरो क्षमताको प्रशंसा गरिरहेका छन्, जनता केहि बुझ्दैनन् यिनलाई मैले जे गरेपनि हुन्छ भन्ने नै सोच्दछन् । तर, संसार जितेको छु भन्नेको मृत्युमा आँसु बगाउने कोहि हुन्न ।

सायद आजको दुनियाँमा पनि सि चीङ पिङ, डोलाल्ड ट्रम्प वा नरेन्द्र मोदीको सोंच पनि नरम तानाशाह बन्ने नै छ । कट्टरपन्थी र नरमपन्थीको परिभाषा गर्ने नेताहरु आफुलाई कहिल्यै खराब, अलोकप्रिय र नजान्ने ठान्दैनन् । महत्वकांक्षी, घमण्डी र जड प्रवृत्तिबाट उनीहरु पनि टाढा छैनन् ।

विश्वका कुरालाई छाडेर हाम्रोमा हेर्‍यौं भने यतिबेला कम्युनिष्टका नेता खड्गप्रसाद ओली अर्थात् केपी शर्मा ओली शासन सत्तामा छन् । विश्का सबै तानाशाहको उदय र अन्त्यलाई नजिकबाट बुझेका, पढेका ओली मार्क्स, लेनिन, एंगेल्स, स्टालिन र माओत्सेतुङको कम्युनिष्ट विचारबाट प्रभावित छु भन्छन् । पुष्पलालदेखि मदन भण्डारीसम्मको विचारलाई मैले मात्रै बोक्न सक्छु भन्ने ओली चरित्र अहिले ठ्याक्कै हिट्लर, गद्दाफी र सद्दामको भन्दा कम छैन ।

सभामुखलाई एक वचन नसोधी संसद स्थगित गर्नेदेखि दल फुटाउने विधेयकसम्म ल्याएर आफू अनुकूल व्याख्या गर्दै ओलीले लोकतन्त्रलाई कुण्ठित गरिरहेका छन् भने अर्कोतिर पार्टीभित्रको लोकतन्त्रलाई कोमामा थन्क्याएका छन् ।

कम्युनिष्ट भएपछि बोली र व्यवहार एउटै हुनुपर्छ, जनतालाई ढाँट्न हुन्न, भ्रष्टलाई साथ दिन हुन्न र पार्टीको सिद्धान्त र विचारलाई प्रधान मानेर हिँड्नुपर्छ भन्ने कुरा उनले बिर्सेका हुन् वा अटेर गरेका हुन ? यसको जवाफ समयक्रममा आउला ।

तर, ओलीको बोली र व्यवहार न त कम्युनिष्ट चरित्रसँग मिल्न सक्छ न फाँसीवादी चरित्रसँग मिल्छ । उनको सत्ता सञ्चालन विधि न एकदलीय चरित्रसँग मिल्छ न संसदीय चरित्रसँग । एकदलीय चरित्र देखाउन खोजेको भए उनको पार्टी नेकपा एकदलीय होईन बहुदलीय संसदीय व्यवस्था अनुसार संसदमा रहेको ठूलो दल हो । उनले संसदीय चरित्र देखाउन खोजेको भए संसदमा पार्टीको समर्थन र ह्विप मान्नुपर्थ्यो ।

यतिबेला ओलीमा ‘म बाहेक अरु सबै भ्रम हो’ भन्ने भूत सवार छ । न जनताको दुःख देखेको छ न गुनासो सुनेको छ, न पार्टीको सल्लाह सुनेको छ न कार्यकर्ताको पीडा बुझेको छ । जनअधिकार, मानवअधिकार, कानून, संसद, विपक्षी, पार्टीको विचार, सिद्धान्त, आदर्श सबथोक म नै हुँ भन्ने भ्रमका कारण कमरेड ओली संसारका अरु उदार तानाशाह वा क्रुर तानाशाहका चरित्रसँग मिल्ने चरित्र प्रदर्शन गरिरहेका छन् ।

उनले संसार चकित बनाउने नयाँ सिद्धान्त प्रतिपादन गरेर पार्टी कार्यालयमा झुण्डिएका मार्क्स, लेनिन मात्रै होईन पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीका तस्बिरलाई समेत भ्रम हो भनिरहेका छन् ।

प्रधानमन्त्रीको रुपमा संसद भवनमा उभिएर जवाफ दिनुपर्दा वा सरकारी निवास बालुवाटारमा पार्टी बैठकमा बोल्दा सरकारको नेतृत्व वा पार्टीको अध्यक्ष जस्तो व्यवहार र बोली उनको हुँदैन । अरुको तीखो आलोचना गर्ने, होच्याउने, उखान–टुक्कालाई प्रयोग गरेर हसाँउने, छकाउने र फकाउने मात्रै उनको काम हुन्छ ।

अरुको कुरा नसुन्ने अटेरी, घमण्डी र ईखालु स्वभावका कारण पनि ओली तानाशाही भन्दा कम देखिँदैनन् । पार्टी अध्यक्ष र शीर्ष नेतालाई त कहिल्यै नगन्ने ओलीले कार्यकर्ता वा जनताको कुरा सुन्छन् भन्नु भ्रम मात्रै हो ।

गणतन्त्रको लागि भएको आन्दोलनलाई ‘बयलगाढा’ चढेर अमेरिकाको यात्रा भन्ने उनै ओली अहिले त्यहि गणतन्त्रमा सत्ताको नेतृत्व गर्न आईपुग्ने हाम्रो शासकीय स्वरुप नै गलत छ भन्ने कुराको प्रमाण हो । यदि जनताबाट निर्वाचित कार्यकारी बन्थे भने जनताको कुरा सुन्नै पर्थ्यो, जनताले फिर्ता बोलाउँदा आउनैपर्थ्यो ।

तर ओलीको भाग्य जनताको दुर्भाग्य भनेकै यहि हो की जनताबाट निर्वाचित कार्यकारी हुने शासन व्यवस्थाको विरुद्ध ओली प्रवृत्ति हावी हुँदा यो दुःखको दिन आईलाग्यो ।

यदि तानाशाही नै हुने ओलीको चाहना हो भने घमण्डी, अटेरी र पेलुवा होईन विकास र समृद्धिको भोको तानाशाही हुनुपर्थ्यो । जनतासँग घुलमिल हुने, गाह्रो अफ्ठ्यारोमा साथ दिने, विकासका कामहरु अगाडी बढाउने, भ्रष्ट र दलाललाई जेलमा सडाउने अनि पार्टी, कार्यकर्ता र जनतालाई समान रुपमा अवसर दिने उदार तानाशाही भैदिएको भए साय ओलीको गुणगान गाउन कुनै हिच्किचाहट हुने थिए ।

रेल, तेल र पानीजहाजको सपना देखाएर जनताको सपना लुट्ने तानाशाही होईन भ्रष्ट,दलाल र कमीसनखोरलाई कानुनी कार्बाही गरी विकास र समृद्धिको लागि काम गर्ने जननेता अहिलेको आवश्यकता हो ।

दलितको हत्यामा नबोल्ने, महिलाको बलात्कार हुँदा त्यो पीडा नसुन्ने, मधेस बाढीमा डुब्दा र पहाड पहिरोमा भासिँदा नबोल्ने अनी चेपाङका झुपडीलाई घर होईन गोठ हो भन्दै आगो लगाउने शासकको अन्त्य गद्दाफी र सद्दामको भन्दा नमिठो हुनसक्छ ।

जनता जागेको बेला बयलगाडामा चढेर बालकोट दरबार पुग्न ढिला पनि हुनसक्छ । त्यसैले कमरेड बेलैमा जनपक्षीय काममा लाग्ने हो की ? आगे प्रभुको जो विचार ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय