scheduleआइतवार कार्तिक ९ गते, २०७७

लकडाउन त खुल्यो तर न संक्रमण रोकियो न अर्थतन्त्र बौरियो

साझापोस्ट टिप्पणी

काठमाडौं, १६ साउन । चैत्र ११ गते लागू गरेको लकडाउन सरकारले साउन ६ गते सरकार अन्त्य गर्‍यो । चैत्र ११ अघि जम्मा ३ जना संक्रमित भेटिएका थिए । कोरोनाबाट कसैको मृत्यु भएको थिएन । लकडाउन अवधिमा संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो । कोभिड–१९ बाट ४० जनाले ज्यान गुमाए ।

लकडाउन अघि नेपाल कोराना क्षतिको सूचीमा १९८ औं स्थानमा थियो । लकडाउनको अवधिमा ६० औं स्थानमा आयो । असार १ गतेबाट लकडाउन थोरै खुकुलो पारियो । तर, त्यसअघिका ११० दिन अत्यन्त कडा लकडाउन गरिएको थियो ।

लकडाउन खुलेयता संक्रिमतको संख्या १९ हजार ७७१ पुगेको छ । मृतको संख्या ५६ पुगेको छ । लकडाउन खुलेयता थप ३ हजार २२ संक्रमित पुष्टि भएको छ भने थप १६ जनाले जीवन गुमाएका छन् ।

वीरगञ्ज, राजविराज, विराटनगर, नेपालगञ्ज र काठमाडौंजस्ता देशका ठूला शहरमा संक्रमितको संख्या तीव्र दरमा बढ्दैछ ।

वीरगन्जमा कोभिड–१९ विशेष अस्पताल भरिएको खबर छ । त्यहाँबाट स्वास्थ्यकर्मीहरु ट्युटीमा जान आनाकानी गर्न थालेपछि पछि दुई दर्जन बढी स्वास्थ्यकर्मीलाई पक्राउ गरेको समाचार समेत आएको छ । प्रहरी हेडक्वाटरमै कोराना संक्रमितको उल्लेखनीय संख्या देखिएको छ ।

नेपालको कोरोना प्रतिरोध रणनीति ‘यसै असफल, उसै असफल’ भनेजस्तो भइरहेको छ । लकडाउन गर्दा पनि कुनै परिणाम आएन, लकडाउन खोल्दा पनि स्थिति झन बिग्रिरहेको छ । यस्तो किन भइरहेको छ ? कसैले उत्तर दिन सकेको थिएन ।

कोरोना लकडाउनको प्रारम्भिक दिनमा प्रधानमन्त्री ओली हप्तहप्तामा देशबासीलाई सम्बोधन गर्दै थियो । प्रारम्भमा उनको कुरा सुन्दा लाग्थ्यो– सरकार कोरोना मामिलामा निक्कै सतर्क छ । ‘लकडाउन इज लडकडाउन’ भन्दै उनले सरकारी निर्णयको बचाउ गरेका थिए । बेलैमा लकडाउन लगाएर सरकारले निक्कै ठूलो बुद्धि पुर्‍याएको आत्मगौरव गर्ने गरेका थिए ।

तर प्रधानमन्त्री ओलीको आत्मगौरव केही दिनमै आत्मरतिमा परिणत भयो । वैशाख ८ को अध्यादेश प्रकरणपछि उनले कोरोना महामारी बिर्सिए । राजनीतिक छलछाममा लिप्त भए । उनले सम्वोधनको औपचारिकता पनि छोडे ।

‘बेसार पानी खाने, हाछ्यु गर्ने, कोरोना भगाउने’ नयाँ विधि जनतालाई सुझाए । सत्तारुढ दलको आन्तरिक विवादले कोरोनाको महामारी ओझलमा पर्‍यो ।

अहिले स्थिति हेर्दा लाग्छ– सरकारले पुरै लत्तो छोडेको छ । राज्यको तर्फबाट नागरिकलाई आश्वस्त पार्न दिनुपर्ने सूचना र सतर्कता विधिबारे सुचित गर्न छोडिएको छ । लकडाउन खुलेपछिको स्थिति हेर्दा कतै कुनै ‘गाइडलाइन्स’ लागू भएजस्तो लाग्दैन । लकडाउन खुलेपछि नत अर्थतन्त्र बौरिने न त संक्रमण नै घट्ने, दुवै कोणबाट बेफाइदा हुने स्थिति विद्यमान छ ।

शहर–बजार खुले पनि ग्राहक छैनन् । कोरोनाले अर्थतन्त्रको चक्रमाथि गम्भीर प्रहार गरेको प्रष्ट छ । करिब ४ महिना लामो लकडाउनपछि अर्थतन्त्रको श्रृंखला अनेक विन्दूमा भाँचिएको छ । ती कडीहरु जोड्न सरकारले कुनै ‘स्टिमुलस प्याकेज’ बनाएन । न त लकडाउन अवधिमा जीवन धान्न सरकारले कुनै मद्दत गर्‍यो । न त अहिले अर्थतन्त्रलाई गति दिने कुनै योजना बनाइरहेको छ ।

अहिले सरकारसँग एउटा मात्र उत्तर बाँकी छ । यो यस्तै हो । अमेरिका जस्तो शक्ति राष्ट्रले त केही गर्न सकेन, नेपालजस्तो गरिब देशले के गर्न सक्छ ? यतिखेर संसारका सबै खराब उदाहरणहरु ल्याएर यहाँ जोड्न खोजिदैछ । र, देशको सदाबहार गरिबीलाई ती सबै खराबीलाई ढाकछोप गर्ने बर्की बनाइँदैछ ।

तर, सबै देशको स्थिति अमेरिका र भारतको जस्तो खराब मात्र छैन । ताइवान, चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, अष्ट्रेलिया, न्युजील्याण्ड, जर्मनीजस्ता कयौं देशले कोराना संकटबाट उत्पन्न स्वास्थ्य, आर्थिक र मानवीय संकटलाई राम्रो व्यवस्थापन गर्न सकेका उदाहरण छन् । सरकारले नराम्रा उदाहरणहरु ल्याएर कमजोरी ढाकछोप गर्नुभन्दा राम्रो सफलता पाएका देशबाट सिक्न सकेको भए धेरै उत्तम हुन्थ्यो ।

यो टिप्पणीको अर्थ सरकारले केही गरेन भन्ने हैन । मात्रात्मक प्रयास सरकारले गरिरहेकै होला । हज्जारौं सुरक्षा तथा स्वास्थ्यकर्मी अग्रमोर्चामा परिचालित छन् ।

तथ्यांकले परीक्षण बढाउँदै लगेको पुष्टि गर्दछ । सरकारले अहिलेसम्म कोरोना पीडितको परीक्षण र उपचार निःशुल्क गरिरहेको बताएको छ । ती सकारात्मक कदम हुन् । तर, समस्याको अनुपातमा प्रतिरोध रणनीतिको गुणस्तर फितलो भएको कुरा पनि उत्तिकै सत्य हो ।

त्यसको कारण अनुभवहीनता मात्र हैन, संवेदनशीलताको कमी पनि हो । विशेषतः ती देशमै कोरोनाले धेरै क्षति गरिरहेका छ, जहाँ शासकीय संवेदनशीलता र व्यवस्थापन क्षमता कमजोर छ ।

मानवीय संवेदनाले ओतप्रोत असल शासकले यस्तो बेला कमजोरी लुकाउने, नतर्किने वा लत्तो छोड्ने हैन, सबै पक्षलाई साथमा लिएर, सबैका जाजय कुरा ग्रहण गर्दै समुचित रणनीतिमा देशलाई एकताबद्ध बनाएर हिडाउन सक्नुपर्ने हो । दुर्भाग्य देशको सत्तारुढ दल नै यतिखेर क्षतिविक्षत छ । लोकतन्त्रका यावत विधि, पद्धति र प्रक्रियाबाट बाहिर छ ।

अहिले चुनौति समाप्त भएको छैन, झनझन बढेको छ । कोरोना संक्रमणको पछिल्लो दर हेर्दा आउँदा दिन झनै खराब हुने संकेत देखिन्छ । भारतसँग नेपालको लामो खुल्ला सीमना छ । यतिखेर सबैभन्दा बढी विश्वास र सहकार्यको आवश्यकता भएको देश नै भारत हो ।

तर यतिखेरै कतिपय कारणले नेपाल–भारत सम्बन्ध नराम्ररी बिग्रेको छ । नेपाल–भारत बीच सामान्य कुटनीतिक संवादसमेत नरहेको बताइन्छ । यो निक्कै खतरनाक स्थिति हो । यस्तो वेला राष्ट्रिय सहमति कायम गरी दीर्घकालिन महत्वका विषयहरु कोरोना काल भरि स्थगन गर्ने र कोरोना संकट मिलेर प्रतिरोध गर्ने रणनीति अबलम्बन गर्नु वाञ्छनीय हुन्छ । सरकारले यस तर्फ ध्यान दिएजस्तो लाग्दैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay