scheduleमगलवार आश्विन ६ गते, २०७७

कोरोना आतंकका बीच संघर्षमा उत्रिनेहरुका नाममा

नारायण प्रसाद पोखरेल

मानव समाजले बुझेको र महसुस गरेको यथार्थता समाजको गतिशिलता र प्रगतिशिलता हो । सर आइज्याक न्युटनले प्रतिपादन गरेको वैज्ञानिक सिद्धान्तअनुसार पनि पृथ्वीमा रहेका सबै चिजहरु गतिशील हुन्छन् । यसको अर्थ गतिशिलताले प्रगतिशिलतातर्फ अगाडि बढाउँछ र प्रगति भनेको नै जीवन हो भन्ने बुझिन्छ ।

ऐतिहासिक तथ्य र यथार्थ के हो भने कुनै पनि देश तथा समाजको गतिशिलता र प्रगतिशिलताको संवाहक भनेका युवा नै हुन् । युवा जनशक्ति गतिशील नहुँदासम्म परिवर्तन र प्रगति पनि सम्भव हुँदैन । युवा मनमस्तिष्कले सधैं प्रगति खोज्छ र परिवर्तन र प्रगतिको लागि उसको मनमष्तिष्क लागि परिरहेको हुन्छ । अधिकांश युवा मानसिकता कहिल्यै पनि आफ्नो मात्र स्वार्थ पूर्तिमा लाग्न चाहँदैन ।

ऊ सधैँभरि समाजमा रहेका आफूले देखेका, महसुस गरेका सबै प्रकारका, अव्यवस्था, कुसंस्कार, भ्रष्टाचार, कुरीति, विकृति, विसंगति, अहंकारिता, पछौटेपनालाई जरैदेखि उखेलेर फाल्न र समाज र राष्ट्रलाई, उन्नतिशील, प्रगतिशील, सुशिक्षित, विकसित पार्न र सुसंस्कारयुक्त, भ्रष्टाचाररहित, सभ्य र शिष्ट समाजको स्थापनाको लागि आफ्नो ज्यानको आहुति दिन समेत पछाडि पर्दैन ।

२००७ सालका युवा, २०३६ सालका युवा, २०४६ का युवा, २०६२ का सालका युवा वा २०७७ का सालका युवा, युवा जहिलेका हुन्, उनीहरुको युवा भावना एउटा
उही र उस्तै हो, यथार्थता हो ।

परिवर्तन र प्रगति युवाको सक्रियता बिना सम्भव छैन। सायद युवाको त्याग र बलिदान नभएको भए २००७ सालको क्रान्ति पनि सम्भव हुने थिएन होला । युवा विद्यार्थी संगठनहरुको सक्रियतामा भएका आन्दोलनको फलस्वरुप २०३६ को जनमत संग्रहको घोषणा हुन पुगेको हो । अग्रभूमिकामा विभिन्न दलका नेताहरु देखिनु भए पनि २०४६ को आन्दोलनलाई टुंगोमा पुर्‍या नमा प्रमुख भूमिका युवाहरुकै रहेको थियो भन्दा अत्युक्ति नहोला । २०४६ पछि युवाहरुको विदेश पलायन शुरु भएर करिब ३० लाख युवाहरु विदेश पलायन भै सकेको अवस्थामा पनि २०६२ को आन्दोलनमा देशमा रहेका युवाहरुको सक्रिय सहभागिता रहेको थियो।

युवा भावना सधैंभरी सकारात्मक, गतिशील र प्रगतिशील हुन्छ । आफ्ना सबै क्षेत्रका अग्रजहरुप्रति उनीहरुको ठूलो आस्था र विश्वास रहेको हुन्छ । आफ्नो आस्था अनुसार राजनीतिक पार्टीका नेताहरुप्रति पनि उनीहरुको ठूलो आस्था र विश्वास रहेको हुन्छ ।

युवाहरुमा देश प्रेम कतिसम्म हुँदोरहेछ भने कति युवाहरुले एउटा पार्टीलाई जिताउनको लागि समेत आफ्नो विदेशको जागिर र आफ्नो पढाइलाई समेत तिलाञ्जली दिने गर्दा रहेछन् ।

सबै युवाहरु आफुले सम्मान गर्ने नेताहरु असल गुण र चरित्र भएका, शिष्ट, भद्र, कुनै पनि प्रकारको भ्रस्टाचार र अनियमिततामा नमुछिएका, सरल हुन्छन् भन्ने विश्वास गर्छन् । युवाहरु आफ्ना नेताहरु देशको सम्पत्तिलाई आफ्नै सम्पत्ति सरह माया गर्ने, देशको एक पैसा खर्च गर्नु पर्दा पनि सोचेर विचार गरेर देश र जनताप्रति उत्तरदायी भएर खर्च गर्ने, आफ्नो सुख सयल र सुविधा लिँदा जनताको जीवनस्तर हेरेर अति आवस्यक सुविधा मात्र लिने हुनुपर्छ भन्ने सोच्छन् ।

उनीहरु नेताहरुले हरेक नीति नियमको निर्माण गर्दा देशको हितमा गर्न सक्ने, निडर, जनताको मेहनत र पसिनाबाट संकलित राजस्वलाई एक पैसा पनि हिनामिना हुन नदिई विकास निर्माण र जनताको जीवन स्तर उठाउने कार्यमा लागून भन्ने चाहन्छन् । नेताहरुले श्रमको सम्मान गर्ने र श्रमका हिसाबले सबै बराबर छन् भन्ने भावना र विचार भएको एउटा सर्वगुणयुक्त व्यक्ति आफ्नो नेता होस् भन्ने युवाहरुले भावना र अपेक्षा राखेका हुन्छन् ।

जति बेला हामी युवा थियौं, हामी विविध प्रकारका चन्दा संकलन गर्ने काममा लाग्थ्यौं । आफुले चन्दा संकलन गरेको रकमबाट एक कप चियासम्म पिउने हिम्मत कसैमा पनि आउँदैनथ्यो । बाटोमा एउटा खाल्टो, एक ठाउँमा फोहोर, एउटा सानो पनि अनियमितता अथवा कसैले दुःख पाएको देख्न सक्दैनथ्यौं । हामी जुनसुकै निकायमा पुगेर अनियमितता भए नभएको बुझ्थ्यौं । बिमारी देख्नासाथ सहयोग गर्नुपर्छ भन्ने सोच आउँथ्यो । तत्काल फोहोर तथा खाल्टा खुल्टीहरुको उचित व्यवस्थापन जुट्थ्यौं र बिमारी तथा समस्यामा परेकाहरुका लागि उचित सहयोगको व्यवस्थापनमा लाग्थ्यौं ।

स्कुले विद्यार्थीकालमा अनेरास्ववियुसँग सम्बन्धित विभिन्न विद्यार्थी नेताहरुको सम्पर्कमा रहँदा प्रतिबन्धित अवस्थामा ज्यानको बाजी थापेर प्रहरीको आँखा छलेर रातभरी पर्चा पोस्टरिङ्ग काममा लाग्नु पर्दथ्यो। तत् समयमा राजनीतिक विचार तथा देशको भविष्यका बारेमा विभिन्न बहसहरु चल्ने गर्दथ्यो।

सबैको जवाफ रहन्थ्यो कि देश को विकास, वैज्ञानिक निशुल्क शिक्षा तथा स्वास्थ्य सेवा, राज्यको पुनर्संरचनासहित सबै ठाउँमा उचित बाटो घाटो, स्कुल खेल मैदान, सुविधा सम्पन्न अस्पताल, कलेज, विश्वविद्यालय, सबैलाई रोजगारी, आधुनिक कृषि, समाजवादी राज्य व्यवस्था, सुशासन, सेवामुखी र जवाफदेही प्रशासन, द्रुत विकास आदि आदि ।

विद्यार्थीकालको राजनीतिक संलग्नतापछि पनि मैले एउटा युवाको हिसाबले सामान्य जीवन धान्नको लागि आवश्यक पेशा व्यवसायसँगै बढीभन्दा बढी समय पोखरा क्षेत्रमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ तथा त्यस क्षेत्रमा स्थापित पर्यटन व्यवसायी संगठनहरुको सचिव तथा अध्यक्षको रुपमा भूमिका निर्वाह गरेँ । सो क्रममा पर्यटन क्षेत्रमा काम गर्ने प्रहरीहरुको तालिम, पोखरा पर्यटन क्षेत्र भएकोले पर्यटकसँग प्रत्यक्ष संलग्न हुने ट्याक्सी चालक, डुंगा सञ्चालक आदिमार्फत् पनि पर्यटकलाई कसरी सेवा प्रदान गर्न सकिन्छ भनेर परामर्श गरिन्थ्यो । यस क्रममा पर्यटन सेवाप्रति उत्तरदायी बनाउने, पर्यटन विकास समितिमार्फत् पोखरा विमानस्थल वरिपरी बगैंचा, विश्रामस्थल आदिको निर्माण गरियो ।

नारायण प्रसाद पोखरेल

नेपाल भ्रमण वर्षको संयोजकका रुपमा विभिन्न कार्यहरु गर्ने अवसर पनि पाएँ । पोखरादेखि भारतको लखनउसम्म हवाई सेवा सञ्चालनको लागि पहल पनि गरिएको थियो । तत्कालीन पोखरा उपमहानगरका मेयर कृष्ण थापा तथा तत्कालीन लेखनाथ नगरपालिकाका मेयर शालिकराम पौडेलहरुलाई पर्यटन समितिमा रही विविध सुझाव सल्लाह दिँदै सहकार्य पनि गरेँ ।

पोखरामा स्थानीय स्तरमा पथप्रदर्शक तालिम चलाइयो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलको लागि पहल पनि गर्‍यौं । फेवा ताल तथा पोखरा क्षेत्रको सरसफाई आदि विभिन्न सामाजिक कार्यमा मैले एउटा कर्मठ युवाको रुपमा मेरो जीवनको सबैभन्दा महत्वपूर्ण १० वर्षको समय व्यतित गरेँ ।

युवाको रुपमा मेरो सेवा निस्वार्थ थियो । किनकि मभित्र हाम्रा विद्यार्थी युवा नेताहरुले देशको सेवामा समर्पित हुन सिकाएको पाठ र युवा मानसिकतासहितको देश र समाज उत्थानमा लाग्ने र देशलाई सबै क्षेत्रमा सम्पन्न बनाउने आकांक्षा र चाहना थियो । माथि उल्लेखित युवाका रुपमा मेरा दिनचर्याहरुलाई मात्र एउटा युवा प्रतिनिधि पात्रको रुपमा मात्र चित्रण गर्न खोजिएको हो ।

अहिले समय बदलिएको छ। हाम्रो युवा कालमा प्रायः हामी सबै युवाहरु लगायत समाजले नै पैसा, सुविधा अनावश्यक शोअपलाई भन्दा उचित शिक्षा, उचित ज्ञान, समाज सेवा, सरलता, इमान्दारिता, लगनशिलता तथा जवाफदेहितालाई राम्रो मुल्यांकन गर्ने प्रचलन थियो ।

आज म आफैं अचम्म पर्छु- कुनै समय यस्तो पनि थियो जहाँ सरकारी कार्यालयका कार्यालय प्रमुख स्वयम् ६ बजेसम्म पनि उपस्थित भएर सेवाग्राहीको काम सम्पन्न गराउने कार्यमा लाग्ने गर्नु हुन्थ्यो। उहाँहरुमध्ये कति अहिले पनि जीवितै हुनुहुन्छ । सायद त्यो निस्वार्थ र इमान्दार समाज हुनुको पछाडि तत् समयको सीमित आवश्यकताले पनि होला ।

२०४६ को परिवर्तनसँगै हामी एउटा खुला समाजमा पदार्पण गर्‍यौं । परिवर्तन हामी सबै नेपालीको चाहना पनि थियो। राजनीति, राजनेता, राजनीतिक पार्टी भनेको समाजको प्रतिबिम्ब हो । समाजले जस्तो दिशानिर्देश गर्छ राजनेता, राजनीतिक पार्टी र राज्य व्यवस्था भित्रका सबै अंगहरु, प्रशासक, कर्मचारी, प्रहरी, सेना सबै त्यसै अनुरुप बन्दै जाने हो।

अर्थात् हामी जनता नै समाज का प्रतिबिम्ब हौं र हाम्रो प्रतिबिम्ब राज्य व्यवस्था, राजनेता र राजनीतिक पार्टीहरु हुन् । हामीले जे रोप्यौं त्यहि फल्ने हो । हामी सबैलाई हाम्रा पुर्खाहरुले अर्ति दिँदा भन्ने गर्नु हुन्थ्यो- ‘पैसा गुम्यो भने केही पनि गुम्दैन, हाम्रो स्वास्थ्य गुम्यो भने हाम्रो केहि गुम्छ तर चरित्र गुम्यो भने सबै कुरा गुम्छ ।’ आज हामीले खुल्ला समाजसँगै चरित्रसँग सम्बन्धित धेरै कुरा गुमाउँदै छौं । २/४ ठाउँमा बाटो घाटो बन्नु, विमानस्थल बन्नु, पुल बन्नु, २/४ वटा अस्पताल बन्नु मात्रलाई विकास मान्न मिल्ला र ?

जबसम्म हामीले हाम्रो माटोलाई मन भित्रैबाट माया गर्न सिक्दैनौं, जबसम्म हामी आफु इमान्दार बन्छु भनेर होइन कि भित्रि आचरणबाटै इमान्दार, कर्तव्यनिष्ठ, बफादार र जवाफदेही बन्न सक्दैनौं तबसम्म हामीले हाम्री आमारुपी देशलाई विश्वको गर्व गर्नलायक देश बनाउन सक्दैनौं । इमान्दार, कर्तव्यनिष्ठ, बफादार, जवाफदेही नागरिकहरुसहितको सभ्य र सर्वगुण सम्पन्न सुन्दर मुलुक बनाउन सम्भव छैन ।

हामी सबैले आज आफ्ना कर्तव्य, इमान्दारिता, बफादारिता, जवाफदेहितालाई दिन प्रतिदिन गुमाउँदै गइरहेका छौं । हामी सबैका लागि पैसा, पद सबैभन्दा महत्वपूर्ण र आफ्नो जवाफदेहिता र इमान्दारिता तुच्छ बन्दै गइ रहेको आभास हुन्छ । गाउँको वडा, गाउँपालिका, नगरपालिका, प्रदेश, केन्द्र, सरकारी कार्यालय, विभाग, निर्माण सेवा, यातायात, खरिद, सेवा व्यवसाय जताततै बेथिति नै बेथिति देखिन्छ र सुनिन्छ।

हामीले आफ्नो आमारुपी जन्मभूमिको निर्माणमा होस्, सानो तिनो खरिदमा होस्, आफ्नो पदअनुसारको सेवा दिने कार्यमा होस्, आफ्ना देशबासीहरुलाई सामान बिक्री गर्ने तथा सेवा दिने कार्यमा होस् । हामीले हाम्रो मनमष्तिस्कलाई इमान्दारिता र जवाफदेहिताको कसीले बाध्न भुलिसकेका छौं । इज्जत र प्रतिष्ठा भनेको पैसा हो, राम्रो मोटर, राम्रो घर हो भन्ने भावनाले हामीलाई अन्धो बनाउँदै गइरहेको छ ।

हामी सबैले यस्ता दुषित भावनालाई जरैदेखि उखेलेर फाल्न र देशको हरेक निर्माणलाई आफ्नो घरको निर्माण सरह मान्नुपर्छ । यसका लागि सकेसम्म कम खर्चमा उत्कृष्ट निर्माण गर्ने प्रतिवद्धता देखाउनुपर्छ । देशको प्रत्येक खरिदमा पनि आफ्नो सीमित बजेटलाई हेरेर घरको आवश्यकताअनुसार खरिद गरेसरह उचित मूल्य र सामान हेरेर मात्र देशको लागि आवश्यक खरिद गर्ने नीति नियमहरु बनाउनुपर्छ । सबै राष्ट्रसेवक कर्मचारीले प्रत्येक सेवाग्राहीलाई मैले सही समयमा सहि सेवा दिन नसके मेरो व्यापार व्यवसाय बिग्रन्छ भनेझैँ गरी सेवा प्रदान गर्न सक्नुपर्छ ।

प्रत्येक राजनीतिक पार्टी, नेतागण र जनप्रतिनिधिहरुमा हामीले देशको समग्र क्षेत्रको विकास र जनसेवाको लागि नै राजनीति गरेका हौं भन्ने भावना जागृत हुनुपर्छ । तब मात्रै सहि मानेमा हाम्रो मुलुकले काचुली फेर्न थाल्नेछ र हामी सहि अर्थमा स्वाभिमानी, इमान्दार, बफादार, जवाफदेही नेपाली बन्न सक्नेछौं ।

हाम्रो युवा मानसिकताले सधैं सोच्ने गर्दथ्यो र हामी युवाहरु बहसमा जुट्ने र छलफलको क्रममा विचार प्रकट गर्ने गर्दथ्यौ कि राज्य पुनर्संरचनासहित देशले काचुली फेर्नेछ । राज्यले चीनले तिब्बत क्षेत्रमा र अस्ट्रेलियालगायत अन्य धेरै मुलुकले अपनाय जस्तैगरी जनताको लागि सर्व सुविधा सम्पन्न हरेक गाउँगाउँमा बस्तीहरुको विकास हुनेछ । स्वस्थ, शिक्षामा सबै नागरिकको बराबर पहुँच हुनेछ । सबैखाले जनसरोकारका सरकारी सेवामा अस्ट्रेलिया, न्यूजील्यान्ड तथा अन्य धेरै मुलुकमा जस्तै एकद्वार प्रणालीबाट बिना झन्झट तत्काल सेवा उपलब्ध हुनेछ, श्रमको उचित सम्मान र कदर हुनेछ ।

राजनीतिमा सचेत युवाको रुपमा हामीलाई भन्ने गरिन्थ्यो- राजनीतिक परिवर्तनको आवश्यकता समानताका लागि पनि हो । तर आज वडादेखि सबै क्षेत्र र तहमा समानता होइन, एउटा बस्ने कुर्सीमा समेत सामन्तवादी सोच र विभेद हावी हुँदै गएको देखिन्छ । हामीलाई अस्ट्रेलियालगायत युरोप भनेका पुँजीवादी व्यवस्था भएका मुलुकहरु हुन भनेर भन्ने गरिन्थ्यो । तर सहि मानेमा यी मुलुकहरु समानता लगायत हरेक दृष्टिकोणले एउटा विशुद्ध समाजवादी व्यवस्था रहेको देखिन्छ । ती मुलुकहरुमा न त ऊ ठूलो मान्छे, ऊ सानो मान्छे भन्नेछ, न कुनै पनि पदीय घमण्ड छ, मन्त्रीलाई मेट्रोको डिब्बामा उभिएर यात्रा गर्दा पनि उसले आफु सानो भएको कहिलै सोच्दैन । एउटा युवा हैसियतमा आजका सबै युवाहरुको चाहना पनि समानता र समान व्यवहार पनि हो ।

युवाहरुको इनफ इज इनफ अभियान, पर्यटन व्यवसायीलगायत सबै व्यवसायीहरुको व्यवसाय बचाउने अभियान र सामाजिक अभियन्ताको जनता बचाउने अभियानबारे पनि आज केही कुरा गर्न मन लागेको छ ।

बालुवाटारमा प्ले कार्डसहित भेला भएका युवाहरुलाई नियाल्दा र कुरा गर्दा उनीहरु उठ्नु परेको कारण कोभिड-१९ को कारणले नेपाली युवाहरुले देशको सिमाना र विभिन्न आइसोलेसन सेन्टरहरुमा पाएको दुःख कस्ट, सुशासन र दैनिक समाचारहरुमा आइरहने भ्रस्टाचार र अनियमितताहरु नै प्रमुख रहेको देखियो । उनीहरुमा आफ्नो मातृभूमिप्रतिको माया, जिम्मेवारीबोधको कारणले नै यो कोरोनाको महामारीको बीचमा पनि आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी सडकमा उत्रिएको देखिन्छ ।

मान्छे मान्छे नै हो । सबैलाई दुख्छ। सबैलाई गाँस, बास, कपास चाहिन्छ । गरिब भए पनि उसलाई गर्मी हुन्छ । तराईको ३५, ४० डिग्रीको गर्मीको लागि बनेका आइसोलेशनहरुको अवस्था ज्यादै दया लाग्दो हुनु, आइसोलेशनमा नै युवाहरु भटाभट मर्दै जानु, जनताको दैनिक छाक टार्ने समस्या तथा औषधिमुलोको अभाव आदिले गर्दा इनफ इज इनफ अभियानको थालनी शुरु हुन पुगेको हो भन्ने बुझिन्छ ।

युवा अभियान जस्तैगरी व्यवसायिक संघ संगठनहरुको अर्को अभियान आफू बाँच्ने र आफ्नो व्यवसायलाई पनि बचाउने अभियान चलिरहेको छ । सबैजसो व्यवसायिक संघ संगठनका अध्यक्षलगायत पदाधिकारीहरु आफु पदाधिकारी रहेको व्यवसायिक संगठनका सदस्यहरुलाई कसरी बचाउन सकिन्छ भनेर निस्वार्थ भावनाले दिनरात नभनी काममा जुट्नु भएको छ ।

पर्यटनसँग सम्बन्धित २२ वटा संघ संगठनहरुले एक वर्षसम्म ५० प्रतिशत घरभाडा छुट, बिजुलीमा अन्य जरिवानालगायत सबै शुल्क मिनाहा गरी मिटरमा उठेको रकम मा ५० प्रतिशत छुट, टेलिफोन, इन्टरनेट सेवामा करार गरी लिएको वा मासिक शुल्कमा सबै प्रकारको जरीवाना खारेज गरी उठेको बिल या मासिक करारमा ५० प्रतिशत छुट सुविधाको लागि संघर्ष गरी रहेको अवस्था छ ।

त्यसैगरी पर्यटन यातायात लगायत सम्पूर्ण यातायात क्षेत्र धरासायी अवस्थामा पुगेकाले सवारी कर छुट तथा ऋणको लागि संघर्षरत रहेको अवस्था छ । म सम्पूर्ण व्यवसायिक संघ संगठनका नेतृत्वलाई उहाँहरुले निस्वार्थरुपमा सदस्यहरुको व्यवसाय बचाउने अभियानजस्तो सामाजिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक नमन गर्न चाहन्छु ।

महर्षि वेद व्यासको अठार पुराणको एउटा मात्र सार भनेको आफ्नो समाज,आफ्नो मातृभूमिको सेवा र परोपकार नै सबै तीर्थ, व्रत र सबै धर्म हो र मुलुक र मुलुकबासीको सेवा र परोपकार भन्दा ठूलो धर्म केही छैन भन्ने नै हो ।

अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्
परोपकारः पुण्याय पापाय परपीडनम् ।’

हामी सबै नागरिकता, व्यवसायी, उद्योगी, सरकार सबैको अभियान कोभिड-१९ को कारणले पर्न गएको समस्याबाट कसरी जनतालाई जोगाउने, कसरी सबै उद्योग र निर्माणलगायत सबै प्रकारका व्यवसाय पुनर्जीवन दिई समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्ने नै हो।

हामी सबैले आशा र भरोशा गरौं कि यो विषम परिस्थितिले हामीलाई नेपाली नेपालीबीच आपसमा माया ममता बढाउन, आफु जन्मेको मातृभूमिको माया गर्न, सेवाभाव, सदाचार इमान्दारिता, बफादारिता, जवाफदेहितासहित अगाडि बढ्नको लागि एउटा सुनौलो ढोका खोल्नेछ।

हाम्रा हजारौंहजार व्यवसायिक, सामाजिक, धार्मिक, सांस्कृतिक संघ संगठनका अध्यक्ष तथा पदाधिकारीहरु र हाम्रा समाजसेवी सामाजिक अभियन्ताहरुले जसरी निस्वार्थरुपमा सामाजिक सेवा अभियानमा लाग्नु भएको छ । पक्का पनि यसले हाम्रा गाउँदेखि केन्द्रसम्मका जनप्रतिनिधिहरु, सबै राजनीतिक पार्टीका कार्यकर्ताहरु, राष्ट्रसेवक कर्मचारीहरु, राष्ट्र सेवामा लाग्नु हुने प्रशासकहरु, प्रहरी संगठन, सैनिक, संवैधानिक निकाय भित्र रहनुहुने महानुभावहरु, देश निर्माणका लागि लाग्ने निर्माण व्यवसायीलगायत सबै उद्योगी तथा व्यवसायीहरुमा पनि आफु जन्मेको मातृभुमि, आफ्ना आदरणीय अग्रज तथा सबै नेपालीहरुको सेवामा अति नै इमान्दारी, बफादारीपूर्वक तथा जवाफदेहितापूर्वक सेवामा लाग्ने वातावरणको सिर्जना हुन जानेछ । हाम्रा सबै युवाहरु र हामी सबै नेपाली जनताले कल्पना गरेको साँच्चिकै समृद्ध, सुन्दर नेपाल बन्नेछ ।

ट्वीटरमा लेखक- @MDPokhrel

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय