scheduleशनिवार आश्विन १० गते, २०७७

व्यवसायिक कृषिका अनिवार्य शर्तः बजार, प्रविधि र रणनीतिक लगानी

डा. वेदप्रसाद खतिवडा

नेपालमा कृषि क्षेत्रलाई व्यवसायिक रुप दिने र रोजगारी सिर्जनाको एउटा भरपर्दो स्रोत बनाउने तथा खाद्य तथा पोषण सुरक्षाको बलियो आधारको रुपमा विकास गर्ने लक्ष्य विभिन्न नीति, रणनीति तथा परियोजनाहरुले लिएको पाइन्छ । कोभिड-१९ ले सिर्जना गरेको यो महामारीको अवस्थामा त झनै कृषि क्षेत्रलाई रोजगारी सिर्जनाको क्षेत्र भनेर आशा गरिएको छ ।

कृषि योग्य जमिनको निरन्तरको खण्डीकरण भइरहेको छ । यसले यान्त्रिकीकरण एवम् उत्पादकत्वमा पारिरहेको छ । उता विश्व व्यापार संगठनको सदस्य भएयता आयातित कृषि उपज नै सस्तो परेका कारण व्यापारीहरुले कृषि उपजको आयात गरिरहेको र व्यापार गरी आएको वस्तुपरक यथार्थ भने हाम्रा सामु छ । यसका बाबजुद पनि नेपालका विभिन्न स्थानमा बजारमुखी कृषि प्रणालीको विकास भइरहेको छ ।

खाद्य तथा कृषि संगठनको मुख्य सडक आसपासका क्षेत्रमा व्यवसायीक कृषिको विस्तारको परियोजना लागू भएर रासायनीक मल तथा उन्नत जातको बीउको सहयोग र प्रविधि हस्तान्तरणबाट शुरु भएको नेपालको तरकारी खेतीको व्यवसायिक यात्रा सोही स्थानमा र आसपासका क्षेत्रमा पनि फैलिएर गएको छ । फलफूल खेतीका लागि भने नेपाल सरकारको नीतिबमोजिम नै मध्य पहाडमा सुन्तला जात, उच्च पहाडमा स्याउ, ओखर, र तराइ तथा भित्री मधेशका स्थानमा केरा, आँप आदि फलफूललाई विशेष प्राथमिकतामा राखेको पाइन्छ ।

लामो समयसम्मको योजना गरी लगानी गर्नुपर्ने तर प्रतिफल पाउन समय लाग्ने भएकाले पनि फलफूल खेतीमा किसानहरु खासै आकर्षित भएको पाइदैंन । कुखुरा तथा गाईपालनले उच्चतम प्रविधिका साथ रणनीतिक लगानीसमेत गरी व्यवसायीक रुप लिइरहेको छ र उल्लेख्य मात्रामा यो क्षेत्रमा रोजगारी सिर्जना समेत भएको पाइन्छ । भारतबाट आउने कुखुरा, अण्डा र विदेशबाट आउने पाउडर दूधको कारण एवं रोग एवं बर्ड फ्लूको महामारीले पनि तीनमध्ये एक किसान हरेक वर्ष यस क्षेत्रबाट विस्थापित भइरहेको पाइन्छ ।

केहि अपवादलाई छाडेर हेर्ने हो भने व्यवसायिक कृषि गर्ने किसानहरु आफ्नै बलबुतामा अगाडि बढिरहेका पाइन्छन् । व्यवसायिक कृषि क्षेत्रको विकासको लागि २० वर्षे कृषि विकासको रणनीति लगायत कृषि व्यवसाय प्रवर्द्धन नीति तथा अन्य धेरै नीतिहरु भएको अवस्था छ भने विभिन्न परियोजनाहरु सरकारी तथा गैरसरकारी क्षेत्रबाट लागू भइरहेका छन् । तर आजपनि नेपालको माग अनुसारको कृषि उपजको उत्पादन हुन नसकिरहेको अवस्था देखिन्छ ।

खाद्य सुरक्षाका लागि आवश्यक पर्ने अन्नबालीको आयात अत्यधिकरुपमा बढिरहेको देखिन्छ भने नयाँ तथा युवा किसानहरु तरकारीबालीमा बढी केन्द्रित भइरहेको देखिन्छ ।

त्यस्तै गरी नयाँ किसानहरु एकीकृत कृषि फार्म स्थापना गर्ने, प्लाष्टिक टनेल भित्र तरकारी खेती गर्ने, स्थायी संरचना निर्माण गरी खेती गर्ने वा किसानहरुको उपजको मूल्य अभिवृद्धि गराई बजारीकरणमा लागि पर्ने किसानहरु पनि हालैका वर्षहरुमा बढिरहेको देखिन्छ । यस लेखमा नेपालमा व्यवसायीक कृषि विस्तारका लागि सरकार तथा सरोकारवालाहरुले ध्यान दिनुपर्ने केहि महत्वपूर्ण पक्षहरुमा छलफल गर्नेछौं । आजको यो लेखमा भने कृषि बजारको बारेमा चर्चा गरिन्छ भने आगामी हप्ताको लेखमा कृषि प्रविधि तथा लगानीको विषयमा छलफल गरिनेछ ।

कृषि उपजको बजार
खुला बजार अर्थनीति लिएको कुनै पनि देशहरुमा कुनै पनि कृषि उपज वा अन्य उत्पादन सफल वा असफल हुने र यसले व्यवसायिक रुप लिने वा नलिने भन्ने कुरा यसको मूल्य र गुणस्तरले निर्धारण गर्दछ । नेपाल विश्व व्यापार संगठनको सन २००४ मा सदस्य भएपछिको अवस्था होस् वा सोही वर्ष सार्क राष्ट्रहरुबीच सम्पन्न दक्षिण एशिया खुला व्यापार क्षेत्र (South Asia Free Trade Area, SAFTA) को सम्झौता होस्, यि सम्झौताहरुले रणनीतिकरुपमा नेपाललाई विश्व आर्थिक मञ्चको साझेदार बनायो र सम्भावना र विकासको ढोका खोलिदियो ।

तर यसले दिएको सम्भावनालाई आफू अनुकुल प्रयोग गर्नका लागि चाहिने रणनीतिक लगानी, भौतिक संरचनाको निर्माण, व्यापक उद्योग धन्दामा लगानी आदि कुरामा ध्यान नदिँदा र आन्तरीक द्वन्द्व र अस्थिर राज नीतिको कारणले नेपालले आफू खुद आयातकर्ता मात्र बन्ने र विश्व बजारका लागि आफु उपभोक्ता मात्र बन्ने दिशामा आगाडी बढ्दै गयो ।

देशमा विभिन्न नीतिहरु वा कार्यक्रमहरु त बने तर रणनीतिक योजनाको अभावमा कृषि भित्र पनि कुन कृषि उपज हाम्रो तुलनात्मक लाभको क्षेत्र हो भनेर पहिचान गर्न नसक्दा यसले दिने अवसर खुम्चँदै गयो ।

यसका अलावा बहुराष्ट्रिय लगानीको सम्भावना पनि लगानीको वातावरण भएको देशतिर आकर्षित भई नेपाल अन्ततोगत्वा कृषि वा अन्य औद्योगिकीकरणबाट भन्दा विदेशमा युवा श्रम निर्यात गर्ने र आएको रेमिट्यान्सको आधारमा देश चलाउने अवस्थामा पुग्यो ।

अझैपनि नेपाल सरकारको नीति खुला आर्थिक नीति भित्र पनि तुलनात्मक लाभका क्षेत्रहरुमा लगानीको सिर्जना गर्ने, देशभित्रको हावापानीको विविधतालाई सदुपयोग गर्दै कृषिमा विशेष अवसरको सिर्जना गर्ने आदि भन्दा पनि धेरैभन्दा धेरै देशसँगको श्रम सम्झौतामा केन्द्रित भइरहेको छ ।

यसको सट्टामा नेपालको माटो, हावापानीले दिएको अतुलनीय अवसरलाई सदुपयोग गर्दै, हिमाली हावापानीमा हुने अमूल्य जडीबुटी उत्पादन तथा प्रशोधन, पस्मिना जस्ता बिशेष माग भएका कृषि उपजको उत्पादन, अलैंची, गुच्ची च्याउ, यार्सागुम्बा जस्ता उपजको विशेष प्रवर्द्धन गरी यसको स्वच्छता र गुणस्तरमा काम गरी निर्यात, कृषि क्षेत्रमा पनि स्वच्छता र गुणस्तरीयताको निर्धारण मापदण्ड लागू गरी खाडी मुलुक तथा नजिकका छिमेकीमा निर्यात गर्न सकिने सम्भावनाहरु व्यापक छन ।

अहिलेकै अवस्थामा पनि पशुपालन तथा कुखुरापालन का क्षेत्रमा खुला चरण क्षेत्र र खेर गइरहेका वनपाखा, खेतबारीको प्रयोग गरी स्थानीय कुखुरा, स्थानीय गाईवस्तु, वा भेडाबाख्रालाई पनि न्यूनरुपमा दानाको प्रयोग गर्ने र अधिक रुपमा डाले घाँस, पोषिला भुईं घाँस आदि प्रयोग गरी हाम्रा उत्पादनको ब्राण्डिङ गरी नजिकका बजारमा निर्यात गर्न सकिने वा स्थानीयरुपमा नै उपभोग गरी आयात प्रतिस्थापनमा काम गर्न सकिने अवस्था विद्यमान छ । चिया र कफीको अन्तराष्ट्रिय बजार माग नेपाली उत्पादनले पुग्न नसक्ने अवस्था छ किनकी नेपालको उत्पादन एक कन्टेनरको न्यूनतम आवश्यक परिमाण भन्दा कमी हुन आउँछ ।

व्यापारको निर्यात सम्भाव्यतालाई ह्वात्तै बढाउँछ भनेर खुला अर्थनीतिको प्रचार गरियो र आर्थिक प्रगती हासिल गर्ने सम्भावनाको बारेमा छलफल भयो र सम्बद्ध देशहरुबीचमा एकापसका आयात कर क्रमशः शून्यमा झार्ने सहमति पनि भयो । तर कालान्तरमा गरीब राष्ट्रहरु खुद आयातकर्तामा रुपान्तरीत हुँदै गए भने यो सम्भावनालाई रणनीतिक लगानीका माध्यमबाट रोजगारी सिर्जना गर्ने देशहरु समृद्ध बन्दै गए ।

यस अवस्थामा बजारको माग, आपूर्ति, मूल्य श्रृखंलाको विश्लेषण, मूल्य अभिवृद्धि आदिलाई विश्लेषण गरी समग्र खाद्य प्रणालीको स्थानीयकरणको माध्यमबाट आन्तरीक उपभोगका लागि उत्पादन गर्ने रणनीति लिनु आवश्यक रहन्छ । त्यसपछि भने बाह्य बजारको लागि आवश्यक पर्ने न्यूनतम स्वच्छता तथा गुणस्तरका मापदण्डहरु अवलम्बन गरी उत्पादन, प्रशोधन तथा निर्यात गरी विदेशी मुद्रा आर्जन गरी कृषिलाई साँचो रुपमा अगाडि बढाउन सकिन्छ ।

क्रमशः

‘कृषि र जीवन’ स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरुः

नेपाली कृषिको अबको बाटो: रणनीतिक लगानी र सुनिश्चित बजार

साना किसानका लागि सस्तो पोष्टहार्भेष्ट प्रविधिः शून्य शक्ति शित भण्डार र गमला फ्रिज

नेपालका हेपिएका बालीहरु र यसको बहुआयामिक महत्व

जंगली च्याउ: पहिचान, सचेतना र अनुसन्धानको आवश्यकता

जंगली उपजको संकलन र उपभोगः संरक्षणको प्रश्न र मानव स्वास्थ्यको जोखिम

कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

एकीकृत कृषि फार्म: एक युवा अनुभव

‘अर्थतन्त्र थप धरासायी हुनबाट रोकौं, खाद्य प्रणालीको स्थानीयकरण गरौं’

कृषिमा मौरीको महिमा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय