scheduleसोमवार श्रावण १९ गते, २०७७

‘जातको प्रश्न’ गर्दै राजेश हमाल

काठमाडौं, १७ साउन । अभिनेता राजेश हमाल ‘जातको प्रश्न’ सोध्न टेलिभिजन स्क्रिनमा आउने भएका छन् । समता फाउण्डेसनले सुरु उक्त ‘टक सो’मा जातको आधारमा हुने विभेदमाथि बहस गरिनेछ ।

कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने कार्यक्रम १२ एपिसोडको हुनेछ । कार्यक्रममा हमालले विभिन्न क्षेत्रका मानिसलाई प्रश्न गर्नेछन् । आजदेखि कान्तिपुर टेलिभिजनबाट प्रत्येक शनिबार साँझ ६:३० बजे प्रशारणमा आउने कार्यक्रममा ६ वटा एपिसोडपछि विभेद सहेकासँग भेटेर नै कार्यक्रम सञ्चालन गरिनेछ ।

कार्यक्रम सञ्चालन गर्दै प्रश्न गर्ने जिम्मेवारी पाएका हमाल आफूलाई जातको आधारमा गरिने भेदभावमा चित्त नबुझ्ने गरेको अनुभव बताउँछन् । ‘हाम्रो संस्कृतिमा, रहनसहन, समाज, परम्परामा विभिन्न किसिमले गासिँदै आएका विभिन्न किसिमका प्रथा, कुप्रथाहरु मध्य सबैभन्दा चित्त नबुझेको चाहिँ जातको आधारमा एउटा मानिसले अर्को मानिसप्रति गर्ने भेदभाव, भेदभावमात्रै नभएर क्रुर अमानवीय व्यवहार हो,’ उनको प्रतिक्रिया छ ।

उनले अगाडि थपे, ‘यो अमानवीय व्यवहार हामी संसारभर नै देख्छौं । त्यसैले एकदमै जादुको छडी चलाएर छुमन्तर गरेर जरादेखि नै उखेल्न सकिन्छ भन्ने प्रश्नचिन्ह पनि छ, अन्यौलता पनि छ । तर, त्यो हुँदाहुँदा पनि यो मुद्दामा बहस गरिरहने, दर्शकमा भेदभाव, अन्यायका कुरा उजागर गर्ने कार्य हुनैपर्छ । यो कार्यक्रमको मुख्य उद्देश्य यही हो ।’

‘समता फाउण्डेसन’का कार्यकारी अध्यक्ष प्रदीप परियार कार्यक्रमको सुरुवातको लागि रुकुम घटनाले घच्घचाएको बताउँछन् । हालै रुकुममा ६ जना युवाको ज्यान लिनेगरी भएको जातीय विभेदको घटनाले यस विषयमाथि थप बहस आवश्यक लागेपछि आफूहरुले ‘जातको प्रश्न’सुरु गरेको उनले बताए ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपालमा जातको आधारमा हुने विभेद छ भनेर हामी सबैलाई थाहा छ । तर, थाहा हुँदाहुँदै पनि यो विषयमा आवाज उठाउनुपर्छ भन्ने कुरा कमै मानिसले सोच्छन् । परिवर्तनका लागि केही गर्नुपर्छ भनेर यो कार्यक्रम सुरु भएको हो ।’

उनले अगाडि थपे, ‘रुकुमको घटमा जुन बर्बरता भयो, जातको जाँतोले मानिसहरु मरिरहेका छन् भनेर स्पष्ट देखायो । त्यसपछाडि यसमा थप बहस र प्रश्नहरु उठाउनुपर्छ भन्ने हाम्रो टिमलाई लाग्यो ।’

जातको प्रश्नमाथि हरेक परिवारमा बहस र छलफल आवश्यक रहेको उनको बुझाई छ ।

कार्यक्रमबारे समता फाउण्डेसन-

नेपालको संविधानले जातीय विभेद तथा छुवाछूतलाई निषेध गरेको छ । यद्यपि कानून, नीति र कार्यक्रम कार्यान्वयनको पक्ष फितलो हुँदा दलित तथा सीमान्तकृत समुदाय विरूद्ध अझै पनि जातीय विभेद र छुवाछूतलगायतका हिंसा भइरहेको छ । दलित तथा सीमान्तकृत समुदाय निरन्तर बहिष्करण र उत्पीडनमा पारिएका छन् । सामाजिक न्यायको मुद्दा जटिल र चुनौतिपूर्ण बनेको छ ।

नेपालको दलित आन्दोलनले समावेशी समानुपातिक प्रतिनिधित्व र सहभागीताको मुद्दा लामो समयदेखि उठाउँदै आएको छ । प्राकृतिक विपद् र सङ्कटको समयमा सीमान्तकृत समुदाय नै सबैभन्दा धेरै प्रभावित हुने वर्षेनी आउने बाढीपहिरो, २०७२ को महाभूकम्प, कोभिड‑१९ र बन्दाबन्दीले पुष्टि गरेको छ । दलित समुदाय विरूद्ध हिंसा झनै बढेको समाचार विभिन्न सञ्चार माध्यममा दिनदिनै आइरहेका छन् । अन्तरजातीय प्रेम सम्बन्धका कारण रूकुम पश्चिममा चार जना दलितसहित ६ जना युवाको हत्या, रूपन्देहीमा १३ वर्षियाको बलात्कारपछि हत्या, खान नपाएर मलर सदाको मृत्यु, प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु केहि प्रतिनिधी घटना मात्रै हुन् ।

दलित तथा सीमान्तकृत समुदायले भोग्नुपरेको यिनै सामाजिक उत्पीडन र विभेद विरूद्ध नीतिगत बहस तथा पैरवी गरी सामाजिक न्यायको वकालत गर्ने उद्देश्यले समता फाउण्डेशनले टेलिभिजन कार्यक्रम जातको प्रश्न निर्माण गरेको हो । जातको प्रश्नले हरेक नेपालीको घरघरमा पिरोलिरहेको छ । तर यो विषयमा पर्याप्त र सिर्जनात्मक बहस हुनसकेको छैन । त्यसैले प्रत्येक घरघरमा जातको प्रश्नबारे संवाद होस् भन्ने उद्देश्यले यो टेलिभिजन कार्यक्रको निर्माण गरिएको हो ।

दलित समुदायले सामना गरिरहेको जातीय विभेद तथा छुवाछूतका घटना कार्यक्रम उत्पादन टोलीले गाउँ‑गाउँ पुगेर सङ्कलन गर्नेछ । त्यसको आधारमा जिम्मेवार निकाय र सरोकारवाला पक्षसँग कार्यक्रम सञ्चालक अभिनेता राजेश हमालले समाधानमुखी संवाद गर्नेछन् ।

वृत्तचित्र तथा टेलिभिजन कार्यक्रम निर्माणमा अनुभवी शान्ता नेपालीले कार्यक्रमको निर्देशन गर्दैछन् । कार्यक्रमका लागि अनुसन्धान र लेखन सञ्चारकर्मी विवेक रेग्मीले गरिरहेका छन् ।

कार्यक्रम जातको प्रश्न साउन १७ गतेदेखि प्रत्येक शनिबार साँझ ६:३० बजे र राति १० बजे कान्तिपुर टेलिभिजनमार्फत् प्रसारण हुनेछ ।

समता फाउण्डेशन सामाजिक न्यायका लागि ज्ञान उत्पादन, नीतिगत बहस तथा पैरवीको क्षेत्रमा एक दशकदेखि क्रियाशील सामाजिक संस्था हो । नेपाली समाजमा व्याप्त जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि संस्थाले थुप्रै अध्ययन अनुसन्धान गर्नुका साथै ५० भन्दा धेरै पुस्तक, नीतिपत्र प्रकाशन गरेको छ ।

धन्यवाद ।

प्रदिप परियार

कार्यकारी प्रमुख

समता फाउण्डेसन

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय