scheduleमगलवार श्रावण २० गते, २०७७

ओलीको उल्टो बुद्धिले नयाँ पुस्तालाई प्रशिक्षण राम्रै हुनेभोः डा. भट्टराई

काठमाडौं, १७ साउन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको उल्टो वुद्धिले पछिल्ला आन्दोलनहरुमा छुटेका युवाहरुलाई राम्रै प्रशिक्षण भइरहेको बताएका छन् ।

भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएको ‘इनफ इज इनफ’ समूहका युवाहरुलाई सरकारले दमन गरिरहेको सन्दर्भमा डा. भट्टराईले शनिबार एक ट्वीट सन्देशमार्फत् यस्तो टिप्पणी गरेका हुन् ।

‘सरकार (प्रधानमन्त्री ओली)को उल्टो वुद्धि ?,’ उनले अगाडि प्रश्न गरेका छन्, ‘कोभिड-१९ ले देशको स्वास्थ्यसेवाको दयनीय स्थिति र वपत्तिमा पनि भ्रष्टाचार गर्ने नराधमहरुको कुरुप चरित्र नांगो पारेको बेला झन् आन्दोलनकारीलाई गिरफ्तार गर्ने ?’

नेता भट्टराईले पछिल्ला आन्दोलनहरुमा छुटेका नयाँ पुस्तालाई पनि ओलीको गतिविधिले प्रशिक्षण भइरहेको टिप्पणी गरेका छन् । ‘जनयुद्ध/जनआन्दोलन/मधेस आन्दोलन नभोगेको नयाँ पुस्तालाई प्रशिक्षण चाहिं राम्रै हुनेभो,’ भट्टराईको टिप्पणी छ ।

शनिबार नक्सालस्थित भाटभटेनी सुपरमार्केट अगाडि शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका ‘इनफ इज इनफ’ अभियानका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

शुक्रबार पनि प्रदर्शनकारीहरुलाई सरकारले प्रकाउ गरेको थियो । पर्चा, पम्पलेटबिना शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन जान हिँडेका बेला बाटोबाटै भावना राउत, शशिविक्रम कार्की, विजयबाबु सिवाकोटीलगायत २० जनालाई पक्राउ गरेको हो ।

‘इनफ इज इनफ’ अभियानले केही दिनदेखि कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय