scheduleशनिवार आश्विन १० गते, २०७७

एफए कप फुटबलको उपाधि आर्सनललाई

काठमाडौं, १८ साउन । एफए कप फुटबलको उपाधि आर्सनलले जितेको छ । कीर्तिमानी १४औं पटक उपाधि उचाल्ने क्रममा उसले गएराति भएको फाइनल खेलमा चेल्सीलाई २-१ ले हरायो ।

१-० ले पछि परेको अवस्था उल्टाउँदै आर्सनलले जितेको खेलमा पियरे एमरिक औबमेयाङले दुई गोल गरे भने चेल्सीका लागि क्रिस्चियन पुलिसिचले एक गोल गरे । खेलमा अग्रता भने चेल्सीले पाँचौ मिनेटमा नै लिएको थियो । पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २८औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै औबमेयाङले गोल गरेका थिए । उनलाई नै चेल्सीका एजपिलीकोइटाले डिबक्स भित्र लडाएपछि आर्सनलले पेनाल्टी पाएको थियो ।

पहिलो हाफ १ १ को बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६७औं मिनेटमा पुनः औबमेयाङले गोल थपेपछि आर्सनलले खेलमा अग्रता बनाएको थियो । ७३औं मिनेटमा चेल्सीका माटियो कोभासिस दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो । खेलमा त्यसपछि कुनै गोल भएनन् र अन्ततः आर्सनल २-१ को जीत दर्ता गर्दै १४औं पटक एफए कपको च्याम्पियन बन्‍न सफल भयो ।

हालसम्म १० पटकभन्दा धेरै एफए कप जित्‍ने टोलीहरु दुईवटा मात्र रहेका छन् । एउटा टिम आर्सनल हो भने अर्को म्यानचेस्टर युनाइटेड हो । युनाइटेडले १२ पटक उपाधि जितेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय