इटालियन सिरी ए : मिलानका दुई क्लबको सहज जीत
काठमाडौं, १८ साउन । इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति सम्पन्न खेलहरुमा एसी मिलान र इन्टर मिलानले आ-आफ्नो खेलमा जीत हात पारेका छन् ।
एट्लान्टासँग उसकै घरेलु मैदानमा भएको खेलमा इन्टर मिलान २-० ले विजयी रह्यो । उसका लागि डानिलो डि एम्ब्रोसियोले पहिलो मिनेटमै गोल गरेका थिए भने एस्ले योङले २०औं मिनेटमा गोल थप्दै अग्रता दोब्बर पारेका थिए । त्यसपछिको ६० मिनेटमा दुवै टोलीबाट थप गोल हुन सकेनन् ।
विजयी भएको इन्टर ८२ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहँदै लिग सकाएको छ । शीर्षस्थानको युभेन्ट्सको ८३ अंक छ । पराजित एट्लान्टाको भने ७८ अंक छ र तेस्रो स्थानमा सीमित भएको छ ।
यस्तै अर्को खेलमा एसी मिलानले काग्लियारीलाई ३-० ले हरायो । उपहार गोलबाट अग्रता लिएको मिलानका लागि ज्लाटान इब्राहिमोभिच र सामु कास्टिलेजोले एक-एक गोल थपे । खेलको १०औं मिनेटमा काग्लियारीका राग्नार क्लाभानले आत्मघाती गोल गरेपछि मिलानले अग्रता लिएको थियो ।
त्यसपछि दोस्रो हाफको ५५औं मिनेटमा इब्राहिमोभिचले गोल गरे भने त्यसको दुई मिनेटमै कास्टिलेजोले गोल थपेपछि मिलान ३ ० को अग्रता बनाउँदै खेल जित्न सफल भयो ।
जीतसँगै ६६ अंक बनाएको एसी मिलान तालिकाको छैटौं स्थानमा रहँदै लिग सकाएको छ । पराजित काग्लियारीको भने ४५ अंक छ र १३औं स्थानमा रहेको छ ।