scheduleबिहिवार आश्विन ८ गते, २०७७

‘मेरो भाग्यमा सुख भन्ने लेखेकै छैन जस्तो लाग्छ, सधैँ पीडामाथि पीडा आइलाग्छ’

किरण पौड्याल/इलाम, १८ साउन । ‘मेरो भाग्यमा सुख भन्ने लेखेकै छैन जस्तो लाग्छ । सधैँ पीडामाथि पीडा आइलाग्छ’, माई नगरपालिका– ९ चिसापानीका रञ्जीत कार्कीको जीवनी सुन्दा जो कोहीको पनि आँखा रसाउँछ, मन कुँडिन्छ र भावविह्वल भइन्छ । साँच्चिकै रञ्जीतको हालसम्मको जीवन एउटा दुःखद् कथा जस्तो छ ।
माई नगरपालिकाकै चिसापानीमा जन्मिएका रञ्जीतलाई सानैमा आमाले संसार छाडिन् भने बाबुले अर्की आमा ल्याएपछि घरै छाड्नुपर्‍यो । दुःख गरेर पाँच कक्षा पढ्नुभएका रञ्जीतको बाल्यकाल पनि मावली घरमा दु:ख गर्दैमा बित्यो । बाबुआमाको माया नपाएपछि अन्य आफन्त र छिमेकीले पनि चासो दिएनन् । खोलाको किनार छेउमा झोडा फाँडेर दुःख गर्दै रहनुभएका रञ्जीतलाई बोलाएर ‘एक छाक भात’ समेत कसैले दिएन ।

हुर्कँदै गए पनि उनको कर्म भने फेरिएन । सधैं दुःखको दुःखै रह्यो । बाबुआमाको माया नभएपछि अर्काका घरमा दुःख गरेकै भरमा जीवन चल्दै गयो ।

आफ्नै बाबुले छोरा होइन भनेपछि

उमेर पुगेपछि (१८ वर्ष) उनले पनि नागरिकता बनाउनुपर्‍यो । नागरिकता बनाउन जाँदा बाबुआमाको प्रमाण सोधेपछि उनि खाली हात घर फर्किए । कतैबाट उनले आमालाई फेला पार्न सकेनन् भने बाबुले आफ्नो छोरो होइन भने । त्यस घटनाले त उनलाई झनै निराश बनायो । जसोतसो छरछिमेकी र आफन्तले सनाखत गरेपछि नागरिकता बन्यो ।

आफ्ना नाममा टेकेको भूइँ पनि नभएपछि रञ्जीतले ऐलानी जग्गाको झोडा फाँडेर घर बनाए । जेनतेन गरेर जीवन चलाइरहेका उनलाई विवाहपछि चाहिँ जीवन सुध्रिन्छ जस्तो लाग्यो । रञ्जीतको सोचाइ ठीक विपरीत ठहरियो । मागी विवाह गर्न नसकेपछि उनले सिक्किमबाट भगाएर त विवाह गरे तर ससुरालीले पनि ‘गरीबसँग विवाह गरेको’ भन्दै श्रीमतीलाई माइत जान दिएनन् ।

“ससुरालीतर्फको पनि आशै हरायो । कहीँबाट पनि सहयोग आएन । हामी दुःखै गरेर चलिरह्यौँ ।’ एक जनाको ठाउँमा दुई जना भएपछि झन् दुःख त गर्नै पर्‍यो । खेताला गएका पैसाले सानो झुप्रो ठड्याउन भने रञ्जीत सफल भए ।

श्रीमतीको आफ्नै व्यथा

श्रीमती उमाको पनि कथा रञ्जीतकै जस्तो छ । उनले जन्म लिएको डेढ वर्षमै आमाले संसार छाडेपछि रञ्जीतको भन्दा कम पीडा भोग्नु परेन । पुरानो घर चिसापानी नै भए पनि बाध्यताले सिक्किम बसाइँ सर्नु पर्‍यो । जेनतेन चलिरहेकै चलिरहेकै थियो जीवन तर श्रीमतीलाई रोगले सताएपछि अस्पताल धाउनु पर्‍यो रञ्जीतले । धेरै अस्पतालमा उपचार गराउँदा पनि ‘जाती भइहाल्छ नि’ भन्ने आश्वासन पाए पनि रोग ‘बीसको उन्नाइस’ भएन ।

अन्तिममा झापाको एक अस्पतालमा देखाउँदा पाठेघरमा समस्या देखियो । त्यसै त दुःखमा जिइरहेका रञ्जीतलाई अब भने के गर्ने कसो गर्ने भयो । उनले भएभरका ‘लालाबाला’ बेचेर श्रीमतीको उपचार गराए । श्रीमतीको उपचार त भयो तर भएका वस्तुभाउ पनि सकिए भने कमाउने हात पनि घटे । श्रीमती गाह्रो काम गर्न नसक्ने भए । ‘घरमा छोराछोरीलाई खाना पकाउन मात्र सक्छिन् । गहुँँगो चीज उचाल्नै हुँदैन’, रञ्जीतले भने,’घाँस पनि काट्छिन् तर लिन जानुपर्छ ।’

दुई छोरालाई मोतिबिन्दु र ऐँजेरु

उनको ठूलो छोरालाई मोतिविन्दुले सतायो । पहिले इलाम अस्पतालमै उपचार गराउँदा सामान्य भनेको बिरामी अर्को चोटि ठूलै रोग ठहरियो । जहिल्यै दुःख सहेका रञ्जीत परिवारको यो कुरा सुनेपछि होश हवास नै उड्यो । शल्यक्रियापछि उनको आँखा त बच्यो तर पहिले जस्तो देख्ने चाहिँँ भएन । अहिले पनि उहाँको आँखा कम्ती देखिन्छ भने चश्मा नलाई हुँदैन ।

रञ्जीतका कान्छा छोरा अर्पणको मूत्रअङ्गमा समस्या देखियो । शुरुमा सामान्य देखिएको समस्याले पछि विकराल रूप लियो । पिसाब फेर्नसमेत गाह्रो भयो भने पीप र रगत जान थाल्यो । ‘शुरुमा त अलि अलि दुख्थ्यो अरे । पछि रगतै बग्न थालेपछि मात्र भन्यो’, रञ्जीतले भने । दश वर्षीय अर्पणको उपचारका लागि रञ्जीतले धेरै अस्पताल घुमाउनु भयो । यस्तो साह्रो रोग जाती नहुने भन्दै सबै अस्पताल पन्छिए । एकातिर आर्थिक अवस्था ‘अत्यन्त’नाजुक त्यसमाथि पनि छोराको रोग जाती नहुने सुनेपछि कार्की दम्पती के गर्ने कसो गर्ने अवस्थामा पुग्यो । बल्लतल्ल छोराको उपचार त भयो तर अहिले सञ्चो भएको छैन ।

‘पिसाब फेर्न पनि साह्रै गाह्रो । सानो धारो मात्र झर्छ’, रञ्जीतले भने,’कहिले सञ्चो हुने वा नहुने पत्तो छैन ।’ एकातिर अहिले रञ्जीतको परिवारमा खाद्य पदार्थ अभाव छ भने अर्कातिर साहुको ऋण तगारो बनेको छ ।

‘साहुको ऋण सम्झँदा डाँको छाडेर रुन मन लाग्छ’

छोराको उपचार त रञ्जीतले गराए तर अब ऋण कसरी तिर्ने समस्या छ । श्रीमतीको उपचार गराउँदा  रु चार लाख ऋण लागेको रञ्जीतले अझै तिर्न सकेका छैनन् भने बाँकी ऋण त तिर्ने कुरै भएन । ‘के गर्ने, जसै गरे पनि बाँच्नुपर्दो रहेछ’, रञ्जीतले भने, ‘दुःख र साहुको ऋण सम्झँदा पनि आँशु छुट्छन् । डाँको छाड्न मन लाग्छ ।’ रञ्जीतको जेठा छोराको उपचारका लागि १२ हजार र कान्छाको उपचारका लागि  २५ हजार लाग्यो ।’ हुनेका लागि त यो रकम सानो होला तर म जस्ता घर न थरका लागि त विशाल हो’, रञ्जीतले भने ।

आर्थिक स्थिति एकदमै नाजुक भएपछि रञ्जीतले सबैसमक्ष सहयोगका लागि आग्रह गर्नुभएको छ । परिवारका सबै बिरामी परेपछि यति बेला रञ्जीतको काम गर्ने आत्मबल घटेको छ ।’ हुन त दुःख सधैं गर्नैपर्ने रहेछ तर एक चोटिको ऋण तिरे भने चाहिँ केही गरिन्छ कि भन्ने छ ।’ रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय