scheduleबिहिवार आश्विन ८ गते, २०७७

राजनीतिक दलालहरूको चक्रव्यूहमा देश

उरास लोहोरुङ् राई

नेपालमा ‘दलाल’ शब्द धेरै पहिलेदेखि प्रयोगमा आएको शब्द हो । तर यो शब्दलाई जनमानसले नकारात्मक प्रकारले मात्र बुझेको हुनाले, यसको सट्टामा २०६६ साल देखि ‘बिचौलिया’ भन्ने शब्द प्रयोगमा ल्याएको पाइन्छ । तर यी दुई शब्दहरूमा तात्विक फरक भने छैन ।

यसको विषेशता एउटै होः पहिलो र दोस्रो पक्षको बीचमा दलाली काम गरेर आफ्नो गुजारा चलाउने दलालहरूलाई यो शब्द मन नपरेको हुनाले निर्माण गरिएको शब्द हो ‘बिचौलिया ।’

नेपालमा एउटा सामान्य किसानले बारीमा फलाएको तरकारीमा नाजायज फाइदा खाने तरकारी दलालदेखि राजनीतिको आडमा मुलुक नै बेच्ने राजनीतिक दलालहरूको बिगबिगी छ । त्यसैले एउटा वडा कार्यालयदेखि प्रधामन्त्री निवास बालुवाटारसम्मै दलालहरूको हालिमुहाली चल्छ ।

एउटा सामान्य नागरिकले देशको विकास र राज्यबाट सेवा सुविधा पाउनको लागि गाँस काटेर सरकारलाई कर तिरेको हुन्छ । तर त्यही नागरिक सरकारी कार्यालयमा कुनै एउटा सानो काम लिएर गयो भने जनताको करबाट गुजारा चलाउने राष्ट्रसेवक कर्मचारी डरले थरथर भई सेवा दिनुपर्ने स्थानमा उल्टै दाता नागरिकलाई अनेक बहानामा घुस माग्छ । काम फत्ते गर्नको लागि या त चिनेको हुनु पर्‍यो, या त ठूलाठालु भनाउँदाको भनसुन लगाउन पर्‍यो, या त घुस दिनु पर्‍यो, या त दलाल गुहार्नु पर्‍यो । नत्र काम बन्ने वाला छैन ।

विधिको शासनमा यदि नबन्ने वा नमिल्ने काम हो भने जतिसुकै शक्तिशालीले भन्दा पनि नबन्नु पर्ने । यदि बन्ने काम हो भने जतिसुकै निम्न स्तरको जनताले भनेपनि बनिहाल्नु पर्ने हो । तर यहाँ जनताले गरिदिनुहोस् भन्दा काम हुँदैन/बन्दैन/मिल्दैन भनेर पन्छाइएको काम कुनै नेता वा ठालुले गरिदे भन्ने बित्तिकै बनिहाल्छ ।

घण्टौं लाइनमा बसेर सरकारी कामको झमेला बेहोर्ने अनि अन्नतः कामै नबनेपछि कार्यालय परिसरमै धुरुधुरु रुनुपर्ने त जनताले मात्र हो । नेता तथा ठालुहरूको लागि सरकारी कार्यालयको सेवा घरैमा पुग्छ । राष्ट्रसेवक भन्ने कुरा त संविधान, ऐन कानुनका ठेलीहरूमा राख्नलाई मात्र लेखिएको हो । व्यवहारमा त उनीहरू राजनीतिक दलालहरूको मतियार र जनताको मालिक हो ।

उरास लोहोरुङ् राई

राष्ट्रसेवक कर्मचारीको बिल्ला भिरेर राजनीतिक दलालहरूको मतियार भई जनताको मालिक बनी, आसपासका दलालहरूमार्फत् काम गर्न बानी परेका दलालै दलालहरूको संरक्षक, पक्षपोषक र नेतृत्वकर्ता चाहिँ राजनीतिक दलालहरू हुन् । जसलाई जनताले नै विश्वास गरेर मत दिएर देशको नोकर भई सेवा गर्नु भनेर जनप्रतिनिधिको बिल्ला भिराएर पठाएका छन् । तर जनताको त्यो विश्वास र भावनालाई लात हानेर नेताहरू जनप्रतिनिधिको खास्टोले छोपिएर खुङ्खार दलाल भएका छन् ।

त्यसैले उनीहरू जनताको नोकर होइन, मालिक बनेर विचारक पाउलो फ्रेरेको ‘सत्तासिन वर्गको हेजेमोनीका कारण उत्पीडितहरूको मनमस्तिष्कमा पनि उत्पीडकले बास गरेको हुन्छ’ भन्ने भनाईलाई व्यवहारमा उतारेका छन् । हिजो चप्पल लगाउने हैसियत नभएकाहरू काम न दाम आयस्रोत बिनै यो महंगीमा कार, बंगला र हेलिकप्टरको मालिक बनेका छन् ।

देशको विकास र जनताको नोकर भइ जनताकै सेवामा समर्पित हुनुपर्ने नेता भनाउँदाहरू जनताकै करबाट उठेको रकम खाएर दलाली, भ्रष्टचारी, अन्यायी, अत्याचारी, दूराचारी र लोभी भइ करोड र अर्बपति बनेका छन् । गृहमन्त्री जस्तो पदमा आसीन जिम्मेवार व्यक्तिले भ्रष्टचार गर्न नदिने हो भने सबै स्थानीय निकायहरु खाली हुन्छन् भनि खुलेआम रूपमा बोल्छन् ।

यो गणतन्त्रात्मक लोकतान्त्रिक संघीय राज्य व्यवस्थामा नेताहरूको सेवाबाट जनतालाई धनी बनाउनुपर्ने हो । तर नेताहरूले जनतालाई गरिब बनाएर उनीहरू धनी बनेका छन् । यस्तो चरित्र नेतामा होइन, दलालहरूमा हुन्छ । त्यसैले नेता भनाउँदाहरूको दलाली चरित्रले यो मुलुकलाई राजनीतिक दलालहरूको चक्रब्यूमा फसाएको छ । जताबाट पनि उनीहरूकै हात माथि पर्नेगरी संविधान, ऐन, कानूनलाई प्रयोग गरेका छन् । राज्यका हरेक निकायहरूमा देश, संविधान, ऐन कानूनप्रति ईमान्दार भन्दा पनि दलाली गर्न सहज होस् भन्ने ध्येयले नेताप्रति बफादार मानिसहरूलाई नियुक्त गरेका छन् ।

एकएक सेकेण्ड समयलाई पनि सदुपयोग गर्दै देशको विकास र जनताको समृद्धि सहितको सेवामा तल्लिन रहनुपर्ने प्रधानमन्त्रीको कुर्सी मान, पद, प्रतिष्ठा, सत्ता, शक्ति, स्वार्थ, अभिलाषा पूरा गर्ने स्थान बनेको छ । संसद, सांसदहरू लाख र करोडमा बिक्री वितरण हुने स्थान बनेको छ । नेपाल प्रहरी सत्यम् सेवम् सुरक्षणमको नारालाई छोडेर कहिले नेकपा प्रहरी, भ्रष्टचारी, बलात्कारी सेवम् सुरक्षणम्को काम गर्छ, त कहिले नेका प्रहरी, सेवम् सुरक्षणम्को काम गर्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग त अख्तियार दुरुपयोग आयोग नै भएको छ । न्यायालयले आँखामा कालो पट्टी निष्पक्षताको लागि होइन आँखा नदेख्ने बन्नको लागि बाँधेको छ । दलाल नेताहरूले दलाली गर्न सहज होस् भनेर हरेक सरकारी निकाय र अंगहरूमा मतियारहरू खडा गरेको छ । त्यसैले त नेपालमा घुस लेनदेन, भनसुन, चिनजान र दलाल वा उसको मतियारको सहारा बिना कुनै काम गर्न सकिंदैन । किनकि, मुलुक हाँक्ने नेताहरू नै वास्तविक दलालहरू हुन् ।

हाम्रो मुलुकमा नेताहरू भइदिएको भए, देश र जनताको निम्ति काम गर्ने थिए । पुरानो उद्योगधन्दाहरूको संरक्षण, विकास र स्तरोन्नति गरी, नयाँ नयाँ प्रविधि युक्त उद्योगहरूको निर्माणमा जुट्ने थिए र देशमै प्रशस्त रोजगारी सिर्जना गर्ने थिए । तर उनीहरू दलाल भएको हुनाले भएका, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पचासौं लाख मानिसहरूलाई रोजगार सिर्जना गर्न सक्ने उद्योगहरु- विराटनगर जुटमिल, गोरखकाली रबर उद्योग, भृकुटी कागज कारखाना, बाँसबाँरी छालाजुत्ता उद्योग, बालाजु कपडा उद्योग, हिमाल सिमेन्ट, हरिसिद्धी इट्टा टायल उद्योग, काँचोछाला संकलन तथा बिक्री उद्योग, रघुपति जुटमिल्स, नेपाल चिया विकास उद्योग लगायतका दर्जनौं उद्योगहरू कौडिको दाममा बेचेर खाए ।

अनि जनताहरूलाई चाहिँ वैदेशिक रोजगारको नाममा खाडी मुलुकको तातो घाममा बेचे । त्यतिले मात्र नपुगेर विप्रेषणको नाममा उनीहरूको रगत र पसिना चुसिरहेका छन् । अनि सेटिङ् मिलाएर हरेक पदोन्नती, सरुवा बढुवा, ठेक्का पट्टा, टेन्डरमा मतियारहरू खडागरी कमीशन खाएका छन् ।

नेताहरूमा देश र जनताको सेवा गरेर घमण्ड गर्ने भन्दा पनि, भ्रष्टचार गर्न सकेमा लाज शरम् होइन, आफू निकै शक्तिशाली भएको महसुश गर्ने प्रवृत्ति छ । त्यसैले नेताहरू देशको विकास र जनताको सेवामा भन्दा पनि भ्रष्टचार गरी अकुत सम्पत्ति आर्जन गर्ने ध्याउन्नमा छन् । यो मुलुकमा खराब मानिसलाई भन्दा असल मानिसलाई बाँच्न धेरै गाह्रो छ ।

किनकि, दलालै दलालले कब्जा गरेको मुलुक भएको हुनाले असल मानिसलाई भौतिक रूपमै सिध्याउन साम, दाम, दण्ड, भेद प्रयोग गरिन्छ । मदन भण्डारी, बिरेन्द्र जस्ता देश र जनताको विकास अनि समृद्धि प्रेमीहरूलाई दिनदहाडै हत्या गरिन्छ । तर हजारौं मानिसहरूको रगतमा पौडी खेलेर कुनै आयस्रोत बिना नै ढिडो गुन्द्रुकबाट पिज्जा बर्गरमा, गोलस्टार जुत्ताबाट करोडौंको कार र हेलिकप्टरमा, झुपडीबाट महलमा, रोडपतिबाट अर्बपति भएका, राष्ट्र र जनघातीहरूले मुलुकको बागडोर सम्हाल्छन् यहाँ ।

परिणामतः तलब थोरै भएको हुनाले बेलुकी घरमा आधा किलो मासु लगेर बालबच्चाहरूसँग मिठो गरी खाउँला भन्ने ध्येयले दिनभरी धुलोधुवाँ खाएर सडकमा सिट्टी बजाउने एउटा ट्राफिकले सर्वसाधारण जनताबाट दुई सय रुपैयाँ घुस लियो भने कडा भन्दा कडा कारबाही गरिन्छ । तर उनीहरूकै रासनपानी लुगाफाटादेखि जुत्तामा समेत कडोरौं घोटला गर्ने अनि दिनदहाडै सांसद अपहरण गर्ने हाकिम साबलाई चाहिँ हजुर नमस्ते, स्यालुट गरिन्छ ।

लकडाउनमा भोकले मर्न आँटेकालाई राहत दिनु भनी विदेशीले दिएको करोड अर्ब बराबरको रकमलाई सेटिङ्ग मिलाएर खानेदेखि राहतको छ बोरा चामल लुकाउने दलालहरूलाई साइरन सहितको सुरक्षा घेरामा राखेर सम्मान साथ दौडाइन्छ । तर आफ्नो बलबुताले भ्याएसम्म साथीभाइ गुहारेर दुईचार बोरा चामल जम्मा गरी, कोरोना भाइरसले निम्त्यएको लकडाउनको कारण भोकले रोइरहेकाहरूलाई वितरण गर्न जाने सामाजिक अभियान्तहरूलाई उत्साह र हौसलाका साथ सहजीकरण गरिदीनु त कता हो कता, उल्टै ओसामाविन् लादेनलाई भन्दा पनि चौखण्ड गरी पक्राउ गर्छ । यो चरित्र दलालको नभई अरु कसको हुन सक्छ ?

राज्यको बागडोर सम्हाल्ने नेताहरूमा पात्र परिवर्तन भयो, तर प्रवृत्ति परिवर्तन भएन । वाद परिवर्तन भयो तर विधि परिवर्तन भएन । नीति परिवर्तन भयो तर नियत परिवर्तन भएन ।

अब जनताले पनि यो राजनीतिक दलालहरूको चक्रब्यूबाट निस्कनलाई जर्मनीका क्रुर शासक हिटलरले एउटा जिउँदो भालेलाई अति नै पीडा दिएर भटाभट झुत्ला उखेलिदिएर, फेरी उसैले चारो छर्दै उसैको पछि पछि क्वाँक् क्वाँक् गर्दै लगाएर ‘जनता भनेको यो भाले जस्तो हो । जति पीडा दिएपनि चारो दिएपछि पछिपछि लागीहाल्छ’ भनि दिएको उदाहरणलाई सत्य सावित गर्न खोज्नु हुँदैन ।

चुनावको नाममा देश र जनताहरू माथि भ्रष्टचार, अन्याय, अत्याचार, दूराचार र अपमान गर्न पाउने लाइसेन्स नविकरण गर्न कुखुराको एउटा साँप्रो, एक बोतल बियर र एकमुठी चिउराको साथमा हावादारी फोस्रा आश्वसनका भाषण बोकेर आउँदा बिक्नु हुन्न । जे जस्तो भएपनि नेपाली उखानै छ, आगो ताप्नु मूढाको कुरा सुन्नु बुढाको, जेलनेल भोगेका, धेरै भोटो फटाएका अनुभवी, भ्रष्टचार नै गरेर भएपनि दुइचार सय रुपैयाँ सहयोग गर्न सक्छन् भन्ने मनसायले साथ समर्थन र मत दिने गर्नु हुन्न । तपाईं हामी एक बोतल बियरमा बिक्नाले तपाईं हामी र हाम्रो आउने पुस्ताले समेत दुःख पाउँछ भन्ने बुझ्न जरुरी छ ।

किनकि, औंलामा गन्न सकिने केही सामाजिक अभियन्ता, पत्रकार र कर्मचारीको एक्लो प्रयासले मात्र मुलुक बन्दैन । मुलुक बन्नको लागि राष्ट्रिय मूलधारको राजनीति सच्चिनु अपरिहार्य छ । यो राष्ट्रिय मूलधारको राजनीति सच्याउने शक्ति जनतामा बाहेक अरु कसैसँग छैन र हुन्न ।

राजनीतिक दलालहरूको चक्रब्यूमा फसेर डामाडोल भएको यो मुलुकलाई पार लगाउनको लागि जनताले अब सुधार गर्ने काम तल्लो तहबाट होइन, माथिल्लो तहबाट गर्नु पर्दछ । यसको लागि जनताको मतलाई संसदमा लगेर व्यक्तिगत स्वार्थको लागि लाख र करोडमा मोलमोलाई गर्ने सांसदहरूको खेल खत्तम गर्न जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गरिनुपर्छ ।

अनि जनताहरूको चाहना बमोजिम काम गर्न नसक्ने जुनसुकै कार्यकारी र जनप्रतिनिधिलाई तुरुन्त फिर्ता गर्न पाउने व्यवस्था गरिनुपर्छ । चुनावताका गरिने अनाश्यवक तडकभडक र खर्चलाई बन्द गरी, उम्मेद्धवारको प्रचार प्रसार गर्ने काम निर्वाचन आयोगले मात्र गर्नुपर्छ । किनकि, हाम्रो महंगो चुनावी प्रणाली नै भ्रष्टचारको मुख्य कारक बनेकोछ । तव मात्र देश र जनताले राजनीतिक दलालहरूको चक्रब्यूबाट उम्कन पाउँछन् ।

यो मुलुक निर्माणको लागि कार्ल मार्क्स, लेलिन, माओत्सेतुङ्, स्टालिन, फिडेल क्यास्ट्रो, होचिमिङ्, चेगोभारा लागायतका अनेकन नेताहरूको बारेमा थानका थान पुस्तक पढ्नेहरूको भन्दा पनि एउटा ईमान्दार, पारदर्शी, स्वच्छ र त्यागीे राष्ट्र नायकको आवश्यकता परेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय