नेयमार र लाउतारोका बारेमा बार्सिलोनाका अध्यक्षको यस्तो स्पष्टोक्ति
एजेन्सी, १९ साउन । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेउले नेयमार र लाउतारो मार्टिनेजलाई क्लबमा भित्र्याउने बारेमा भइरहेका चर्चाबारे नयाँ अभिव्यक्ति दिएका छन् ।
उनले क्लबको आर्थिक अवस्थालाई मध्येनजर गर्दै लाउतारो र नेयमार दुवैलाई क्लबमा भित्र्याउने सम्भावना भने नरहेको स्पष्ट पारेका छन् ।
कोरोनाभाइरस महामारीका कारण यस सिजनमा बार्साको खर्चमा पनि असर परेको छ, यद्यपि केही लगानीहरु भने अझै पर्खनुपर्ने छ ।
सन् २०१७ मा क्लब छाडेर फ्रेन्च क्लब पिएसजी पुगेका नेयमारलाई पुनः क्लबमा फिर्ती गराउने चर्चा चलिरहेको बेला अर्जेन्टिनी स्ट्राइकर लाउतारो मार्टिनेजलाई पनि क्लबमा ल्याउन प्रयास गरिने विषयले पनि केही समय अघिदेखि नै ‘ट्रान्सफर मार्केट’मा अर्को उत्सुकता थपेको थियो ।
यद्यपि आगामी महिना सम्म यी दुई खेलाडीमध्ये एकलाई भने क्लबमा भित्र्याउन सकिने सम्भावना रहेको कुरा उनले जनाएका छन् ।
नेयमारका बारेमा खेल विश्लेषकहरुले प्रश्न गर्दा उनले भनेका छन्, ‘नेयमार ? यस्तो अवस्थामा त सम्भव नै छैन, न त पिएसजी उसलाई बेच्न नै चाहन्छ ।’
इटालियन क्लब इन्टर मिलानबाट खेल्ने गरेका लाउतारोका बारेमा बार्सिलोना र इन्टरबीच भइरहेका छलफलहरु हाल भने हुन भने छाडेका छन् ।
नेयमार र लाउतारो दुवैको मूल्य १०० मिलियन यूरो भन्दा बढी पर्न जान्छ, जुन रकम निकासा गर्न बार्सिलोनाको लागि तत्काल भने सम्भव छैन । यस्तोमा कुनै खेलाडीलाई स्थानान्तरण गरेर हुने आम्दानीमा नै बार्साको खेलाडी अनुबन्धको प्रक्रिया निर्भर गर्दछ ।