scheduleबिहिवार आश्विन १५ गते, २०७७

स्याङ्जाबाट बाइकसहित हराएका युवकको एक महिनापछि हाडखोर भेटियो

पोखरा, १९ साउन । करिब एक महिनादेखि हराइरहेका स्याङ्जाका एकजना युवकको सोमबार कंकाल भेटिएको छ । स्याङ्जाको चापाकोट स्थायी ठेगाना भई पोखराको पर्स्याङ बस्दै आएका पंकज गिरी नाम गरेका ती युवक करिब एक महिनाअघि स्याङ्जाबाट पोखरा आउनका लागि बाइकमा निस्किएका तर त्यही समयदेखि नै सम्पर्कविहीन रहेका थिए ।

नाउँडाडासम्म सम्पर्कमै रहेको भनिएका ती युवकको फोन त्यसयता बन्द भएको बताइएको थियो । उनको बाइक आइतबार मात्र फेदीखोला गाउँपालिकास्थित भालुपहाड तल रहेको सेती नदीमा फेला परेको थियो । माछा मार्न गएका एकजनाले बाइकको पाटपुर्जाहरु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाइक क्षतविक्षत् अवस्थामा भेटिएको भएपनि च्यासिस नम्बरका आधारमा उक्त बाइकको पहिचान भएको थियो ।

बाइक भेटिएको ठाउँ वरपर खोजी गर्दा सोमबार उनको हाडखोर मात्र भेटिएको थियो । कंकाल भेटिएपछि खबर गरेर बोलाइएका युवकका आफन्तले घटनास्थल वरपर भेटिएका कपडाका आधारमा उनको सनाखत गरेका थिए ।

उनको मृत्यु दुर्घटनाका कारण भएको हो वा कसैले नियोजित रुपमा हत्या गरेको हो भन्‍ने यकिन भएको छैन ।

घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय