scheduleशनिवार आश्विन १० गते, २०७७

विराटनगरमा संक्रमणको जोखिम, कार्यालय सञ्चालन गर्न सकस

विराटनगर, २० साउन । विराटनगरमा कोरोना सङ्क्रमणको जोखिमले सरकारी सेवाप्रदत्त कार्यालय प्रभावित बन्न पुगेका छन् । अहिले कार्यालय प्रमुखलाई कार्यालय सञ्चालन गर्न सकस भइरहेको छ ।

यहाँका केही सरकारी कार्यालयका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । यसपछि कार्यालय सञ्चालन गर्न समस्या भइरहेको कार्यालय प्रमुखहरु बताउँछन् । नापी र मालपोत कार्यालय ७२ घण्टाका लागि बन्द गरिएको छ । नापी शाखाका दुईजना कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि मोरङको गोठगाउँस्थित क्वारेन्टिनमा लगिएको छ ।

चालीस जना कर्मचारी रहेको नापी शाखामा सोमबार २० जनाको स्वाब परीक्षणमा पठाइएको छ र आज थप २० जनाको स्वाब लिने तयारी भइरहेको कार्यालय प्रमुख दामोदर वाग्लेले जानकारी दिए । निकै भीडभाड हुने र कार्यालयकै कर्मचारीमा कोरोना देखिएपछि कार्यालायमा स्यानिटाइज गर्नुपर्ने र यसका लागि जनस्वास्थ्य कार्यालय, महानगपालिका वा अन्य सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने उनले बताए ।डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले कर्मचारीलाई विशेष सावधानी अपनाउन र आफ्ना निजी सवारी साधन नभएका कर्मचारीलाई कार्यालय नआई घरबाटै सेवामा जुट्न निर्देशन दिएको बताए ।

कोरोना सङ्क्रमित एक वृद्धाको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर–५ का मधुमेह र उच्च रक्तचापबाट पीडित ७७ वर्षीय वृद्धाको कोशी अस्पताल आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको कोभिड–१९ सङ्क्रमणको रिपोर्ट आउनुअघि मृत्यु भएको प्रमुख बस्नेतले बताए । मोरङमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यहाँ सङ्क्रमितका सङ्ख्या १४२ पुगेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय