scheduleबिहिवार आश्विन १५ गते, २०७७

‘बैठक बस्दा कोरोना सरे केन्द्रीय सदस्यलाई तपाईंको समर्थनमा नारा लगाउन माइतीघर पठाऔं’

काठमाडौं, २० साउन । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डसँगै अर्का नेता झलनाथ खनालबीच मंगलबार साँझ पनि छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ५ बजेबाट सुरु भएको छलफलबाट कुनै सहमति भएन । स्रोतका अनुसार छलफल पुनः बुधबार साँझ ५ बजे बस्नेगरी टुंगिएको छ ।

बैठकमा प्रचण्ड र झलनाथ खनालले केन्द्रीय समितिको बैठकबारे ओलीले दिएको अभिव्यक्तिबारे प्रश्न गरे । बहुमत नभएको कमिटीहरुको बैठकबाट भाग्दै आएका ओलीले केन्द्रीय समितिको बैठकलाई कोरोनासँग जोडेर अभिव्यक्ति दिएका थिए ।

कोरोना संक्रमणको जोखिमका कारण स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राख्न नहुने तर्क गर्न थालेका उनले सचिवालयको बैठक मात्र बस्न सकिने बताउँदै आएका छन् ।
उनले सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नदिने भने पनि ४५० जनाको केन्द्रीय समितिको बैठक राख्न भनिएको भन्दै मंगलबार दिउँसो बालुवाटारमा आयोजित विज्ञसँगको छलफलमा रमाइलो गरेका थिए ।

यही अभिव्यक्तिलाई लिएर खनाल र दाहालले ‘माइतीघरमा सरकारको समर्थनमा भीड उतार्न हुने, दूरी मिलाएर बैठक बस्न नहुने ?’ भन्दै प्रश्न गरेको स्रोतले जनाएको छ । ‘हाम्रा सबै केन्द्रीय सदस्य ओलीजीको समर्थनमा जिन्दावाद भन्दै माइतीघरमा नाराजुलुस निकाल्न गए भने कोरोना सर्दैन, तर बैठक बस्दा कोरोना सर्छ,’ प्रचण्डलाई उद्धृत गर्दै एक नेताले भने ।

छलफलमा नेताद्वयले ओलीलाई लगानी बोर्डमा विचौलियालाई नियुक्त गरिएको भन्दै आपत्ति जनाउनुका साथै अब आइन्दा राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल गर्न चेतावनी दिएका थिए ।

यद्यपि, प्रधानमन्त्री ओलीले सुशील भट्ट योग्य, सक्षम रहेको र प्रतिस्पर्धाबाट जाँच पास गरेर सीईओ बनेको भन्दै नियुक्तिको बचाऊ गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय