scheduleबिहिवार आश्विन १५ गते, २०७७

स्याङ्जामा प्रहरीबाट थुनुवा हुँदै परिवारसम्मै फैलियो कोरोना

पोखरा, २० साउन । स्याङ्जामा मङ्गलबार थप ८ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।  क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका ६ जना पुरुष र २ जना महिलामा संक्रमण देखिएको हो ।

उनीहरु सबै कन्ट्‍याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु हुन् । स्याङ्जामा केही दिनअघि ठुलो मात्रामा प्रहरीहरुमा संक्रमण देखिएको थियो र उनीहरुकै सम्पर्कमा आएका एक थुनुवासहित अन्य पनि संक्रमित भएका हुन् ।

तास खेल्दै गरेको अवस्थामा पक्राउ परी केही दिनमा थुनामुक्त भएका एक जनासहित उनको सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा थुनामुक्त भएकै व्यक्तिसहित उनकै परिवारको ४ जना छन् भने बाँकी ४ जना उनको सम्पर्कमा आएका साथीहरु रहेको बताइएको छ । उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

प्रहरीहरुमा संक्रमण देखिएपछि थुनामुक्त भएकाहरुलाई परीक्षण नगरी पठाउँदा स्थानीयमा पनि संक्रमण सरेको हो ।

स्याङ्जाका प्रहरी प्रमुखले थुनामुक्त गरिएपछि क्‍वारेन्टिनमा राख्‍न जनप्रतिनिधिकै जिम्मा लगाएर पठाएको  दाबी गरेका छन् भने जनप्रतिनिधिहरुले क्‍वारेन्टिनमा राखे पनि उनीहरु फुत्किएको गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् ।

स्याङ्जामा ८ जनामा संक्रमण पुष्‍टि भएसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १५४३ पुगेको छ ।

यसैबीच गण्डकी प्रदेशभर संक्रमणमुक्त भई घर फर्किनेहरुको संख्या १३५२ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय