scheduleबिहिवार आश्विन ८ गते, २०७७

लेबनानमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु, ४००० बढी घाइते

एजेन्सी, २१ साउन – लेबनानको राजधानी बेरुतमा मंगलबार ठुलो विस्फोट हुँदा कम्तीमा ७० जनाको ज्यान गएको छ । ठुलो मात्रामा विस्फोटक सामाग्री राखिएको गोदाममा भएको विस्फोटमा परी चार हजारभन्दा बढी घाइते भएका त्यहाँकाे स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएकाे छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीलेले तटीय क्षेत्रमा रहेको विस्फोटक केन्द्रमा आगो लागेका कारण विस्फोट भएको जनाएको छ ।

ठुलो जनधनको क्षति भएपछि लेबनानका प्रधानमन्त्री हसन दिआबले आज राष्‍ट्रिय शोकको घोषणा गरेका छन् ।

यसैबीच राष्‍ट्रपति माइकल इयोनले २७५० टन विस्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै निन्दा व्यक्त गरेका छन् । उनले विस्फोट कसरी भयो भन्‍ने बारेमा अनुसन्धान थाल्न पनि निर्देशन दिइसकेका छन् ।

त्यस ठाउँमा २०१४ देखि नै विस्फोटक नाइट्रेटको भण्डारण गरिदैँ आएको जनाइएको छ । समुद्री तटीय क्षेत्रमा भएको उक्त विस्फोटपछि वरपरका भवनहरु ध्वस्त भएका छन् । विस्फोटनको आवाज २४० किलोमिटर पर साइप्रससम्म सुनिएको बताइएको छ । सामाजिक सञ्जालमा देखिएका भिडियोको द‍ृश्य निकै डरलाग्दो देखिएको छ ।

लेबनानका पूर्व प्रधानमन्त्री अफिक हरिरिको सन् २००५ मा भएको हत्याबारे अदालती सुनुवाइ हुनुभन्दा केही समय पहिले मात्रै यो विस्फोट भएको हो । मंगलबार आरोपीमाथि अदालतको सुनुवाइ हुदै थियो ।

तर अहिलेसम्म विस्फोटको कारण भने पत्ता लागेको छैन । कसैले यसलाई एउटा दुर्घटनाको रुपमा लिएका छन् भने कसैले नियाेजित घटना बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय