scheduleबिहिवार आश्विन १५ गते, २०७७

इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीयमा आयरल्यान्डको शानदार जीत

काठमाडौं, २१ साउन । पाहुना टोली आयरल्यान्डले इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा शानदार जित हात पारेको छ । श्रृंखला गुमाइसकेको आयरल्यान्डले सान्त्वना जीत निकाल्ने क्रममा इंग्ल्यान्डलाई ७ विकेटले हरायो ।

साउथह्‍याम्पटनको मैदानमा इंग्ल्यान्डले दिएको ३२९ रनको लक्ष्य पाहुना टोलीले एक बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गरेको थियो । उसका लागि कप्‍तान एन्डी बालबिर्ने र पूर्वकप्‍तान पल स्टर्लिङले शतकीय पारी खेले ।

उनीहरु दुईजना मिलेर दोस्रो विकेटका लागि २१४ रनको साझेदारी गरेका थिए । स्टर्लिङ १४२ रन बनाएर रनआउट हुँदा बालबिर्ने भने ११३ रन बनाउँदा आदिल राशिदको बलमा साम बिलिङ्सको हातबाट समातिएका थिए । ५० रन हुँदा एक ओपनर गारेथ डेलानीलाई गुमाएको आयरल्यान्डका लागि त्यसपछि क्रिजमा आएका बालबिर्ने र अर्का ओपनर स्टर्लिङ मिलेर दोहोरो शतकीय साझेदारी गरेपछि आयरल्यान्डको जीत सुनिश्‍चित भएको थियो ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डका लागि पनि कप्तान ओएन मोर्गनले शतकीय पारी खेलेका थिए । त्यसैगरी टम बेन्टन र डेभिड विलीले अर्धशतकीय पारी खेलेपछि इंग्ल्यान्डले ४९.५ ओभरमा अलआउट हुँदै ३२८ रन बनाएको थियो । आयरल्यान्डका क्रेग योङले ३ तथा जोसुवा लिटिल र कर्टिस क्याम्फरले २-२ विकेट लिए ।

खेलको ‘म्यान अफ दि म्याच’ पल स्टर्लिङ भए भने ‘म्यान अफ दि सिरिज’ इंग्ल्यान्डका डेभिड विली घोषित भए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय