scheduleबिहिवार आश्विन १५ गते, २०७७

प्लेअफ फाइनल जित्दै फुलहाम पुनः प्रिमियर लिगमा फर्कियो

काठमाडौं, २१ साउन । रेलिगेसनमा परेको एक वर्षपछि इंग्लिस क्लब फुलहाम पुनः प्रिमियर लिगमा फर्किएको छ । गएराति सम्पन्‍न च्याम्पियनसिप प्लेअफको फाइनल खेलमा ब्रेन्टफोर्डलाई २-१ लाई हराएपछि फुलहाम पुनः प्रिमियर लिगमा फर्किएको हो ।

खेलका तीनवटै गोल अतिरिक्त समयमा भएका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०५औं र ११७औं मिनेटमा फुलहामका जो ब्रायनले गोल गरेका थिए भने ब्रेन्टफोर्डका हेन्‍रिक डाल्सगार्डले अन्तिम मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।

यस खेललाई विश्‍व फुटबल इतिहासकै सबैभन्दा महंगो खेल मानिएको थियो । यो खेलको मूल्य १६० मिलियन पाउण्ड (२५ अर्ब रुपैयाँ) बराबरको रहेको थियो ।

ब्रेन्टफोर्ड विगत ७३ वर्षदेखि प्रिमियर लिगमा पुग्‍न सकेको छैन । ब्रेन्टफोर्डले पछिल्लो पटक १९४७ को सिजनमा प्रिमियर लिग खेलेको थियो । त्यसयता उसले इङल्याण्डको दोस्रो दर्जाको लिग इएफएल लिग पार गरेर प्रिमियर लिगसम्मको यात्रा तय गर्न सकेको छैन । फुलहाम भने सन् २०१८-१९ को सिजनमा घटुवा भएको थियो ।

प्रिमियर लिगको भने यो सिजन सकिइसकेको छ । लिभरपुलले उपाधि जित्दा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा बर्नमाउथ, वाटफोर्ड र नर्विच सिटी भने रेलिगेसनमा परेर इएफएल लिगमा झरेका छन् ।

प्रिमियर लिगमा खाली रहेका तीन स्थानमा लिड्स युनाइटेड र वेस्ट ब्रोम भने यसअघि नै प्रिमियर लिगमा उक्लिसकेका थिए । तेस्रो टोलीको छिनोफानो यही च्याम्पियनसिप प्लेअफको फाइनल खेलबाट भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय