scheduleमगलवार आश्विन ६ गते, २०७७

सर्लाहीमा एक हप्ते निषेधाज्ञा जारी

एसपी यादव/सर्लाही, २१ साउन । सर्लाहीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन सक्ने सम्भावनालाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले साउन २१ गते बुधबार बिहान ६ बजेदेखि साउन २७ गते मंगलवार राती १२ बजेसम्म सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

नेपाल सरकारले संक्रामक रोग ऎन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गर्दै स्थानीय प्रशासन ऎन, २०२८ को दफा ६ (३) बमोजिम ७ दिनसम्मका लागि अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सर्लाही जिल्लाभर लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

मंगलबार जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समितिको त्रीपक्षिय बैंठकले सो निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल जानकारी गराएका छन् ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि भारतसँग जोडिएका सबै सीमानाकाहरु ‘सिल’ गरिएता पनि चोर नाकाहरुको फाइदा उठाउँदै दुईतर्फी आवतजावत सुचारु रहेको र समुदाय स्तरमा कोरोनाले भयावह रुप लिन थालेपछि प्रशासनले निषेधाज्ञा लगाएको बुझिएको छ । यद्यपि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, भीडभाड हुन नदिन तथा संभावित संक्रमण फैलिनबाट सर्वसाधारणलाई जोगाउनका लागी उक्त निर्णय गरिएको बताए ।

उनले भने, निषेधाज्ञा अवधिभर अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, विरामी बोकेको गाडी, दमकल, दूध बोक्ने गाडी, खाद्य वस्तु बोकेको गाडी, शवबाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन बाहेक सबै प्रकारका सार्वजनिक वा निजि यात्रुबाहक सवारीसाधन (मोटरसाइकल समेत) सर्लाही जिल्लाभर पूर्णरुमा निषेध गरिएको जनाए । औषधि उपचार, खाद्य वस्तु खरिद, पेट्रोलियम पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन समेत उनले बताए ।

अत्यावश्यक उपभोग्य सामाग्रीहरु विक्री वितरण गर्ने पेट्रोल पम्पहरु, ग्यास डिपोहरु, औषधि पसलहरु, खाद्य पसलहरु, दैनिक उपभोग्य सामाग्रीका पसलहरुबाहेक अर्धसाप्ताहिक, साप्ताहिक हाट बजार वा मेला लगाउन नपाउने प्रजिअ पौडेलले जनाए ।

आर्थिक, राजनैतिक, सामाजिक, धार्मिक वा अन्य कुनै पनि किसिमको भेला सम्मेलन, भोज भतेर जस्ता समुहमा भेला हुने कार्य समेत बन्देज गरिएको छ । साउन २७ गतेसम्मका लागि जिल्लाका नगरपालिका तथा गाउँपालिका सहित सम्पूर्ण सरकारी कार्यालयहरुबाट सेवा भने बन्द नगरीने प्रजिअ पौडेलले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय