scheduleमगलवार आश्विन ६ गते, २०७७

दुशासनको रथ चढेर सुशासनमा पुगिँदैन

वीरेन्द्र कटुवाल

‘ईश्वर, मलाई मेरा मित्रहरूबाट बचाउ; मेरा दुश्मनहरूको ख्याल राख, म आफैं सक्छु ।’ –भोल्टेयर

यो वाक्यसित भेट भएको रोबर्ट ग्रिनको ‘फोर्टी–एइट लस अफ पावर’ भन्ने पुस्तकमा हो । र, यो भनाइ सत्रौं शताब्दितिरका फ्रान्सका एकजना लेखक, नाटककार तथा दार्शनिक फ्राँस्वा मौरी आहुए उर्फ भोल्टेयरको रहेछ । उल्लेखित शब्दहरूले पङ्क्तिकारको मन र मस्तिष्कमा छोयो ।

इतिहासका पानाहरू पल्टाउँदा यस वाक्यसित मेलखाने थुप्रै पात्र र प्रवृत्तिहरू भेटाइदा रहेछन् । पङ्क्तिकारले वर्तमानकै कालखण्डमा भेट्यो । यसर्थ, यो आलेखको श्रीगणेश तिनै शब्दहरूबाट गरिएको हो ।

रोबर्ट ग्रीनले उक्त पुस्तकमा इतिहासका पानाहरूबाट थुप्रै घटनाहरू टिपेर पस्किएका रहेछन् । र, ती तमाम् घटनाहरूलाई मजाले छिन्किएर शक्तिका केही नियमहरू सिफारिस गरेका रहेछन् ।

उनले सिफारिस गरेको अठचालीस नियममध्ये दोस्रो नियमले भन्दोरहेछ– मित्रमाथि हदभन्दा ज्यादा विश्वास कहिल्यै नगर्नु, बरु दुस्मनलाई उपभोग गर्न सिक्नु ।

दुस्मन छैनन् भने बरु दुस्मन बनाउन सिफारिस गरेका रहेछन्, रोबर्ट ग्रीनले । तर, मित्रलाई अधिक विश्वास नगर्नु भन्दार‘छन् उनी । दुस्मनहरूको महत्व देख्दाखेरी गज्जब लाग्यो । लेखेका रहेछन्, ‘इफ यु ह्याभ नो एनिमिज, फाइन्ड अ वे टु मेक देम । …नेभर पुट टु मच ट्रस्ट इन फ्रेण्डस् ।’

यही प्रसङ्गमा रोबर्ट ग्रीनले भोल्टेयरको उपरोक्त वाक्य सम्झिएका रहेछन् । तर, पङ्क्तिकारले भने नेपालको वर्तमान राजनीति र प्रधानमन्त्री खड्गप्रसाद ओली र उनका मित्रहरूको बोली, व्यवहार र अभ्यासको सन्दर्भमा उपरोक्त पङ्क्तिलाई सम्झिन सान्दर्भिक ठान्यो ।

विश्वका अनगिन्ति घटना र परिघटनाहरूले त्यसै भन्दारहेछन् । ज–जस्ले मित्रहरूलाई अधिक विश्वास र दुस्मनलाई निषेध र विनास गर्न खोजेका छन, उनीहरू आफैं सिद्धिएका छन् । त्यो पनि दुस्मनबाट होइन । आफ्नैबाट । चाहे ती हिटलर हुन या मुअम्मर गद्दाफी । रणाहरू हुन या शाहहरू ।

ए साँच्ची, उति टाढा किन जान पर्‍यो । श्रद्धेय नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई मर्ने बेलामा धुरुधुरु रुवाउने अरू कोही थिएनन् । आफ्नै मित्रहरू थिए । परम मित्रहरू थिए । जसको अक्षमताले १० वर्षे जनयुद्ध ल्यायो । त्यत्रो जनधनको क्षति भयो । पछि, उनैलाई उनका उपासकहरूले युगपुरुष बनाए । तर, जनताले निर्वाचन क्षेत्रबाटै लखेटे । आज नेपाली काङ्ग्रेस जुन साइजमा छ, त्यही शक्ति–अभ्यासद्वारा निशृत शृङ्खलाबद्ध परिणाम हो । उनीहरू दुस्मनको कारण होइन, आफ्नै कारण खुम्चिएका हुन् ।

नियमहरू सार्वकालीक हुन्छन क्यार । अथवा नियमलाई कालको पर्खालभित्र बन्दगर्न सकिन्नँ । त्यसैभएर होला सायद, रोबोर्ट ग्रीनको नियम हिजोमात्रै होइन, आजपनि नेपाली राजनीतिमा कृयाशील छ ।

२०६२–६३ को जनआन्दोलनमा तात्कालिन राजातन्त्रको विरुद्ध सारा जनता ज्यान हत्केलामा राखेर सडकमा पोखिँदा, आजका हाम्रा प्रधानमन्त्री राजदरबारको जस्केलामा बसेर जनसागरमाथि जोक गर्दै थिए, ‘गोरु गाडामा स्वर्ग हिँडेका हरिलट्ठकहरू’ । केही समयपछि तिनै मान्छे संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शक्तिशाली प्रधानमन्त्री भए । प्रधानमन्त्री भएपछिका उनका जोक र राजसी तामसको भोक हामी सबैलाई थाहा भएकै कुरा हो ।

उनका विगत र वर्तमानलाई हेर्दाखेरि उनी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई न्यायगर्न योग्य पात्र हुन भन्ने कुनै आधार भेटिँदैन । उनको हकमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ अवैध सन्तान हो । त्यसोभएको हुनाले उनको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र समृद्धि हुन्छ भन्नु मरुभूमिमा इनार खन्नुभन्दा गतिलो काम थिएन । डिजाइन–डिजाइनका इनारहरू त बन्थे । तर, ती इनारमा पानी आउनेवाला थिएन ।

प्रादेशिक राज्यहरूलाई अधिकारविहीन बनाउने र त्यसको दोष संघीय लोकतन्त्रलाई दिने उनको पछिल्ला गतिविधि र अभ्यासहरूले त्यही कुरा प्रमाणित गरेका छन् । प्रादेशिक राज्यहरूलाई पानीबिनाका इनार बनाउने र संघीय लोकतान्त्रिक गणतन्त्र असफल भयो भनेर झ्याली पिटाउने उनीभित्र निहित उद्देश्य थियो, भन्नेकुरा लगभग सिद्ध भएको छ ।

त्यसो त उनका पक्षमा थुप्रै मान्छेहरू छन् । संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरू थुप्रैछन् । खासगरी आफूलाई उच्च जातको ठान्ने र नेपालीहरूको भाग्य लेख्ने जिम्मा आफ्नै हातमा भएको मान्ने समुदायहरू संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी हुन् । उनीहरू ठान्दछन् कि राज्यका सबै निकायको निर्णय गर्ने ठाउँमा उनीहरू आफै र आफ्ना समुदायका मान्छे हुनुपर्छ । चाहे त्यो रूकुम, रोल्पा होस् या वलाङ्चुङ्गोला । जनकपुर होस कि कैलाली कञ्चनपुर ।

उनका उपासकहरू ठीकै भन्छन्, दुई-चारजना पहिचान गुमाएका मान्छेहरूले आलोचना गरेर उनीहरूको केही खालो सर्नेवाला छैन । उनको लागि भोट मात्रै होइन, ज्यान दिने मान्छेपनि तयार छन् । ‘झिँगाको सरापले डिँगो मर्दैन ।’ हो, पनि ।

पछिल्लो समय नेपाली राजनीतिमा एकाएक फकर परिदृष्यहरू गोचर भइराखेको छ । प्रारम्भमा उल्लेखित भोल्टेयरको भनाइ र रोबोर्ट ग्रीनको नियमले सिफारिस गरे झै, आफ्ना दोस्तहरूले जे जे गरेपनि स्याबासी दिएर आजर्न गरेको शक्ति र मानसम्मान दीर्घजीवी हुँदोरैनछ । त्यस्ता शक्तिशाली मान्छेहरू झिँगाको सरापले नमरेपनि आफैंले र आफ्ना दोस्तहरूले खनेको कुकृत्यको खाल्डोमा परेर मर्नुपर्दो रहेछ । त्यसैले भनिएको होला, नियमहरू शाश्वत हुन्छन् । रोबोर्ट ग्रीनको नियमले सोह्रौं–सत्रौं शताब्दीदेखि आजसम्मपनि काम गर्दैछ ।

सम्भवतः २०४६–४७ पछिकै अधिक शक्तिशाली प्रधानमन्त्री खड्गप्रसाद ओली अप्ठ्यारोमा परेका छन् । माथि भनिसकियो इतिहासतः यो नयाँ कुरा होइन । दोस्तहरूको अति विश्वसको कारण उनलाई दोस्तहरूले नै भड्खालामा हाल्दैछन् ।

उनले दोस्तहरूको खातिर के सम्म गरेनन्, करोडौं भ्रष्टाचार गर्नेलाई प्रशंसापत्र दिएनन् कि ? सरकारी जग्गा खुरुखुरु आफ्नो बनाउनेलाई मन्त्री कनाएनन् कि ? स्वास्थ्य माफियाहरूलाई डिन बनाएनन् कि ? तर आज उनका अनन्य दोस्तहरूका कुकृत्यहरूले उनलाई अप्ठ्यारोमा पारेको छ । त्यो भड्खालोबाट सकुशल उम्किन उनलाई निक्कै गाह्रो छ ।

स्मरण गर्न योग्य कुरा के छ भने, त्यो भड्खालो उनका दुस्मनहरूले खनेका होइनन् । उनका आफ्नैहरूले खनेका हुन् । र, त्यसको कारणपनि उनी आफैँ हुन् । उनका नजिकका दोस्त र उपासकहरू नै हुन् ।

उनका दुस्मनहरू त, भ्रष्टाचारको निमुर्ल गर्न नसकेपनि न्युनीकरण गर्दिए हुन्थ्यो भन्छन् । न्यायलाई धन्दा नबनाइदिए हुन्थ्यो । सर्वसाधरण, गरिबदुःखी, महिला र प्रतिपक्ष विचारलेपनि न्याय पाइदिए हुन्थ्यो भन्छन । तर, उनका दोस्तहरू धन्दा बन्दगर्न खोज्ने ती दुस्मनहरूको अस्थित्वनै नामेट गर्न पाएपनि हुन्थ्यो भन्छन् ।

उनका दुस्मनहरू तथाकथित उच्चजातीय राजनीति नगरिदिए हुन्थ्यो । बसै जातजाती, भेषभुषा, भाषासंस्कृतिलाई नेपाली मानिदिए हुन्थ्यो । राज्यले समान न्याय र व्यवहार गरिदिए हुन्थ्यो । जात र धर्मको आधारमा होचोनीचो, लाखापाखा नगरिदिए हुन्थ्यो, भन्छन् । तर उनका दोस्त त्यसो भन्ने सबैलाई विदेशी दलाल भनेर एउटै चिहानमा दफनाउन पाएपनि हुन्थ्यो भन्छन् ।

उनका दुस्मनहरू जनताले मानोमूठी गरेर तिरेको कर डकार्नेहरूले जनतामाथि नै अन्याय र अत्याचार नगरिदिए हुन्थ्यो भन्छन् । जातीय हिंसा फैलाएर अब राज्यले नवराज बिकहरू, शम्भू सदाहरू नमारिए हुन्थ्यो भन्छन् । सूर्यबहादुर तामाङहरू, मलर सदाहरू भोकभोकै मर्न नपरे हुन्थ्यो भन्छन् । निर्मला पन्त र मुस्कान खातुनहरूका मुस्कान नलुटिए हुन्थ्यो भन्छन् । तर, उनका दोस्तहरू त्यसो भन्नेहरूको विनास भइदिए हुन्थ्यो भन्छन् ।

उनका दुस्मनहरू प्राकृतिक प्रकोपको कारणले बर्सेनि हुने जनधनको क्षति न्युनिकरण गर्न जोखिपूर्ण स्थानका मानव बस्तीहरूलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिदिए हुन्थ्यो भन्छन् । तर, उनका दोस्तहरू प्राकृतिक प्रकोपको प्रताडना बेचेर आर्जन गरिने अथाहा वैदेशिक सम्पतिको श्रोत बन्दगर्न खोज्ने ती दुस्मनहरूलाई त्यही पहिरोमा पुरेर, कोरोनाभाइरस सल्काएर मारिदिन पाएपनि हुन्थ्यो भन्छन् ।

त्यसैले त रोबोर्ट ग्रीन इतिहासबाट थुप्रैथुप्रै घटनाहरू टिपेर सुनाउछन् । र, भन्छन दुस्मन छैनन् भने बरु दुस्मन बनाउँ । तर, दोस्तहरूलाई अधिक विश्वास गर्ने गल्ति कहिल्यै नगर ।

लोकतन्त्रको अभ्यास नहुँदो हो त, अहिलेसम्म यहाँपनि धेरैवटा कोतपर्व दोहोरिने थिए, होलान । यतिखेरसम्म उनीहरूले बल्शोइ तेरोर– (१९३६–३८) को ऐलान गरिसकेका हुनेथिए, होलान् । (बल्शोइ तेरोर–१९३६–३८ स्तालिनले तत्कालीन रूसमा मच्चाएको यस्तो राज्य आतंक हो जस्मा लाखौं सर्वसाधरण र १३९ मध्ये ९८ जाना पार्टीका केन्द्रिय सदस्यलाई गोली ठोकेर मारेका थिए भनिन्छ ।)

यदि यहाँ लोकतन्त्रको अभ्यास हुन्थेन भने, यतिखेरसम्म धेरै प्रतिपक्ष आवाजहरू दफनाइसकिएका हुने थिए, होलान् । ती महान शहीदहरूप्रति आभार व्यक्त गर्नै पर्छ कि उहाँहरूले आफ्नो ज्यान दिएर लोकतन्त्र बचाइदिनु भयो । र त आज प्रतिपक्ष आवाजहरू दफनाइबाट जोगिएका छन् ।

वीरेन्द्र कटुवाल

कतिपय दोस्तहरूलाई इर्श्या र जलनपनि हुन्छ । दोस्तहरूलाई कमजोरीपनि थाहा हुन्छ । त्यसैले उनीहरूले शक्तिमा रहेको दोस्तको कम्जोरीलाई आफ्नो व्यक्तिगत फाइदाको लागि प्रयोग गर्छन् । किनभने उसलाई थाहा छ, दोस्तले जे गरेपनि, जे भनेपनि विश्वस गर्छ । त्यसैले त यहाँ भ्रष्ट र दलालहरू प्रशंसापत्र र पुरस्कारहरूबाट विभूषित भइराखेका छन् ।

दोस्तहरूलाई अधिक विश्वास गर्नुको बदलामा दुस्मनहरूलाई प्रयोग गर्न जानियो भने उनीहरूले धोका दिँदैनन् । किनभने उनीहरूलाई थाहा हुन्छ कि धोका दियो भने फेरि विश्वास जित्न सकिन्न । त्यसैले इमान्दारी भएरै काम गर्छन् । त्यही भएर वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले दोस्तहरूलाई भन्दा विपक्षहरूलाई, आफ्ना गुटका हनुमानहरूलाई भन्दा अन्य गुटका विभीषणहरूलाई विश्वासमा लिएर काम गर्ने होभने उनको लागिपनि र राष्ट्रको लागिपनि हितकर हुन्छ ।

अन्तमा महाभारतको एउटा प्रशङ्गबाट विषयको बिट मार्न चाहन्छु । त्यहाँ एकजना दुशासन भन्ने पात्र हुन्छ । उसले भाइ–भारदारहरूको शभाका द्रौपतीको चीरहरण गर्छ । अथवा आफ्नै कुल–वधूलाई निर्वस्त्र बनाउने कोशिश गर्छ । धृतराष्ट्र, भीष्मपितामह, द्रोणाचार्य, कृपाचार्य जस्ता महारथीहरू मूकदर्शक नबेर दुशासनको उक्त दुष्कृत्यको मनोरञ्जन लिन्छन् । आजको नेपालको राज्यसत्ताको चरित्र लगभग यस्तै गोचर हुन्छ ।

द्रौपतीहरू बलात्कृत हुने र मारिने, धृतराष्ट्रहरू न्यायमूर्ति बन्ने र दुशसानहरूको पक्षमा फैसला सुनाउने, र सत्ताको भत्ता खाएर रमिते भएर बस्ने हाम्रा जनप्रतिनिधिहरूलाई देख्दा मुलुकको दुर्गतिको सङ्केत गर्छ । मानौ वर्तमान सरकार दुशासनहरूले चलाएको रथ चढेर सुशासनको यात्रामा निस्किएका छन् । जुन कदाचित सम्भव छैन । कामरेडहरू, दुशासनहरूले चलाएको रथ चढेर सुशासनमा पुगिदैन ।

त्यसैले कामरेडहरू, दुशासान जस्ता आफ्ना दोस्तहरूलाई अधिक विश्वास गर्नुभन्दा, प्रतिपक्षका सल्लाह र सुझावहरूलाई पनि स्वीकार गरेर यो संकटको घडीमा साथसाथ हिँड्ने हो भने, सबैको लागि हितकर छ ।

(लेखक हाल साउदी अरबको जेद्धामा कार्यरत छन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय