scheduleबिहिवार आश्विन १५ गते, २०७७

प्रचण्डलाई वामदेवको जवाफ- म कुनै गुटमा लाग्दिनँ

काठमाडाैं, २१ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफु कुनै गुटमा नलाग्ने बताएका छन् । नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला उक्त पार्टीका उपाध्यक्ष वामदेव गौतम चर्चाको पात्र बनेका छन् ।

गत साउन १३ मा बोलाइएको नेकपाको स्थायी कमिटी बैठक स्थगन गरेपछि ओली सोमबार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका थिए। त्यहींबाटै गौतम ओलीइतर समूहमा सामेल भएका भन्ने कतिपयको बुझाइ रहेको छ ।

त्यसपछि नेकपा अध्यक्ष दाहाल पनि मंगलबार उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटी पुगे। पछिल्लो समय ओलीप्रति केही लचक देखिएका गौतमलाई दाहालले मंगलबार भेटेपछि नेकपामा फेरि अर्को समिकरण बनेको चर्चा चलेको बेला गौतमले बुधबार विज्ञप्ति मार्फत दाहालसँग भएको भेटबारे प्रष्टाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ-  ‘स्मरणीय छ कि साउन १३ गते उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्न दुवै अध्यक्षसमक्ष राख्नुभएको प्रस्तावउपर सोही दिन पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसक्नुभएको थियो । २० गते पार्टीका अर्का अध्यक्ष प्रचण्ड उपाध्यक्षलाई भेट्न जानुहुँदा उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभयो।’

सो भेटबारे विभिन्न टीका-टिप्पणी भएको भन्दै भेटमा पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी भएको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय