scheduleआइतवार आश्विन ११ गते, २०७७

मजदूरको हितविरुद्ध गरिएको कुनै पनि सम्झौता मान्दैनौंः अध्यक्ष अधिकारी

काठमाडौं, २१ साउन । समाजवादी होटेल क्यासिनो तथा रेस्टुरा मजदुर संघ नेपालका अध्यक्ष केशवराज अधिकारीले मजदूरको हितविरुद्ध भएका कुनै पनि सम्झौताहरु नमान्ने चेतावनी दिएका छन् ।

बुधबार होटेल एसोसिएसन नेपालका अध्यक्ष सिर्जना राणालाई ज्ञापनपत्र बुझाउँदै जेटियुसिसी र श्रम मन्त्रालयबीचको सम्झौता लागू नगरे आफ्नो संगठनले होटलहरुबाट संघर्ष सुरु गर्ने चेतावनी दिएका हुन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष राणाले संकटको अवस्थामा पनि सरकारले होटल व्यवसायीलाई नहेरेको भन्दै गुनासो गरिन् ।

‘अहिले मजदुरको समस्या भनेको कसरी कमाउने ? भन्ने होइन, बरु कसरी बाँच्ने भन्ने हो । तर, मजदूर आन्दोलनका अगुवा भन्नेहरुले कसरी कमाउने भन्ने स्वार्थका लागि केन्द्रमा राखेर पछिल्लो समय होटल, क्यासिनो तथा रेष्टुराँ मजदूरका बारेमा गरेका केही सहमति, सम्झौताप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’
बुधबार बुझाईएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘कोरोना भाइरसभन्दा पहिला भोकले मर्नुपर्ने अवस्था सिर्जना भएका श्रमिकहरु गम्भीर मानसिक आघातको अवस्थामा छन् । उनीहरुलाई नै थप मर्माहत पार्नेगरी २०७७ असार २८ गते हानसँग ट्रेड युनियनका घटक संगठनका अध्यक्षहरुबीच गरिएको सम्झौता मजदूरविरोधी मात्र नभई सम्पूर्ण श्रमिकहरुलाई कुठाराघात गर्नुका साथै विधिको शासन र कानूनी राजको समेत धज्जी उडाएको छ ।’

नेपाल सरकार र जेटियुसिसीलाई समेत बेवास्ता गरेर गरिएको उक्त सम्झौता कुनै पनि हालतमा मान्य नहुने अध्यक्ष अधिकारीले बताए । ‘हामी उक्त सम्झौता अबिलम्ब खारेज गर्न आग्रह गर्दै हालै जेटियुसिसी र श्रम मन्त्रालयमा बन्दाबन्दीको अवस्थालाई ध्यान दिँदै चैत्र महिनाको पूरै, वैशाख महिनाको आधार जेठमा पनि कामको प्रकृति हेरी काममा आउनेलाई पूरै, नआउनेलाई खाईपाई आएको आधा दिने भनी गरिएको सहमतिलाई कार्यान्वयन नगरे हामी कडाभन्दा कडा संघर्षमा उत्रने प्रष्ट पार्न चाहन्छौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय