scheduleबिहिवार आश्विन ८ गते, २०७७

पोखरामा एकजना प्रहरीमा कोरोना संक्रमण

पोखरा, २१ साउन । पोखरामा एकजना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । सामान्य ज्वरोको लक्षण देखिएपछि साउन १८ गते स्वाब संकलन गरिएका उनमा बुधबार संक्रमण पुष्‍टि भएको हो ।

३८ वर्षे ती प्रहरी पोखरा-३ स्थित नदीपुर बिटमा कार्यरत प्रहरी हवल्दार भएको स्रोतले बताएको छ ।  कुनै ट्राभल हिस्ट्री नभएका उनमा ड्युटीमै खटिएका बेला कोरोना पुष्‍टि भएको हुन सक्ने कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताएका छन् ।

स्थायी घर गोरखा भएका ती प्रहरी स्वाब संकलन गराएपछि फिस्टेल अस्पतालमा भर्ना भएका थिए । उनमा पहिल्यैबाट ज्वरो आइरहेको भए पनि कसैलाई थाहा नदिएको र परीक्षण पनि नगराएका जनाइएको छ ।

पोखरामा बुधबार साँझसम्म १ सय २९ जनामा कोरोना पुष्‍टि भएको छ जसमध्ये ९० जना निको भएर फर्किसकेका छन् ।

यसैबीच क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ती प्रहरीसहित अन्य दुईजनामा पनि संक्रमण पुष्‍टि भएको छ । उनीहरु बाग्लुङको गल्कोट र जैमिनिका एक पुरुष र एक महिला हुन् ।

प्रदेशभर संक्रमितको संख्या १५५५ पुग्दा १३६२ जना निको भएर घर फर्किएका छन् । हालसम्म ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

आजै विहान मात्र पोखरा महानगरको क्‍वारेन्टाइनमा रहेका ७ जना र होम क्‍वारेन्टाइनमा रहेका २ जनामा पनि संक्रमण पुष्‍टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय