scheduleबिहिवार आश्विन १५ गते, २०७७

रोगप्रतिरोधी क्षमता बढ्दा कोरोना पोजेटिभ, नेगेटिभ हुन्छः डा. कमर

सुदूरपश्चिम, २१ साउन । गएको चैत १४ गते सुदूरपश्चिम प्रदेशमा पहिलोपटक कोभिड–१९ का एक जना सङ्क्रमित प्रदेशको राजधानी जिल्ला कैलालीमा भेटिएको पुष्टि भयो । त्यसपछिको दुई हप्ताभित्रमा जम्मा पाँच जनामा कोरोना भाइरस सङ्क्रमण भएको भेटिएपछि कैलाली जिल्ला शुरुको अवस्थामा कोभिड–१९ को ‘इपिसेन्टर‘का रुपमा देखिँदा एक खालको सन्त्रास मात्र बढेन, सबैको ध्यान यो जिल्लामा पुग्यो ।

सङ्क्रमित फेला परेसँगै सरकारले सेती प्रादेशिक अस्पताल धनगढीलाई तत्कालै ‘कोभिड–१९ डेडिकेटेड अस्पताल’का रुपमा तोक्यो । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसिएन डा शेरबहादुर कमरलाई ‘कोभिड–१९ उपचार विभाग’ प्रमुखमा तोकेर सङ्क्रमितको उपचार र व्यवस्थापनको काम अघि बढ्यो ।

विश्वमा कोरोनाका कारण धेरै व्यक्तिको ज्यान गएका खबर सार्वजनिक भइरहँदा देखिएको सन्त्रास र उच्च जोखिमका बीच कैलाली जिल्लामा भेटिएका सङ्क्रमितको उपचार, निगरानी र व्यवस्थापन गर्न डा कमरको नेतृत्वको टोलीले हिम्मत हारेन । पर्याप्त सुरक्षा सामग्रीको अभावका बाबजुद अग्रपङ्क्तिमा रहेर यो टोलीले शुरुको अवस्थामा भेटिएका सबै सङ्क्रमितमा केही हप्ताभित्रमा ‘कोरोना नेगेटिभ’को नतिजा ल्याउन सफलता पायो ।

सङ्क्रमित बिरामीको उपचार र व्यवस्थापन कार्यमा अस्पतालका फिजिसियन डा निराजनदत्त पौडेल, डा सन्तोष पाण्डे, मेडिकल अधिकृत डा अशोक चौधरी, डा समीर खान डा विजयविक्रम बमका साथै नर्सिङ र प्रयोगशालाको टोली र सरसफाइ कर्मचारीको योगदान पनि महत्वपूर्ण रहेको डा कमर बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का सङ्क्रमितको उपचार, निगरानी लगायतको कामका लागि खटिनुहुने डा कमरले राससका सिद्धराज भट्टसँग मङ्गलबार गरेका कुराकानी-

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का बिरामी भेटिएपछि पहिलो पटक उपचार व्यवस्थापनको काम तपाइँंको नेतृत्वको टोलीले गर्‍यो, उपचार गर्दा भोगेका समस्या र अनुभव के छन् ?

डा कमरः नेपालमा कोरोना भाइरस पोजेटिभ देखिएपछि चौथो केश सुदूरपश्चिम प्रदेशमा देखिएको हो । कोरोना भाइरस नयाँ रोग भएका कारण विश्वमा धेरै मानिसको मृत्यु भएको अवस्थामा सबैमा त्रास र हतास मनस्थिति थियो, तर यसलाई विस्तारै ‘म्यानेज’ गरियो । शुरुमा केही अप्ठ्यारो महसुस भए पनि धेरै गाह्रो भएन ।

सरुवा रोगको रुपमा रहेको कोरोना भाइरसको हालसम्म खास उपचार छैन । उपचार नभएकाले सङ्क्रमितमा जे जे समस्या देखिन्छन्, तिनको समाधानका लागि उपचार खोज्ने कुरा नै मुख्य उपचार हो ।

सेती प्रादेशिक अस्पतालमा शुरुको अवस्थामा भर्ना भएका सङ्क्रमित सबै जनालाई ३५/३६ दिनमै ‘कोरोना नेगेटिभ’ नतिजा ल्याउन कसरी सफलता पाउनुभयो ?

डा कमरः रोग निको हुनका लागि शरीरमा रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी पावर)बढाउनु पर्ने जरुरत पर्छ । यसका लागि सङ्क्रमितलाई गाह्रो महसुस हुँदा सक्दो उपचार गर्छौं भनेर आश्वस्त पार्नुपर्छ । यसबाहेक सङ्क्रमितसँग बारम्बार कुरा गर्ने, प्रत्येक दिन केही समस्या छ छैन भनेर सोधपुछ गरिरहने गर्नुपर्छ ।

विशेषगरी बिरामीलाई आश्वस्त पार्ने र रोगसँग लड्नसक्ने क्षमता बढाउनका लागि के के कुरामा सहयोग गर्नुपर्छ भन्नेमा ध्यान दिइ सोहीअनुसारको उपचार व्यवस्थापन गरिएकाले अहिलेसम्म एक जनाबाहेक सबै निको भएर घर फर्किनुभएको छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ तर अधिकांश सङ्क्रमितमा कुनै त्यस्तो लक्षण नदेखिएको भन्ने छ, किन होला ?

डा कमरः सङ्क्रमितमध्ये ९८/९९ प्रतिशतमा कोरोनाको लक्षण देखिएको छैन । सामान्यतया यो एक प्रकारको भाइरल हो । भाइरल ‘इम्फेक्सन’ अरु रोगमा पनि हुन्छ । जतिमा सङ्क्रमण देखियो, ती व्यक्ति ‘एक्टिभ’ उमेरका रोगसँग लड्न सक्ने क्षमता भएका व्यक्ति नै बढी भएकाले लक्षण नदेखिएको हो ।

रोगसँग लड्न सक्ने क्षमता कमजोर भएका बच्चाबच्ची, वृद्धवृद्धा र दीर्घरोगीमा यो रोगको ‘इम्फेक्सन’ हुँदा लक्षण देखिने गरेको तथ्याङ्क छ ।

पछिल्लो समयमा बन्दाबन्दी खुकुलो भएसँगै रोगको जोखिम थप बढ्न सक्ने भन्ने जोखिम र भय देखिन्छ, यस्तो अवस्थामा के सुझाव दिनु हुन्छ ?

डा कमरः अहिलेसम्मको तथ्याङ्कलाई हेर्ने हो भने जोखिम घटेको भन्न मिल्दैन । जोखिम यथावत छ । लकडाउन खुल्दा मान्छेको चहलपहल र भीडभाड बढेको छ । यस्तो अवस्थामा समुदायमा लुकेर रहेका ‘केश’ फैलिन सक्ने सम्भावना छ । अहिले पनि जोखिम छ, परीक्षणको दायरा बढाउन जरुरी छ । समुदायमा लुकेर बसेका केशबाट एक आपसमा रोग सर्नसक्ने जोखिम छ ।

आइसोलेशनमा बसेका सङ्क्रमित बिरामीको उपचार गर्दा खासगरी के के कुरामा बढी ध्यान दिनुपर्ने हुन्छ ?

डा कमरः लक्षण नदेखिएका बिरामीलाई मापदण्डअनुसार भर्ना गर्नु पर्दैन, कुनै औषधि दिन आवश्यक पनि हुँदैन । यस्ता बिरामीलाई केवल एकान्तवासमा तोकिएको नियमअनुसार राख्दा राम्रो हुन्छ । घर र आइसोलेशनमा बस्न नसक्ने र लक्षण भएका व्यक्तिलाई भर्ना गर्ने गरेका छौँ ।

अरुलाई सङ्क्रमण नफैलियोस् भनेर सङ्क्रमितलाई भर्ना गर्नुपरेको हो । कोभिड–१९ सङ्क्रमितमा जटिलता देखियो भने एक दुई दिनमा नै थप गम्भीर अवस्था हुनसक्ने हुँदा निजलाई निरन्तर निगरानीमा राख्नुपर्ने हुन्छ । त्यसमा ज्वरो आउने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने हुन्छ । अक्सिजनको मात्रा घट्दा बिरामीको अवस्था थप बिग्रन सक्छ । यस्तो अवस्थामा तत्काल अक्सिजन र भेन्टिलेटरमा राख्न सकेनौँ भने बिरामीको मृत्यु हुनसक्छ ।

पछिल्लोपटक कतिपय जिल्लामा समुदायमा पनि कोरोना फैलिरहेको भन्ने खबर सार्वजनिक भइरहेका छन् । सुदूरपश्चिम प्रदेशमा यस्तो अवस्था सिर्जना भएमा प्रादेशिक अस्पतालको पूर्वतयारी कस्तो छ ?

डा कमरः प्रादेशिक अस्पतालले आफ्नो क्षमताअनुसार काम गरिरहेको छ । केश बढ्दै गएमा उपचारका लागि गर्नुपर्ने पूर्वतयारीका बारेमा स्वास्थ्यकर्मीलाई सजग गराउने काम भइरहेको छ । अस्पतालमा ५० श्यया कोभिड–१९ को वार्डका लागि छुट्याइएको छ । चार श्यया आइसियुका लागि छुट्याइएको छ ।

आवश्यक जनशक्ति र उपकरणसहित थप पूर्वाधार जुटाउन सकेमा अस्पतालको अहिलेको क्षमता बढाउन सकिन्छ । विदेशमा जस्तो समुदायमा धेरै केश फैलिएको अवस्था सिर्जना भएमा भने सेती प्रादेशिक अस्पताल र नेपालले पनि धान्न सक्ने अवस्था रहँदैन ।

भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको समस्या भयावह बन्दै गइरहेको अवस्थामा उक्त प्रदेशसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा यसको जोखिम कतिको देख्नुहुन्छ ?

डा कमरः भारतमा झण्डै चारदेखि पाँच लाख सुदूरपश्चिमवासी कामका लागि जाने गरेको आँकडा रहेको अवस्थामा त्यहाँ सङ्क्रमणको अवस्था बढ्दा यो प्रदेशमा पनि जोखिमको अवस्था रहन्छ नै । अहिलेसम्म भेटिएका केशमध्ये अधिकांश भारतबाट आउनेमा देखिएकाले अझै पनि जोखिम यथावत छ ।

अन्त्यमा कोरोना सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई के सल्लाह सुझाव दिनुहुन्छ ?

डा कमरः सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा जाने व्यक्तिमा यो रोग सर्न सक्ने भएकाले सङ्क्रमितको सम्पर्कमा आउनु हुँदैन । तोकिएको मास्क लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, पटकपटक साबुनपानीले मिचीमिची हात धुने र भीडभाडमा जानुहुँदैन । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय