scheduleशनिवार आश्विन १० गते, २०७७

सेभिया र वुल्भस् यूरोपा लिग फुटबलको क्‍वाटरफाइनलमा प्रवेश

काठमाडौं, २३ साउन । यूरोपा लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न अन्तिम १६ का खेलहरुमा स्पेनिस क्लब सेभिया र इंग्लिस क्लब वुल्भरह्‍याम्पटन वान्डरर्सले आ-आफ्नो खेलमा जीत निकालेका छन् ।

घरेलु मैदानमा भएको खेलमा सेभियाले रोमालाई २-० ले हराएको हो । उसको जीतमा सर्जियो रेगुइलोन र युसुफ एन नेसरीले एकएक गोल गरे । खेलको २१औं मिनेटमा रेगुइलोनले गोल गरेका थिए भने ४४औं मिनेटमा एन नेसरीले अर्को गोल थपेका थिए । खेलको इन्ज्युरी समयको अन्तिम क्षणमा रोमाका जियान्लुका मान्सिनीले खराब फाउल गरेपछि रातो कार्ड खाएका थिए ।

यस्तै अर्को खेलमा इंग्लिस क्लब वुल्भस‍्ले ओलम्पियाकोसलाई १-० ले हराउँदै समग्रमा २-१ को अग्रताका साथ क्‍वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । गएराति सम्पन्‍न दोस्रो लेगको खेलमा वुल्भसलाई जिताउन राउल जिमेनेजको गोल नै पर्याप्त रह्‍यो । उनले आठौं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका थिए । खेलमा त्यसपछि थप गोल हुन सकेनन् ।

अब सेमिफाइनल प्रवेशका लागि वुल्भस् र सेभिया नै भिड्नेछन् ।

अन्य खेलहरुमा जर्मन क्लब बार्यन लेभरकुसनले रेन्जर्सलाई र बासेलले फ्रान्कफर्टलाई समान १-० गोलअन्तरले पराजित गर्दै क्‍वाटरफाइनलमा प्रवेश गरेका छन् ।

युरोपयन च्याम्पियन्स लिग अन्तर्गतका खेलहरु पनि आज रातिदेखि सुरु हुँदै छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय