scheduleबिहिवार आश्विन ८ गते, २०७७

‘ओली हटाएर के चमत्कार हुन्छ ? यी ७ प्रश्नको जवाफ दिन नसके अर्को ओली जन्मिन्छ’

साझापोष्ट टिप्पणी

काठमाडौं, २३ साउन । सत्तारुढ नेकपाभित्रको विवाद भुसको आगो जस्तो सल्किरहेको छ । देशभर नै नेतादेखि कार्यकर्तासम्म गुटबन्दी भइरहेको छ । एउटै पार्टीभित्रका नेताहरु एकले अर्कोलाई दानवीकरण गर्न दौडधुप चलिरहेको छ ।

आफ्नो गुटका नेताहरुको अनावश्यक देवत्वकरणमा पनि नेता कार्यकर्ताहरु अब्बल नै देखिएका छन् । गालीगलौज र आलोचना यति ध्वंसात्मक बनिरहेको छ कि भोलि पार्टी नफुट्दा सँगै बसेर कसरी काम गर्न सक्लान् भन्ने पनि लाग्न थालेको छ ।

गालीगलौजमा समय बिताइरहेका नेता कार्यकर्ताहरु पार्टीभित्रको वास्तविक समस्या पर्गेल्न भने रुचि देखाइरहेका छैनन् । नेकपाभित्रको झगडा रचनात्मकभन्दा ध्वंसात्मक धेरै छ । कम्युनिष्टहरुले पछ्याउने लेनिनवादी संगठनात्मक विधि बेवारिसे बनेको छ ।

खासगरी ओली समूह र सरकारको कार्यशैलीबारे नेकपाभित्र चर्को असन्तुष्टि र आलोचना छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्नुपर्ने बताइरहेका छन् ।

तर, के ओलीले कुनै पद छाडेर त्यो कुर्सीमा अर्को व्यक्ति बस्नासाथ समस्याको समाधान होला ? नेकपाभित्रको अहिलेको समस्या व्यक्तिगत हो कि प्रवृत्तिगत ?
राजनीतिक विश्लेषक तथा जनता समाजवादी पार्टीका नेता डम्बर खतिवडाको विचारमा यो ओलीको समस्या नभएर ओलीज्मको समस्या हो ।

खतिवडाको प्रश्न छ, ‘प्रचण्ड-माधव-झलनाथ कमरेडहरुकाे असन्तुष्टि ओलीविरुद्ध हाे कि ओलीज्म ? ओलीमा भन्दा हजार गुणा बढी समस्या ओलीज्ममा छ । विचार, एजेन्डा र प्रवृति कायम राखेर व्यक्ति ओली हटाउँदा मात्राकाे भिन्नता आउला गुणकाे भिन्नता आउन्न ।

खतिवडाका अनुसार विचार र प्रवृतिकाे कसीमा सिङ्गाे नेकपा उस्तै थाेत्राे देखिन्छ । उनी भन्छन्, ‘मानौं, ओली हटाएर तपाईंहरुमध्ये काेही प्रधानमन्त्री हुँदा पनि निम्न प्रश्नमा के फरक गर्नु हुन्छ ?’ विश्लेषक खतिवडाको सात प्रश्नहरु छन्-

१. संविधान संशाेधन र प्रदेश पुनर्सीमाङ्कनबारे के गर्नुहुन्छ ?
२. शासकीय स्वरुप र निर्वाचन प्रणालीमा कुनै परिवर्तन गर्नुहुन्छ ?
३. जारी नवउदारवादी अर्थनीति र अर्थतन्त्रको ढाँचामा के परिवर्तन गर्नुहुन्छ ?
४. सुशासन कायम गर्न कर्मचारीतन्त्रकाे पुनर्गठन, न्याय प्रणाली र दण्डाधिकारी निकायकाे सवलीकरण कसरी गर्नुहुन्छ ?
५. शिक्षा र स्वास्थ्य क्षेत्रमा के नयाँ गर्नु हुन्छ ?
६. बढ्दो भूराजनीतिक जटिलताबीच कसरी चल्नु हुन्छ ?
७. काेरोनाकाे मानवीय र आर्थिक संकट हल गर्न के गर्नुहुन्छ ?

खतिवडाको विचार यी सवालमा केही गर्न नसक्ने हो भने ओली हटाएर आउने पात्रको नाम फरक भए पनि ऊ अर्को ओली हुनेछ । ‘ओलीज्म यी सवालमा जारी तरिकाकाे समग्र नाम हाे । जबसम्म याे कायम रहन्छ ओली गए अर्काे आए पनि उहीँ हाे । ओली सरकार असफल भएकाे सत्य हाे । उनले आफैं बुझेर राजीनामा गर्नु पर्ने हाे ।’

खतिवडाको विचारमा अहिले ओलीविरुद्ध लडाईं लडिरहेकाहरु पनि पद, प्रतिष्ठा र अहंका लागि एजेण्डाहीन लडाइँ लडिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय