scheduleमगलवार आश्विन ६ गते, २०७७

अपराधमा राजनीतिक संरक्षणः रञ्‍जनको जीत, निर्मलाको हार !

रुद्रप्रसाद भट्ट

कुनैपनि देशमा न्यायलयले दिने न्याय र राज्यसत्ताले दिने सेवाले त्यहाँको जनताको खुशी, स्वतन्त्रता, न्यायिक हक, मानवअधिकार र सुरक्षाको मापन गर्दछ । जनताको खुशीकै आधारमा त्यस देशको प्रगति, विकास र समृद्धिको मुल्यांकन गरिन्छ ।

संसारका यस्ता धेरै देश छन् जहाँ जनताले पाउनुपर्ने सामान्यदेखि उच्चतम सुविधा र न्यायिक हकले त्यहाँको शासकको समेत लोकप्रियता मापन गरेको हुन्छ । युरोपका केहि यस्ता देश छन् जहाँ राजनीतिक पार्टीको विचार र सिद्धान्त होईन, जनतालाई प्राकृतिक न्यायको सिद्धान्तको आधारमा सेवा र खुशी दिईन्छ । जसले गर्दा त्यहाँका शासक पनि जनतामा लोकप्रिय छन् ।

चाहे दुनियाँले चिनोस् वा नचिनोस् तर केहि देशका प्रधानमन्त्री र राष्ट्रपति यस्ता पनि छन् जसलाई जनताले कहिल्यै शासनसत्ता र सेवाको गुनासो गर्ने अवस्था छैन । हाम्रो देशमा भने त्यसको ठीक उल्टो छ । यहाँ जनताको लागि शासक वा सत्ताधारीले प्राकृतिक न्यायको सिद्धान्तअनुसार सेवा दिन्छन् भन्नु दन्त्यकथा जस्तो हो ।

आफ्नै पत्नी गीता ढकालको हत्या गरेर कानूनले सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोईराला ८ वर्षमै जेलमुक्त भए । मादक पदार्थ खाएर कार चलाउँदा सडकमा हिँडिरहेकी महिलालाई किचेर फरार पृथ्वी मल्ललाई ज्यानमुद्दाको सट्टा ५ लाख धरौटीमा रिहा गरियो । कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लागेन । यस्ता कयौं घटना छन् जसले न्यायालयले दिने न्यायलाई नै बदनाम गराए ।

नेपालको सत्ता, न्यायालय, प्रहरी प्रशासन, राजनीतिक दल र कर्मचारीतन्त्रलाई नै बद्नाम गराउने काम ती संस्थाबाटै भएका हुन् वा विचौलिया र ठेकेदारले गर्दैछन् ? आजको सवाल यो हो । के साँच्चिकै हाम्रो देशमा न्याय किन्न सकिन्छ ?

यसको जवाफ राज्यसँग मात्रै होईन, कसैसँग छैन । तर, भन्नचाहिँ छाडिंदैन की न्यायको किनबेच भयो । यसको एउटै कारण फोहोरी राजनीति नै हो ।

रुद्रप्रसाद भट्ट

नियुक्ति, सरुवा, बढुवामा राजनीतिक संरक्षण र पार्टीगत भागबण्डाका कारण न्यायलय पनि बेलाबेला बद्नाम हुन पुगेको छ । पार्टीका नेता तथा पार्टीबाट सांसद भैसकेका व्यक्तिलाई न्यायलयमा नियुक्ति दिलाउनु र पैसा र पहुँचको भरमा जस्तोसुकै मुद्दालाई जिताउने र हराउने खेल शुरु भएपछि न्यायलय र कानूनका रक्षकमाथि प्रश्न उठ्नु स्वभाविक हो ।

पार्टीको तर्फबाट सांसद वा राजनीतिक नियुक्ति लिईसकेको व्यक्ति नै न्यायलयमा पुग्यो भने वा कुनैबेला महत्वपूर्ण पदमा पुग्न उसले राजनीतिक नेतृत्व वा व्यापारीको सहयोग लियो भने उसले गर्ने न्याय एक पक्षीय हुन्छ की निश्पक्ष ? प्रश्न उठाउन सकिने प्रशस्त ठाउँ यहिँनेर छ ।

श्रीमती हत्याको आरोपमा सर्वस्वसहित जन्मकैद पाएको व्यक्ति ८ वर्षमा राजनेता जस्तो गरेर हात हल्लाउँँदै कारागारबाट निस्कन्छ भने त्यहाँ न्यायलाई गिज्याईरहेको अनुभूति हुन्छ की हुँदैन होला ? अर्कोतिर एउटी १३ वर्षीया बालिका बलात्कृत भएर हत्या हुँदा समेत हत्यारा समेत पत्ता लागेन भनेर पन्छिन खोज्नु लज्जाको बिषय हो की होईन ? कुरा गीता ढकाल र निर्मला पन्तको मात्रै होईन । एकाबिहानै रक्सीले मातेर सडकमा जथाभावी गाडी चलाउँदा पैदलयात्रीको मृत्यु हुने तर उसैलाई पैसा र पावरको भरमा अपराधबाट उन्मुक्ति दिने न्यायलय कसरी निर्विवाद हुनसक्छ ?

भनिन्छ, आवेगमा र भावनामा बगेर न्यायको छिनोफानो गर्न मिल्दैन । तर पैसा र पावरको प्रभावमा वा राजनीतिक पार्टी र सत्ताको आडमा कसैले न्याय किन्न सक्छ ? पैसा हुने र नहुनेबीचको न्याय फरक–फरक कसरी हुनसक्छ त ?

यदि त्यसो होईन भने निर्मला पन्तको हत्यारा कहिले न्यायलय पुग्छन् र कहिले उनको आत्माले शान्ति पाउँछ ? यसको जवाफ न्यायालयले दिने हो की सरकारले ? की प्रहरी प्रशासनले मात्रै दिएर पुग्छ वा राजनीतिक नेतृत्व र सरकारको नेतृत्व समेतले जिम्मेवारी लिनुपर्दछ ?

कति कारागारमा यस्ता कैदी छन् जसले सवारी ज्यान मुद्दामा कडा सजायँ भोगिरहेका छन् । उनीहरुको बोलिदिने कोहि छैन र पैसा लगाउन सक्ने क्षमता पनि छैन । तर, रक्सीले मातेर सडकमा हिँडिरहेको महिलालाई कारले किचेर मार्ने पृथ्वी मल्ल ५ लाख धरौटीमा कसरी छुट्न सक्छ ?

श्रीमती हत्याको मुद्दामा जन्मकैद भोगिरहेको व्यक्ति अकस्मात सबैलाई अचम्मित पार्दै कारागारबाट हात हल्लाउँदै बाहिर निस्कनु र टेलिभिजनमा गएर हुँदै होईन भन्ने ताकत कसरी आयो ?

जेलबाट निस्कँदा चलचित्रको नायक वा राजनेताको जस्तो रवाफ र टेलिभिजनमा बोल्दा कुनै अपराध गरेर होईन विश्‍व विजेता बनेर फर्केको खेलाडी जस्तो शैलीमा प्रस्तुत हुने रन्जन कोईरालाले अब समाजलाई किन टेर्ने, राज्यलाई किन मान्‍ने ? कानून र न्यायको यसरी खिल्ली उडाउँदै गर्दा राज्य संयन्त्रका अन्य अंग संसद, विभिन्न समिति, राजनीतिक दल किन चुपचाप छन् ? उनीहरुको बोली समेत बन्द गराउन सक्ने कस्तो संजीवनी बुटी लिएर फर्केका छन् रन्जन ?

आज श्रीमति मारेर प्रेमिका तारा रेग्मीको कारमा चढेर हिँड्नेले भोलि अर्को अपराध गर्दैन भन्‍ने आधार के हो ? उसको व्यवहार सच्चिएको हो वा अझै हिंस्रक र कठोर हुनसक्दैन भन्ने ग्यारेण्टी कसले गर्न सक्छ ?

यस्ता घटनालाई सामान्य रुपमा लिईदिँदा वा न्यायालय एकोहोरो भैदिँदा समाजमा अझै पनि भ्रष्ट, दलाल, कमीसनखोर, बलात्कारी, हत्याराले संरक्षण पाईरहेको र न्याय मर्दै गएको अनुभूति हुँदै गएको छ । ठूला वा साना जुनसुकै अपराधलाई अपराधकै नजरले मात्रै हेर्नुपर्दछ । यदि अपराधमा राजनीति हावी भयो वा अपराधीको संरक्षणमा नेता वा राज्यसंयन्त्र लाग्यो भने भोलिका दनिमा अझै अवस्था भयावह बन्न सक्छ ।

तसर्थ, घटना घटेलगत्तै पहिला प्रहरीले अनुसन्धान गर्ने बेलामै राजनीतिक नेतृत्व वा उच्चवर्गको अवरोध हुने, अनुसन्धानलाई प्रभावमा पार्ने र प्रमाण नष्ट गर्न सघाउने, यदि अदालत पुगिहाल्यो मुद्दालाई कमजोर बनाउने अवस्था रहिरहेको अवस्थामा अझै सयौं वर्ष पनि रन्जनहरुको जीत र निर्मलाहरुको हार हुने निश्चित छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय