scheduleबिहिवार आश्विन १५ गते, २०७७

किसानका लागि उन्नत कृषि प्रविधिमा पहुँचः कहिले र कसरी ?

डा. वेदप्रसाद खतिवडा र सुन्दर खतिवडा

कृषि उत्पादन बढाउनु र खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्नु नै कृषि क्षेत्रको लक्ष्य हो । कृषिमा उत्पादन बढाउन केही उपायहरु अपनाइन्छन् । जस्तै- उपलब्ध उपायहरुमा खेती गरिने क्षेत्रफलको वृद्धि गर्नु, खेती प्रणालीमा सघनता प्रणाली अपनाउनु वा बाली चक्रभित्र घुसुवा बालीको अवलम्बन गरी थप बालीको उत्पादन गर्ने गरिन्छ ।

यसका अलावा पछिल्ला केहि दशकयता भने कृषिमा उत्पादन बढाउनका लागि उन्नत कृषि प्रविधिको प्रयोग बढिरहेको छ । यसका लागि कृषि प्रविधिको विकास, उपलब्धता, अवलम्बन र समुचित प्रयोग आदि प्रमुख छन् ।

कृषि प्रविधिमा पछिल्लो समय उल्लेख्य विकास भए पनि नेपाली किसानहरु त्यसबाट लाभान्वित हुन सकिरहेका छैनन् । संसारभरिका यससम्बन्धि सिकाईहरुलाई नेपाली किसानले कम्तिमा अध्ययन सामग्रीका रुपमा सहज र सरलरुपमा पाउन सकेका छैनन् ।

कृषिका प्रविधिहरु
कृषि प्रणालीमा कृषिको उत्पादनसँग सम्बन्धित विभिन्न प्रविधिहरु विकास गरिएका छन् । कतिपय प्रविधिहरु निश्चित हावापानी, जलवायुको प्रकृति, मौसम आदि विशेषका लागि विकास गरिएका हुन्छन । कतिपय प्रविधिहरु भने यान्त्रीकिकरण वा अन्य कृषि प्रणालीहरु अन्य स्थानका लागि पनि उपयुक्त हुन सक्छन् ।

बाली उत्पादन भित्र पनि बीउ वा बेर्ना वा बिरुवा उत्पादनको प्रविधि, मलखाद व्यवस्थापन वा मल बनाउने प्रविधि, रोगकीरा व्यवस्थापनका विधि तथा प्रविधिहरु, वा बालीको टिपाइपछिका विभिन्न प्रविधिहरु आवश्यक हुन्छन् । यस्ता प्रविधिहरुका अलावा बाली सघनताको प्रविधि (धानमा बाली सघनताको प्रविधि), फलफूल उत्पादनमा बाली सघनताको प्रविधि तथा यसका लागि आवश्यक जातको विकास, आवश्यक यान्त्रिकीकरणको विकास आदि पनि उपलब्ध रहेका छन् ।

कृषि उत्पादन प्रविधिमा आएको व्यापक परिवर्तन र विश्वभरमा भएका नविनतम अध्ययन, अनुसन्धान र प्रचारप्रसारको प्रयास र सफलताले पनि कृषि प्रविधिलाई अझै नयाँ उचाईमा लगेको छ ।

फलफूल बालीहरुको लागि बिरुवा उत्पादनका लागि ग्राफ्टिङ प्रविधि प्रयोग गर्न सकिन्छ । यसबाट उन्नत जातको सायन तथा स्थानीय वा मजबुत जरा भएका जातको रुटस्टकको प्रयोग गरी बिरुवाको उत्पादन गर्न सकिन्छ । त्यस्तै, उच्च पहाडी क्षेत्र वा कीराहरुको आक्रमणबाट बचाएर नर्सरी बिरुवाको उत्पादन गर्ने सामान्य प्रविधिहरु उपलब्ध हुन्छन् ।

सामान्य लाग्ने प्रविधिहरुको प्रयोगले बागवानी क्षेत्रमा उत्पादकत्व वृद्धि गर्न अत्यन्त महत्वपूर्ण भूमिका निभाएका छन् । बीउ तथा बिरुवा उत्पादनका अलावा कृषिमा क्षेत्रमा पछिल्ला केहि वर्षहरुमा प्लाष्टिक टनेल वा स्थायी संरचना निर्माण गरी उत्पादन गर्ने प्रविधिको पनि व्यापक माग छ ।

मलखाद तथा विषादी बनाउने वा प्रभावकारी प्रयोग, सिंचाई व्यवस्थापन, यान्त्रिकीकरण, वा बाली उत्पादन भएपछि आवश्यक पर्ने पोष्टहार्भेष्ट व्यवस्थापन, यातायात तथा ओसारपसार व्यवस्थापन आदिसँग सम्बन्धित विविध प्रविधिहरु उपलब्ध छन् ।

कृषि प्रविधिका स्रोतहरु
सञ्चारक्षेत्र खासगरी इन्टरनेट प्रविधिमा आएको क्रान्तिकारी परिवर्तन र सामान्य परिवार वा किसानहरुसम्म पनि यसको सहज पहुँचले आजको संसारमा कृषिमा धेरै सम्भावनाका ढोकाहरु खोलिदिएका छन् । इन्टरनेट वा युटयुबमा आफुले चाहेको विषय वा प्रविधिको बारेमा चाहनासाथ आवश्यक जानकारी वा श्रव्यदृष्य सामग्री पाउन सकिने अवस्था उपलब्ध छ ।

विश्वमा कृषि विकासका लागि क्रियाशील विभिन्न संघसंस्थाहरु संयुक्त राष्टसंघीय खाद्य तथा कृषि संगठन होस् वा एशिया क्षेत्रमा तरकारी विकासका लागि क्रियाशील रहेको संस्था विश्व तरकारी केन्द्र होस्, यहाँ कृषि उत्पादन प्रविधि, मलखाद राख्ने प्रविधि, सिंंचाइ प्रविधि, रोग तथा किरा व्यवस्थापन प्रविधि आदिका बारेमा धेरै जानकारी पाउन सकिन्छ । बालिनालीको पोष्टहार्भेष्ट व्यवस्थापनसँग सम्बन्धित समस्याहरुको समाधान तथा प्रविधिहरुको जानकारी यहाँ पाउन सकिन्छ ।

नेपालभित्र पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट नेपाली भाषा तथा अङ्ग्रेजी भाषामा तयार गरिएका कृषि उत्पादनसँग प्रविधिहरु सहजरुपमा र बिना पैसा उपलब्ध छन् । कृषि मन्त्रालयअन्तर्गतको कृषि सूचना तथा सञ्चार महाशाखाबाट उत्पादन गरिएका कृषि कार्यक्रम तथा विभिन्न पुस्तिका, पुस्तक, फोल्डर आदि जिल्ला स्थित कृषि ज्ञान केन्द्रमा निशुल्क पाउन सकिन्छ ।

त्यस्तै देशका विभिन्न क्षेत्रहरुलाई लक्षित गरी अन्नबाली, तरकारीबाली वा फलफूल, मसलाबाली आदिमा गरिएका अध्ययन, अनुसन्धानलाई नेपाल कृषि अनुसन्धान परिषद र यसका विभिन्न बालीलक्षित अनुसन्धान कार्यक्रमको वेभपेज वा कार्यालयमा नै गएर पनि यससँग सम्बन्धित विविधि प्रविधिहरुको बारेमा जानकारी लिन सकिन्छ । किसानका भाषामा तयार गरिएका यस्ता प्रकाशनहरु निश्चय नै किसानका लागि लाभदायक हुन्छन् ।

नेपालमा गैरसरकारी क्षेत्रबाट पनि कृषि उत्पादन तथा यससँग सम्बन्धीत विभिन्न प्रकाशनहरु प्रचुर मात्रामा पाउन सकिन्छ । नेपालमा लामो समयदेखि कृषि विकासका लागि समर्पित अग्रणी संस्थाहरु फरवार्ड नेपाल का प्रकाशनहरु वेभपेज तथा अर्को संस्था लिबर्ड प्रकाशनहरुमा निःशुल्क पाउन सकिन्छ ।

यसका अलावा कृषि तथा वन वन विश्वविद्यालयका प्रकाशनहरु होस् वा त्रिभुवन विश्वविद्यालय अन्तरगतको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका अनुसन्धान पुस्तिकाहरु वा यसका सारहरु हुन्, सबै स्रोतहरु अत्यन्त उपयोगी र कृषि उत्पादन वृद्धिका लागि महत्वपूर्ण आधारहरु हुन् ।

आगामी बाटो
एकातर्फ कृषि प्रविधिहरुको विकास द्रुत गतिमा भइरहेको छ भने अर्कोतर्फ किसानहरु पनि यस्ता कृषि प्रविधिहरु प्रयोग गर्नका लागि तत्पर देखिएका छन् । पछिल्ला केहि वर्षयता त युवाहरु कृषि पेशामा लागेको अवस्था पनि बढ्दै गइरहेको छ र नयाँ नयाँ प्रविधिहरुको खोजी पनि बढ्दै गइरहेको छ । यस अवस्थामा कृषिका जर्नलहरु वा विभिन्न प्रकाशनहरुमा रहेका नविनतम र उपयोगी कृषि प्रविधिहरु किसानहरुसम्म किसानहरुले बुझ्ने भाषामा उपलब्ध हुन सकेका छैनन् ।

केहि अपवाद बाहेक अधिकांश कृषि प्रविधिहरु नेपाली बाहेकका भाषा खासगरी अंग्रेजी भाषामा उपलब्ध रहेका छन् । यसका लागि यस्ता कृषि प्रविधिहरुलाई नेपाली भाषामा उल्था गर्नुपर्छ । किसानले बुझ्ने सरल भाषामा तयार पारिएका यस्ता सामग्रीहरुलाई किसानको सहज पहुँच रहेको किसान समूह, कृषि सहकारी, दूग्ध उत्पादक सहकारी संस्थाहरु, वा हरेक गाउँपालिका वा नगरपालिकाको कार्यालय वा किसानहरुको जमघट हुने स्थानहरु हाटबजार आदिमा उपलब्ध गराउनुपर्छ । यस्तो गर्न सकेमा किसानहरु प्रत्यक्ष लाभान्वित हुन सक्ने देखिन्छ ।

ती कृषि प्रविधिका सामग्रीहरु वा श्रव्यदृश्य सामग्रीहरु स्थानीय भाषामा पनि उपलब्ध हुन सकेमा किसानहरु साँच्चै खुशी हुने देखिन्छ ।

(डा. वेद खतिवडा, अष्ट्रेलियामा रहेर कृषि उपजको गुणस्तर तथा पोष्टहार्भेष्ट व्यवस्थापनमा काम गर्छन् भने सुन्दर खतिवडा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनमा कृषि संकायका स्नातक तहका विद्यार्थी हुन्)

‘कृषि र जीवन’ स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरुः

नेपाली कृषिको अबको बाटो: रणनीतिक लगानी र सुनिश्चित बजार

साना किसानका लागि सस्तो पोष्टहार्भेष्ट प्रविधिः शून्य शक्ति शित भण्डार र गमला फ्रिज

नेपालका हेपिएका बालीहरु र यसको बहुआयामिक महत्व

जंगली च्याउ: पहिचान, सचेतना र अनुसन्धानको आवश्यकता

जंगली उपजको संकलन र उपभोगः संरक्षणको प्रश्न र मानव स्वास्थ्यको जोखिम

कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

एकीकृत कृषि फार्म: एक युवा अनुभव

‘अर्थतन्त्र थप धरासायी हुनबाट रोकौं, खाद्य प्रणालीको स्थानीयकरण गरौं’

कृषिमा मौरीको महिमा

व्यवसायिक कृषिका अनिवार्य शर्तः बजार, प्रविधि र रणनीतिक लगानी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय