scheduleबिहिवार आश्विन ८ गते, २०७७

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६०० नाघ्यो

प्रतिक भट्ट

पोखरा, २४ साउन । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक शनिबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा बाग्लुङका १३ जना स्याङ्जाका ७ जना, कास्कीका ३ जना र म्याग्दीका १ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १६११ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङको बाग्लुङ नगरपालिकाका १३ जना पुरुषमा संक्रमण पुष्‍टि भएको छ । उनीहरु सबैजना महोत्तरीबाट आएका व्यक्तिहरु भएको बताइएको छ ।

यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाका ६ जना पुरुष तथा कालीगण्डकीका १ जना पुरुषमा पनि संक्रमण भेटिएको छ । उनीहरु पहिलेका संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु भएको जनाइएको छ ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिका वडा नं १७ र ९ का गरी दुईजना पुरुषमा संक्रमण पुष्‍टि हुँदा वडा नं ९ कै एकजना महिलामा पनि संक्रमण देखिएको छ । वडा नं १७का पुरुष भारतबाट आएका र अन्य दुईजना कन्ट्‍याक्ट ट्रेसिङबाट परीक्षण गरिएका हुन् ।

म्याग्दीको बेनी नगरपालिका-४ का एकजना पुरुषमा पनि संक्रमण भेटिएको छ । उनी पनि भारतबाट आएका व्यक्ति हुन् ।

गत २४ घण्टामा क्षयरोग उपचार केन्द्रमा गरिएका ७८२ नमूना परीक्षणमध्ये २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएका सबै २८ नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६० जना संक्रमितहरु निको भएका छन् र हालसम्म डिस्चार्ज हुनेको संख्या पनि १४४३ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय