scheduleबिहिवार आश्विन ८ गते, २०७७

बालुवाटारमा कोरोना आतंकः प्रधानमन्त्रीले नै भनेका थिए ‘मास्क खोलेर फोटो खिचौं’

काठमाडौं, २४ साउन । ‘आज बिहान परीक्षणका लागि स्वाब लिइएकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीकाे रिपाेर्ट नेगेटिभ आएकाे छ,’ शुक्रबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा यो स्टाटस लेखे ।

उनले अगाडि लेखे, ‘बालुवाटारबाट बिहान प्रधानमन्त्रीज्यूसहित पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाकाे स्वाब लिइएकाे थियाे । र, सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे पनि जानकारी गराउन चाहन्छु ।’

थापाको स्टाटसबाट थाहा हुन्छ, प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री मन्त्री ज्ञानेन्द्र यादवलाई विहीबार कोरोना संक्रमण पुष्टि भएपछि बालुवाटार आतंकित थियो । किनकि प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका कारण यो एउटा गम्भीर समाचार थियो ।

मन्त्री यादवलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक हुनासाथ प्रधानमन्त्रीले मात्र होइन, उनीसँग पछिल्लो समय सम्पर्कमा आएका दर्जनौं मानिसको कोरोना परीक्षण गरियो । सात वटै प्रदेशका मन्त्री र गृहमन्त्री रामबहादुर थापासहित प्रधानमन्त्री ओली पनि सहभागी बैठक थियो त्यो ।

उता गृहमन्त्री रामबहादुर थापाले पनि कोरोना परीक्षण गरिहाले । उनी पनि उक्त बैठकमा सहभागी थिए । उनको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

बालुवाटारले आतंक निवारण गर्न रातारात कोरोना परीक्षण गरायो । कतिपयले सामाजिक सञ्जालमा प्रतिक्रिया दिए, ‘प्रधानमन्त्रीको परीक्षणको नतिजा रातारात आउँछ, जनताको कोरोना परीक्षणको नतिजा बिरामी भएर मरेपछि आउँछ ।’

हुन त प्रदेश २ का मन्त्रीहरुको नतिजा आउन पनि ढिलाई भइरहेको छ । जनता मात्र होइन, संघीय मन्त्री र प्रदेशका मन्त्रीहरुबीचको प्राथमिकता पनि फरक छ ।

बालुवाटारलाई यतिधेरै तनाव दिनेगरी भएको लापरबाहीको केन्द्रमा प्रधानमन्त्री ओली नै रहेको खुलासा भएको छ । बैठकका एक सहभागीले भने, ‘प्रधानमन्त्रीज्यूले मास्क लगाएर पनि के तस्वीर लिनु, सबैले मास्क खोलौं भन्नु भो । त्यसपछि सबैले मास्क खोल्यौं र केहीबेर तस्वीर खिच्ने काम भयो ।’

तस्बिर खिच्न प्रस्ताव प्रदेशका मन्त्रीहरुले राखे पनि मास्क फुकाल्ने प्रस्ताव प्रधानमन्त्रीले राख्नु उनको गम्भीर लापरबाही भएको टिप्पणी सुरु भएको छ । उनले आफ्नो स्वास्थ्य अवस्थालाई बेवास्ता गर्नु उनकै लागि घातक हुनसक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

‘प्रधानमन्त्रीज्यूले नै मास्क खोलौं भनेपछि अरुले हुन्न भन्न सक्ने अवस्था रहेन । त्यो पनि अरु प्रधानमन्त्री होइनन्, केपी ओलीले भनेका,’ तस्बिर सार्वजनिक गर्ने गृह मन्त्रालयका एक अधिकारीले भने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय