scheduleबिहिवार आश्विन १५ गते, २०७७

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनलमा

काठमाडौं, २५ साउन । यूरोपियन च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्‍न अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले सहज जीत निकालेको छ । क्‍वाटरफाइनल प्रवेश गर्ने क्रममा उसले नेपोलीलाई ३-१ ले हराएको हो । पहिलो लेगमा १-१ को बराबरी भएको खेल बार्सिलोनाले समग्रमा ४-२ ले जित्दै अन्तिम ८ को यात्रा तय गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन क्लेमेन्ट लेंगलेट, लियोनल मेसी र लुइस स्वारेजले एकएक गोल गरे । नेपोलीका लागि लोरेन्जो इनसाइनले सान्त्वना गोल फर्काएका थिए ।

खेलका सबै गोल पहिलो हाफमै भएका थिए । १०औं मिनेटमा फ्रान्सेली खेलाडी लेंगलेटले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २३औं मिनेटमा लियोनल मेसीले आकर्षक ढंगले गोल गर्दै बार्साको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई स्वारेजले गोलमा परिणत गर्दै अग्रता फराकिलो पारे । त्यसैगरी नेपोलीले पनि इन्ज्युरी समयमै पाएको पेनाल्टीमा गोल गर्दै गोलअन्तर केही कम गरेको थियो ।

नेपोलीको मैदानमा भएको पहिलो लेगको खेलमा यी दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

बार्सिलोनाले अब सेमिफाइनल प्रवेशका लागि बायर्न म्युनिखसँग खेल्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय