scheduleशनिवार आश्विन १० गते, २०७७

पाकिस्तान विरुद्धको टेस्ट श्रृंखलामा इंग्ल्यान्डको विजयी सुरुवात

काठमाडौं, २५ साउन । पाकिस्तान विरुद्धको टेस्ट श्रृंखलाअन्तर्गत पहिलो टेस्टमा घरेलु टिम इंग्ल्याण्डले जीत हात पारेको छ । गएराति सम्पन्‍न खेलमा इंग्ल्यान्ड तीन विकेटले विजयी भएको हो । पाकिस्तानले दिएको २७७ रनको लक्ष्य इंग्ल्यान्डले एक दिनको खेल बाँकी रहँदै ७ विकेट गुमाएर पूरा गरेको हो ।

म्यानचेस्टरमा टस जितेर ब्याटिङ थालेको पाकिस्तान पहिलो पारीमा ३२६ रन बनाएर अलआउट भएको थियो । उसका लागि ओपनर शान मसुदले १५६ रनको योगदान दिएका थिए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र जोफ्रा आर्चरले ३ ३ विकेट लिएका थिए । त्यसपछि ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो पारीमा अलआउट हुनुपूर्व २१९ रन मात्र बनाउन सक्यो । उसका लागि ओली पोपले सर्वाधिक ६२ रनको योगदान दिएका थिए । पाकिस्तानका स्पिनर यासिर शाहले ४ विकेट लिए ।

१०७ रनको अग्रताका साथ दोस्रो पारी सुरु गरेको पाकिस्तानले केवल १६९ रन बनाउँदा अलआउट भयो । यसबेला पाकिस्तानको अग्रता २७६ रनको भएको थियो । दोस्रो पारीमा कुनै पनि ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न ब्रोडले तीन तथा क्रिस वोक्स र बेन स्टोक्सले २ २ विकेट लिए ।

२७७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा २७७ रन बनाउँदै जीत हात पार्यो । क्रिस वोक्सले अविजित ८४ रन बनाए भने जस बट्लरले ७५ रनको योगदान दिए । खेलको ‘म्यान अफ दि म्याच’ इंग्ल्यान्डका क्रिस वोक्स घोषित भए ।

जीतसँगै तीन खेलको श्रंखलामा इंग्ल्याण्डले १ ० को अग्रता बनाएको छ । दोस्रो टेस्ट आउँदो बिहीबार साउथह्‍याम्पटनमा सुरु हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय