scheduleबिहिवार आश्विन १५ गते, २०७७

च्याम्पियन्स लिगको क्‍वाटरफाइनल समीकरण पूरा, चेल्सीलाई हराउँदै बायर्न पनि अन्तिम आठमा

काठमाडौं, २५ साउन । यूरोपियन च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्‍न अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखले सहज जीत निकालेको छ । क्‍वाटरफाइनल प्रवेश गर्ने क्रममा उसले इंग्लिस क्लब चेल्सीलाई ४-१ ले हराएको हो । पहिलो लेग ३-० ले जितेको बायर्नले दोस्रो लेग पनि आफ्नो नाम गर्दै समग्रमा ७-१ ले खेल जित्दै अन्तिम ८ को यात्रा तय गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिच र कोरेन्टिन टोलिसोले एक एक गोल गरे । चेल्सीका लागि टामी अब्राहमले एक गोल फर्काएका थिए ।

खेलको १०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४औं मिनेटमा पेरिसिचले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा चेल्सीका टामी अब्राहमले गोल फर्काए पनि चेल्सी खेलमा फर्कन सकेन । दोस्रो हाफको ७६औं मिनेटमा टोलिसोले गोल थपे भने ८४औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता फराकिलो पारे ।

चेल्सीकै मैदानमा मैदानमा भएको पहिलो लेगको खेलमा पनि बायर्नले ३-० को फराकिलो जीत दर्ता गरेको थियो ।

यो खेलसँगै अब च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समीकरण पनि पूरा भएको छ । अब सेमिफाइनल प्रवेशका लागि बायर्न म्युनिख र बार्सिलोना खेल्ने छन् । त्यसैगरी एट्लान्टाले पेरिसको सामना गर्दा म्यान्चेस्टर सिटी र लियोन तथा एट्लेटिको मड्रीड र लेपजिग पनि आमनेसामने हुनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय