scheduleबिहिवार आश्विन १५ गते, २०७७

चेपाङहरूको भागमा परेको साम्यवाद

समाजिक सञ्जालमा समाजको अनुहार हेर्ने युगमा छौं यतिखेर हामी । फेसबुक र ट्वीटर ऐना भएका छन् । त्यहाँ अनेकथरी चेहराहरु आउँछन् । त्यहाँ मानवीय मनोविज्ञान, समाज र राज्यका सबैखाले तस्वीरहरु भेटिन्छन् । राम्रा, नराम्रो, प्रतिगामी, प्रगतिशील, क्रान्तिकारी, प्रतिक्रान्तिकारी यावत । कोरोनाले जीवनलाई हदैसम्म संकुचन गर्दिएको यो समय सामाजिक अन्तक्रियाका आधारहरु निरन्तर भर्चुअल हुँदै जानु अस्वभाविक हैन ।

तर यो ‘भर्चुअलिटी’ एक पाखण्ड, एक कृत्रिमता, एक असवाफ सुतुरमुर्गी प्रवृति र एक अपराधजस्तो अनुभूति हुन्छ हृदयमा । कोरोना महाव्याधिको पराकाष्ठाबीच पनि मान्छे वास्तविक जीवन भोग्दैछन्, भर्चुअलिटी हैन । सूर्यबहादुर तामाङ र मल्लर सादाहरु ‘भर्चुअल मान्छे’ हैन, ‘रियल मान्छे’ थिए । नवराज विक र अंगिरा पासीहरु कुनै ‘भर्चुअल मान्छे’ थिएनन् ।

चितवन कुसुम खोलामा आगो लगाएर जलाइएका, हात्ती लगाएर भत्काइएका चेपाङ बस्तीहरु ‘भर्चुअल बस्ती’ थिएनन् । आरक्षणभित्रको भौडा र दहबाट घुङी टिपेबापत् मारिएका अनाम चेपाङ युवाको लास कुनै ‘भर्चुअल लास’ थिएन । शम्भु सदालाई हिरासतभित्र मार्ने सवैलाको प्रहरी कार्यालय ‘भर्चुअल प्रहरी थाना’ हैन । न त सिंहदरबार कम र बालुवाटारबाट बढी शासन गरिरहेका केपी ओलीको साम्यवादी सरकार नै कुनै ‘भर्चुअल सरकार’ हो ।

यी सबै ती क्रुर यथार्थ हुन्, जुन हामी भोग्दैछौं । त्यो युगमा भोग्दैछौं जतिखेर दुईतिहाईको साम्यवादी सरकार छ । झापा विद्रोहमा नक्सलवादको अभ्यास गरेर आएका ओली र एक दशक लामो जनयुद्धमा माओवादको महागाथा निर्माण गरेर आएका प्रचण्डको द्वैध सत्ता छ । ओली माडीका मेयरलाई बोलाएर अयोध्यापुरीमा भव्य राममन्दिर बनाउन उर्दी गर्दैछन् । प्रचण्डका दाया हात मानिएर शक्ति बस्नेत कुसुमखोलामा जलेको चेपाङ बस्ती घर नभएर गोठ भएको बयान दिँदै झुठको नयाँ कीर्तिमान तयार गर्दैछन् ।

डम्बर खतिवडा

सामाजिक सञ्जालमा हिजो साँझ देखेँ, माडीका मेयरले ओलीलाई भने, ‘राममन्दिरभन्दा पहिला चेपाङका घरहरु बनाउँ ।’ यदि ती मेयरले यो साँच्चै भनेका हुन् भने मान्नुपर्छ उनी ‘भर्चुअल मेयर’ हैनन्, ‘रियल मेयर’ हुुन् । ती कुन पार्टीका हुन्, मलाई चासो छैन । चिवतनको माडीमा अरु कुन पार्टीका होलान र ? पक्कै सत्तारुढ पार्टी कै होलान् । सत्तारुढ पार्टीका मेयरले सत्तारुढ पार्टीको प्रधानमन्त्रीलाई त्यति जवाफ गर्न सक्दछ भने मान्नु पर्छ कि यो देश मरिसकेका छैन । धुकधुकी अझै बाँकी छ यो देशको आत्ममा ।

तर ठीक उल्टो प्रचण्डले शक्ति बस्नेतलाई कुनै निर्देश गरेनन् । प्रचण्ड चितवनलाई आफ्नो गृहनगर, गृहजिल्ला भन्दछन् । कुनै समय शक्तिखोरमा माओवादीको ठूलो लडाकु क्याम्प थियो । त्यही वरिपरि बस्ने चेपाङबारे उनी बेखबर थिए मान्न सकिन्न ।

चितवनबाट सांसद जितेका प्रचण्डले चेपाङ बस्तीहरुमा ओली सरकारले आगो लगाउँदा न कुनै आपत्ति गरेँ, न कुनै प्रेस वक्तव्य निकाले न कुनै मागपत्र पेश गरे । बडो आनन्दले आङ कन्याएर सुते ।

पार्टीभित्रको सत्ता र शक्तिको विवादमा ओलीसँग असन्तुष्टि पोख्न र नियोरा गर्न उनी महिनौंदेखि बालुवाटार धाइरहेका छन् । कम्तीमा दुईमध्ये एक पद आफ्ना लागि छोडीदेउ भनेर बारम्बार ओलीसँग बिन्ती गर्दैछन् । बहुमत भएको भनिएको स्थायी समिति, बहुमत भएको भनिएको केन्द्रीय समितिको बैठक बोलाएर संस्थागत प्रक्रिया अगाडि बढाउने न आँट छैन ।

ओलीसँग दिनका दिन बैठक गरेर, ओलीकै निगाहको भातभान्छा खाएर ओलीलाई हटाउने प्रचण्ड रणनीति भने उदेकलाग्दो छ । तर यी कुनै पनि बैठकमा एक शब्द उनले राज्यको आततायी आगोले पोलेका, उन्मत्त हात्तीहरुले भत्काएका चेपाङ बस्तीको प्रसङ्ग निकालेनन् । मान्छेहरुको मनमा यतिखेर अजङ्गको प्रश्न छ– यी प्रचण्ड तिनै प्रचण्ड त हुन् ? कि प्रचण्ड अन्तै कतै छुटिसक्यो ?

रोल्पाको थवाङबाट सिंहदरबारको यात्रामा निस्किएका प्रचण्ड बालुवाटारमा ओलीको सामु पुग्दा पैतालादेखि टाउकोसम्म सबै खिइएर लिखिरलिखिर टुप्पी मात्र बाँकी रहेका त हैनन् ? ‘भर्चुअल’ भनिएको यो दुनियाँमा सबैथोक ‘रियल’ भोगिरहेका जनता जनार्दन सामु ‘रियल’ भनिएका प्रचण्ड मात्र ‘भर्चुअल’ भएका त हैनन् ? कहाँ हरायो त्यो प्रचण्ड ? कहाँ छुट्यो प्रचण्ड आवेग ? ओलीको सामु कुम हल्लाउने नियतिकै लागि यति लामो नाटक जरुरी थियो ?

चेपाङहरुको भूमिहीनता, गरिबी, अशिक्षा र अगलाब हामीभन्दा बढी पक्कै प्रचण्डलाई थाहा हुनुपर्दछ । म जीवनमा पहिलोपटक चितवनको शक्तिखोर पुग्दा न माओवादी जनयुद्ध शुरुवात नैै नभएको थिएन, न प्रचण्डको नाम नै सुनेको थिएँ । एमाले र कांग्रेसको रजगज रहेको र संयुक्त जनमोर्चा भन्ने पार्टी कुना परेको त्यो समय एउटा विकासे संस्थाले चेपाङ बस्तीको गरिबी देखाउन मलाई शक्तिखोर लगेको थियो ।

पछि माओवादीको लडाकु शिविर बनेको त्यो जमिनमा त्यतिखेरै एउटा ठूलो चौर थियो । त्यहीनेरबाट शुरुवात हुन्थ्यो साना पहाड र डाँडाहरुको श्रृंखला । त्यही क्षेत्रमा बाँसले बनेका ससाना सयौं झुप्राहरु थिए । ती झुप्रामा चेपाङहरु बस्थे । चेपाङहरुको परिचय दिँदै त्यो विकासे संस्थाका प्रतिनिधिले भनेका थिए, ‘यी मानिस लगभग शतप्रतिशत सकुम्बासी छन् । अन्न खान जाँन्दैनन् । गिठ्ठा भ्याकुर खान्छन् । मानिस देखे घर छोडेर जंगलतिर लाग्दछन् ।’

लडाकु समायोजनपछि शक्तिखोरको त्यो चौरमा सायद अहिले आर्मी वा सशस्त्र प्रहरीको ब्यारेक होला । शक्तिशालीहरुले चाहँदा त्यहाँ रातारात शिविर बस्यो । रातारात ब्यारेक बन्यो । तर त्यो चौर त्यही वरिपरि हजारौं हजार वर्षदेखि बसेका चेपाङहरुको हुन सकेन । त्यही शक्तिखोरको चौर मात्र चेपाङहरुको व्यवस्थित बस्ती बसाउन प्रयोग गरिएको भए उनीहरुले आरक्षणको अनधिकृत क्षेत्रमा, कुसुमखोलामा झुुप्रा हाल्नुपर्ने थिएन ।

शक्तिखोरको त्यो चौरमा गरेको बैठक मलाई अहिले पनि याद आउँछ । त्यहाँ हाम्रो टोलीसँग अन्तक्रिया गर्न केही मानिस जम्मा भएका थिए । तर कोही चेपाङ थिएनन् । चेपाङबारे अन्तक्रिया गर्नु पर्ने कार्यक्रममा चेपाङ नै आएनन् । आयोजकहरुले ल्याउन खोजे तर आउन मानेनन् । अर्थात् उनीहरुले सभ्य र आधुनिक भनेको समाजलाई आफ्नो ठान्न सकेका थिएनन् । पुरै मनोवैज्ञानिक अगलाव थियो उनीहरुमा ।

हामी उनीहरुसँग कुरा गर्न नजिक जान खोज्थ्यौं, उनीहरु झन टाढाटाढा भाग्थे । हामी चडेर गएको गाडीलाई अनौठौ मानेर हेर्थे । उनीहरुलाई हामी ‘आफ्नो’ जस्तो लागेकै थिएन, उनीहरु यसरी हेर्दा मानौं हामी उनीहरुलाई कुनै न कुनै प्रकारको हानी पुर्‍याउन त्यहाँ पुगेका हौं ।

त्यतिखेर पनि त्यहाँ प्रचण्डको पार्टीको देशका अरु भागको तुलनामा राम्रो संगठन थियो । आफूलाई जनमोर्चाका स्थानीय नेता बताउने बुद्धिबहादुर रायमाझी वा यस्तै केही नाम थियो उनले चेपाङहरुको स्थितिको व्याख्या गर्दै भनेका थिए, ‘हेर्नु होला, यो देशमा छिट्टै एउटा ठूलो विद्रोह उठ्छ ।’

मैले त्यतिखेर पत्याइनँ । सायद माओवादी पार्टीको जनयुद्धको तयारी बुझेका उनले त्यही आत्मविश्वासले त्यो भनेका थिए । नभन्दै विद्रोह उठ्यो । हामी विश्वास नगर्नेहरु हेरेका हेरै भयौं । सबै घटना तमासाजस्तो भएर आँखा अगाडिबाट बगे ।

तर, दुर्भाग्य इतिहासले आज फेरि अर्को कोल्टे फेरेको छ । आज तिनै मान्छेहरु जो चेपाङहरुको गरिबीलाई देखाएर विद्रोहलाई पुष्टि गर्थे, उनीहरु नै चेपाङ बस्तीमा आगो लगाँदैछन् । यो भन्दा ठूलो बिडम्बना अरु के होला ? शक्तिखोरका ती रायमाझीजी अहिले कहाँ के कस्तो अवस्थामा छन् मलाई थाहा छैन तर मनमा प्रश्न उठ्छ कि शक्ति बस्नेतहरुको हर्कत उनलाई कस्तो लागिरहेको होला ?

मलाई लाग्थ्यो कि ‘प्रचण्डपथ’ र ‘ओलीज्म’ फरक हो– यो राम र रावणको जस्तो सम्बन्ध हो, राम र हनुमानको जस्तो हैन । ‘प्रचण्डपथ’लाई गाली र निन्दा गर्नु नक्सलपन्थको क्रान्तिकारी जामा जेलमै उतारेर निस्केका ओलीको विशेषतः २०५१ पछिको एकल एजेण्डा थियो । ‘प्रचण्डपथ’ र ‘ओलीज्म’ बीच थुप्रै वैचारिक भिन्नता थिए, एजेण्डागत भिन्नता थिए । शासकीय स्वरुप, निर्वाचन प्रणाली, पहिचान र अधिकारको प्रश्न, जातीय तथा राष्ट्रिय मुक्तिको प्रश्नजस्ता बिषयमा थुप्रै एजेण्डागत भिन्नता थिए ।

तर हेर्दाहेर्दै अर्को तमासा भयो । एक अर्को ‘भर्चुअल सिन’ हिंड्यो आँखा अगाडि । प्रचण्डपथ ओलीज्मसामु लम्पसार पर्‍यो । यावत एजेण्डाहरु एकाएक गायव भए । आलोपालो प्रधानमन्त्री खाने जाली तमसुक बन्यो । साम्यवादी पार्टीको दुईतिहाईले यति, ओम्नी र भट्टहरुलाई पहुँच र पैसाको टुप्पोमा ल्यायो । चेपाङहरूको भागमा झुप्रोमा आगो र घुँगी टिपेको निहुँमा जीवन गुमाउनु पर्‍यो ।

चेपाङहरुको वास्तविकताको ज्ञान प्रचण्डभन्दा धेर मसँग हुनै सक्दैन । उनी चितवनका मान्छे, म सुनसरीको मान्छे । चेपाङहरुको साटो मुहसरहरुको बारेमा म धेरै कुरा बताउनु सक्छु । तर म चितवनका चेपाङ र सुनसरीका मुसहरहरु बीच धेरै अर्थराजनीतिक भिन्नता देख्दिनँ ।

यहाँ एउटा ‘भर्चुअल’ जमात छ– सीमान्तकृत समुदायको कुरा गर्ने वित्तिकै ‘जातिवाद’ को बिल्ला भिराउन ठिक्क परेर बसेको हुन्छ । चेपाङ र मुसहरहरुको कुरा गर्नु उनीहरुको लागि ‘गुन्द्रुकको झोल’ जति पनि काम नलाग्ने ‘जातिवाद’ हो । अयोध्यापुरीमा भव्य राममन्दिरको काल्पनिकी मानौं कुनै ‘सुनको गुन्द्रुक’ हो र यो ‘जातिवाद’ हैन ।

‘मनुवाद’ जातिवादी हैन, नवराज विकहरु जातिवादी हुन् । शक्ति बस्नेतहरु जातिवादी हैनन, आरक्षण भित्र घुंगी टिपेको निहुँमा मिरिने चेपाङहरु जातिवादी हुन् । सुसिल भट्टहरु जातिवादी हैनन्, शम्भु सदाहरु जातिवादी हुन । जातिवादको यो विचित्र परिभाषा कुनै समय ओलीज्मले प्रचण्डपथलाई प्रताडित गर्ने ब्रह्मास्त्र थियो, आज अरु सबैलाई डाम्ने ओली र प्रचण्डको साझा दिव्यास्त्र भएको छ ।

राम मन्दिरसँग मलाई कुनै आपत्ति छैन । नेपालभित्रै रामको अयोध्या, रावणको लंका, वाली, सुग्रिव र हनुमानको किस्कन्द सबै भेटियोस्, त्यसमा पनि आपत्ति हुने कुरा भएन । बरु खुशीकै कुरा हुनेछ । राजनीतिक दर्शनको रुपमा म ‘हिन्दुत्व’ मान्दिनँ तर पारिवारिक परम्पराको रुपमा हिन्दू संस्कृति र जीवनपद्धतिको अभ्यास गर्दछु, त्यसमा कुनै हिनता छैन । हिन्दू हुनु भनेको रुढीवाद र विभेदको समर्थक हुनु हैन ।

तर आजको राज्यको प्राथमिकता के हो ? राममन्दिर कि चेपाङ बस्ती ? यो प्रश्न उठ्ने स्थितिमा निसन्देह चेपाङ बस्तीको पक्षमा हुन्छु किनकी मिथकीय पात्रहरुको भन्दा जीवित मान्छेहरुको जीवन मलाई सधै बढी महत्वपूर्ण लाग्दछ ।

दक्षिण एशियाली समाजको संरचना अठारौं शताब्दिको मार्क्सको युरोप हैन । यो वर्ग र वर्ग संघर्षको सपाट भूमि हैन । मार्क्सका गुरु हिगेलले दक्षिण एशियालाई ‘जादु, तन्त्र र रहस्यको संसार’ भनेका थिए । स्वयं मार्क्सले दक्षिण एशियाबारे एकदमै कम लेखे वा लेख्दै लेखेनन् भने पनि हुन्छ । युरोपको मार्क्सको आँखाबाट दक्षिण एशियाली वर्ग संघर्षको सही चित्र देखिँदैन । यहाँ ‘वर्ण संघर्ष’ र ‘जाति संघर्ष’ पनि ‘वर्ग संघर्ष’ कै एक विशिष्ट रुप हो ।

करिब २० वर्षअघि मैले सुनसरीका मुसहरहरुबारे ३ महिने अध्ययन गरेको थिए । त्यतिखेर उनीहरुको जिल्लागत जनसंख्या करिब ६० हजार थियो र जम्मा ४ परिवारसँग मात्र आफ्नो जमिनमा घर थियो । ६० हजारमा कसैले एसएलसी पास गरेको थिएन । सुनसरीमा जमिनको अभाव भएर मुसहरहरु सुकुम्बासी भएका हैनन् । त्यहाँ अधिकांश झोडाहरु विगत १ सय वर्षभित्र फाँडिएका हुन् ।

हाम्रो गाउँ विकास क्षेत्र २०२० सालपछि मात्र फँडानी र नापी भएको थियो । त्यहाँ करिब २०० परिवार मुसहर थिए, तर कसैको पनि आफ्नो जमिन थिएन । जबकी ती घना जंगल फाँड्ने मजदुरहरु तिनै मुसहर थिए । हिजो थिएन त्यो एउटा कुरा, त्यतिखेर राजा थिए, पञ्च थिए भएन भनौं । आज लोकतन्त्र आएको ३० वर्ष पुग्यो, अहिले पनि छैन ।

कसैले मलाई यो बताई देओस् कि पशुपतिशमशेर राणा र ज्ञानेन्द्र शाहहरु किन आज पनि देशका १० धनीभित्र पर्दछन् ? चेपाङ र मुसहरहरुको पुरै समुदायसँग किन जमिनको स्वामित्व हुँदैन ? यसको कारण वा रहस्य के हो ? यदि कसैले यसको चित्तबुझ्दो उत्तर मलाई दियो भने त्यो दिनदेखि म कहिल्यै ‘जातीय कुरा’ गर्ने छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय